
दिन भन्थे अरूहरू
रात भोगिरहेको थिएँ म
पोको परेर खसिरहेको थियो उज्यालो
अँध्याराकोे इनारमा
तैरिरहेका थिए सतहमा
इच्छा र अनुराग
निद्रा र सपना एकैसाथ
सयपत्री थिए फक्रेका
मखमली थिए फुलेका
मुर्झाइरहेथ्यो तर मनको फूल
घोंचिरहेको थियो काँडाले
मनको गुलाफको
खसिरहेथ्यो आँखाबाट
टिलपिल टिलपिल
जून निरन्तर
खुसी टाँसिरहेका थिए अरू
उल्लासको लहरमा हाँसिरहेका थिए अरू
भत्किएपछि संवेदनाको बाँध
रूझिरहेको थिएँ आँसुको नदीले
झरिरहेथ्यो आँखाबाट
रिडी खोला दुईटा
आमाको आँखाको के कुरा ?
पाट्टिएका थिए पर्खाइमा
बाबाको आशाको के कुरा ?
पहेंंलिएका थिए जमराजस्तै
दिदीको प्रतीक्षाको के कुरा ?
ओइलाएका थिए मखमली पनि
फर्किएर मुलबाटोतिर
सबैले बालिरहेका थिए आँखामा
प्रेमको दीपक
थिइनँ तर म आमाको काखमा
न थिएँ बाबाको काँधमा
हारिरहेको थिएँ
एउटा जब्बर जीवन
चाडबाडको दिन ।
(प्रकाशोन्मुख कविता संग्रह “क्रूर सौन्दर्य” बाट)