
दसैं आउँदा नेपालमा घर फर्किनेको भिड बढ्छ । विमानस्थल भरिभराउ हुन्छ । बसको टिकट पाउनै मुस्किल हुन्छ । गाउँघरका बाटो र आँगनमा चहलपहल बढ्छ । तर दसैंको रौनक अब नेपालका गाउँसहर र टोलबस्तीमा मात्र सीमित रहेन ।
लन्डनको नेपाली परिवार टीका र जमरा तयार पार्छ । हङकङमा पुस्तौंअघि पुगेको दसैंको आफ्नै परम्परा छ । खाडीको श्रमिक क्याम्पमा बिदा मिलेको दिन नेपालीहरू भेला भएर दसैं मनाउँछन् । अमेरिकादेखि अस्ट्रेलिया, जापानदेखि दक्षिण कोरिया र युरोपका विभिन्न सहरसम्म नेपाली समुदाय आफ्नो तरिकाले दसैंमा रमाउँछन् ।
यो कुनै चाड विशेषको विस्तार मात्र होइन । यससँग नेपाली जातिको विश्वयात्राको आफ्नै कथा जोडिएको छ । नेपालीहरू वैदेशिक रोजगारीले मात्र विश्वभर फैलिएका होइनन् । गोर्खा भर्ती, व्यापार, शिक्षा, बसाइँसराइ, शरणार्थी पुनर्वास, व्यवसाय र पारिवारिक पुनर्मिलन हुँदै नेपाली समुदाय फैलिएको छ ।
गोर्खाबाट सुरु विश्वयात्रा
सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धपछि ब्रिटिस पक्ष नेपाली सैनिकको लडाकु क्षमताबाट प्रभावित भयो । त्यसपछि गोर्खा सैनिकलाई ब्रिटिस इस्ट इन्डिया कम्पनीको सेनामा भर्ती गर्ने क्रम सुरु भयो । ब्रिटिस नेसनल आर्मी म्युजियमका अनुसार सन् १८१५ बाट गोर्खा सैनिक ब्रिटिस सैन्य संरचनाको हिस्सा बने । त्यसपछि नेपाली सैनिक भारतबाहिर पनि पुग्न थाले । अफगानिस्तान, बर्मा, मलाया, मध्यपूर्व र अन्य क्षेत्रमा उनीहरूको सैन्य उपस्थिति विस्तार भयो ।
पहिलो विश्वयुद्धमा करिब एक लाख गोर्खा सैनिक सहभागी भएको नेसनल आर्मी म्युजियमको अभिलेख छ । उनीहरू पश्चिमी मोर्चादेखि मेसोपोटामिया, प्यालेस्टाइन, पर्सिया र ग्यालिपोलीसम्म पुगे । दोस्रो विश्वयुद्धमा १ लाख १० हजारभन्दा बढी गोर्खा सैनिक ४० बटालियनमा आबद्ध भएर पश्चिमी मरुभूमि, इटाली, ग्रिस, मलाया, सिंगापुर र बर्मालगायतका युद्धक्षेत्रमा पुगे ।
यसरी सैनिकका रूपमा संसारका विभिन्न भूगोलमा पुगेका नेपालीमध्ये कतिपयले पछि त्यही भूगोललाई आफ्नो नयाँ घर बनाए । उनीहरूले त्यहीँ समुदाय फैलाए । त्यससँगै नेपाली भाषा, खानपान, संगीत, संस्कृति र चाडपर्व पनि फैलिए । दसैं पनि त्यही यात्राको एउटा सांस्कृतिक पदचिह्न बन्न पुग्यो ।
हङकङदेखि बेलायतसम्म
हङकङ यसको एउटा पुरानो उदाहरण हो । ब्रिटिस गोर्खा सैनिकको उपस्थितिसँगै हङकङमा नेपाली समुदाय पुग्यो । गोर्खा सैनिकले दसैं मनाउने परम्परा लामो समयदेखि कायम राखे । विभिन्न ऐतिहासिक विवरणले हङकङमा नेपाली शैलीको दसैं मनाउने चलन सन् १९४९ मा पहिलो गोर्खा रेजिमेन्ट पुगेपछि व्यवस्थित भएको देखाउँछ । सैनिक शिविरमा मनाइने दसैं पछि परिवार र समुदायसम्म पुग्यो । अहिले हङकङमा दसैं नेपाली समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको पर्व बनेको छ ।
