जीवन दर्शन सिकाइरहने
पहेँलपुर धानका फाँटहरूसँग
प्रेममा रमाएको सुवासित पवन
सुस्तरी मधुर सङ्गीतमा भन्दै छ
मैले तिहारलाई सुवासिलो बनाएको छु
सुगन्धित अत्तर दिएर ।
रहस्यमय प्रकृतिको अस्तित्वबोध गराइरहने
सयपत्री, गोदावरी र मखमली
सुगन्धित बैँसालु उमङ्गमा रमाउँदै भन्दै छन्
हामीले सजाएका छौँ
फूलहरूको पर्व तिहारलाई ।
उज्यालो र अँध्यारो बीचको सहअस्तित्वलाई
आत्मसाक्षात्कार गर्दै प्रज्वलित दीप
जगतलाई प्रकाशमय बनाउँदै
मानवहृदयमा ज्ञान, चेतना र आत्मजागरणको
बाती कात्न सिकाउँदै भन्दै छ
मैले झिलिमिली बनाएको छु
हर्ष र उत्साहको तिहारलाई ।
जीवन, दर्शन, कर्तव्य र श्रमका पाठ सिकाउँदै
प्रकृति, मानव र पशुपन्छी
सबै एकै लयमा गाउँदै भन्दै छन्
हामी सबैको उत्सव, आस्था र भक्ति हो तिहार ।
एउटै धागोमा उनिएका फूलजस्तै
एकता र सामूहिकताको हार्दिकतामा
दिउसी र भैलिनीहरूको आशीर्वचनहरू भन्दै छन्
हामीले आपसी सम्बन्धको सौन्दर्यले सिङ्गारेका छौँ तिहारलाई ।
सप्तरङ्गी टीकामा मिसिएका भावहरू गुन्गुनाउँदै
दाजुभाइलाई प्रेम, स्नेह र आशीष दिँदै दिदीबहिनीहरू भन्दै छन्
हामीले आत्मीय भावनाले बलियो बनाएका छौँ तिहारलाई ।
सुवासिलो पर्व तिहार
जसले प्रकृति र मानवजगतलाई एउटै गतिमा, एकै लयमा हिँड्न
छरिरहन्छ जीवनदायी ऊर्जा ।