एउटा हिउँदभरि
पट्पटी फाटेको जर्जर जमिनजस्तै
मन लिएर
जसोतसो सम्हालिएर
तिमीलाई पर्खिरहेछु।
प्रचण्ड गर्मीभरि
दुखेको अर्धकपालीलाई
तिम्रो पुरानो गलबन्दीले कस्सेर बाँधेर
जसोतसो सम्हालिएर
तिमीलाई पर्खिरहेछु।
वर्षायाममा भिजेका आँखाहरूमा
लत्पतिएको हिलोभित्र
भास्सिन खोजेका, मेरा पाइतालाहरूलाई
जसोतसो सम्हालिएर
तिमीलाई पर्खिरहेछु।
यसपालि तिमीलाई स्वागत गर्न
शरदलाई डाकेकी छु।
घामलाई आफ्नो तापक्रम घटाएर सितल हुन भनेकी छु
चन्द्रमाले स्वच्छ किरणको छाया बिछ्याएर
प्रफुल्ल,स्निग्ध ,भएर तिम्रो आगमनमा
अगस्त्य ताराहरूलाई ताली बजाउन जम्मा पारेको छ
तिम्रो पौडीबाज कला हेर्न
पोखरीले कमलपुष्पको सजावट गरेको छ
निर्मल झरनाहरू तिम्रै स्नानको लागि झरिरहेछन्
भिमसेनथानको बाँसले
मालाश्री धुन बजाइरहेको छ
भगवतीको मन्दिर प्राङ्गणमा
लिङ्गे पिङ ,तिमीलाई पर्खिरहेछ।
मक्किएर लेउ लागेका घरका भित्ताहरूले पनि
कमेरो र रातो माटोको लाली पाउडर घँसेका छन
आँगन ,करेसाबारी र वाटिकामा
सयपत्री र मखमलीले हावामा सुभाष मिसाएकाछन्
तिमीलाई मनपर्ने पहेँलो छिप्पिएको काक्रो
अन्तिम आश बोकेर
झर्नु भन्दा पहिले
तिमीलाई भेट्न, पर्खिरहेछ।
सुर्यास्तको समय छ
तिमी अग्लो पहाड बनेर आउ
क्षितिज बनाएर,
एकचोटि कस्सेर
अँगालोमा बेर्ने मन छ
मेरा ओठका लालीले तिमीलाई चुमेर निधारमा
बिजयदशमीको लालीछाप टीका लगाइदिने अनुराग छ।