गोर्खा सैनिककै अर्को ठुलो प्रभाव बेलायतमा देखिन्छ । ब्रिटिस सेनामा सेवा गरेका नेपालीमध्ये ठुलो संख्यामा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवार बेलायतमा बसोबास गर्न पुगे । सन् २००४ र २००९का नीतिगत परिवर्तनपछि हजारौं पूर्वगोर्खा सैनिक र आश्रित परिवार बेलायतमा बसाइँ सरे । उनीहरूको ठुलो हिस्सा दक्षिणी इंग्ल्यान्डका एल्डरसट, फर्नबरो, ऐसफोर्ड र फोकस्टोनजस्ता क्षेत्रमा बसोबास गर्छन् । त्यहाँ दसैं घरभित्रको पूजा वा टीकामा मात्र सीमित छैन । सामुदायिक भेटघाट, सांस्कृतिक कार्यक्रम, नेपाली खाना र पारिवारिक जमघटसँग जोडिएको छ ।
ब्रुनाईमा त गोर्खा सैनिकले सैन्य सेवाकै क्रममा दसैं मनाउने गरेका छन् । सैन्य शिविरमा होस् वा अभ्यास र अपरेसनमा, उनीहरूले उपलब्ध अवस्थाअनुसार दसैं मनाउने गरेका थिए । यसले चाडपर्व पनि मानिससँगै यात्रा गर्छ भन्ने देखाउँछ ।
रोजगारीले फैलाएको समुदाय
पछिल्ला दशकमा नेपालीको विश्वव्यापी फैलावटको मुख्य कारण श्रम आप्रवासन बनेको छ । विशेषगरी १९९० को दशकपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीव्र रूपमा बढ्यो । खाडी मुलुकमा श्रमिकको माग बढ्दै जानु र नेपालले वैदेशिक रोजगारीलाई संस्थागत रूपमा विस्तार गर्नु यसको महत्त्वपूर्ण कारण बन्यो ।
२०७८को राष्ट्रिय जनगणनाअनुसार २१ लाख ९० हजार ५९२ नेपाली विदेशमा छन् । यो कुल जनसंख्याको करिब ७.५ प्रतिशत हो । सात दशकअघि त्यो संख्या करिब १ लाख ९८ हजार थियो । २०६८ को जनगणनामा १९ लाख २१ हजार थियो । खाडी मुलुकहरू साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमान नेपाली श्रम आप्रवासनका प्रमुख गन्तव्य बनेका छन् । सरकारी तथ्यांकअनुसार नेपालबाट श्रमका लागि विदेश जानेमध्ये ८५ प्रतिशतभन्दा बढीको गन्तव्य खाडीका मुलुक हो । सबैभन्दा ठुलो श्रम बजार मलेसिया हो ।
नेपाली डायस्पोरा भने खाडीमा मात्र होइन् । जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत र युरोपका विभिन्न मुलुकमा नेपाली समुदाय विस्तार भएको छ । अफ्रिकाका केही मुलुकदेखि ल्याटिन अमेरिका र प्रशान्त क्षेत्रका मुलुकसम्म नेपाली पुगेका छन् । वैदेशिक रोजगार विभागले हाल वैदेशिक रोजगारीका लागि १६८ वटा गन्तव्यलाई मान्यता दिएको सूची राखेको छ । परराष्ट्र मन्त्रालयसँग सम्बद्ध अध्ययनले नेपाली डायस्पोरा ८५भन्दा बढी देशमा फैलिएको देखाउँछ ।
नेपाली समुदाय संसारभर पुग्दा उनीहरूले आफ्नो पासपोर्ट मात्र बोकेर गएनन् । उनीहरूसँग भाषा गयो । गाउँघरका सम्झना गए । गीतसंगीत गयो । खानाका मौलिक परिकार गए । सम्बन्धको संस्कृति गयो । अनि गयो– दसैं । ठाउँअनुसार दसैंको स्वरूप फेरिएको छ । कतै जमरा छरिन्छ । कतै टीकाको समय मिलाइन्छ । कतै कामको पालो सकिएपछि सामूहिक भोजन हुन्छ । कतै घरको आँगनको सट्टा सामुदायिक हलमा टीका लगाइन्छ । कतै मोबाइलको स्क्रिनबाट आमाबुबाको आशीर्वाद पुग्छ । यसको भावना भने एउटै हुन्छ– परिवार, भेटघाट, आशीर्वाद र आफ्नोपन ।