२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

नातावाद विरोधी पुरुषोत्तम

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक १५ गते ०६:५५
नातावाद विरोधी पुरुषोत्तम

केही समयदेखि भ्रष्टाचारविरुद्ध बोल्दै आएका पुरुषोत्तम यादव (२७ वर्ष) जेनजी आन्दोलनका सुरुवातकर्ता हुन् । सर्लाहीको एक मध्यम परिवारमा जन्मिएका यादव आमसञ्चार तथा पत्रकारितामा बिए गरेका छन् । एमबीए अध्ययनरत उनी विगत तीन वर्षदेखि सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएको दाबी गर्छन् । 

इन्डोनेसियामा नातावादविरुद्धको अभियानसम्बन्धी सामग्री सामाजिक सञ्जालमा आएपछि आफूले पनि नेपालको सोही प्रकृतिको भिडिओ हालेपछि सो भिडियो भाइरल भएको उनको भनाइ छ । त्यसपछि अरू भिडिओ पनि निरन्तर हाल्दै जाँदा प्रभावशाली व्यक्ति पनि बोल्न थाले र एकाएक आन्दोलनको माहोल बनेको उनको अनुभव छ । यादवले आन्दोलनभन्दा पहिला नै पूर्वडिआइजी रमेश खरेल, महाबीर पुनलगायतलाई भेटेर भ्रष्टाचारविरुद्धको गैरराजनीतिक आन्दोलनको अगुवाइ गर्न आग्रह गरे पनि उनको आग्रहलाई सबैले अस्वीकार गरेका तथ्यलाई समेत स्मरण गर्दै आएका छन् ।  

‘८ सेप्टेम्बरमा हामीले प्रदर्शनका लागि आह्वानसहित भिडिओ हालेका थियौं । प्रशासनबाट अनुमति पनि लियौं,’ उनले भने, ‘यो आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध थिएन । हाम्रो अभियान सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनुअघिदेखि नै थियो । जुन भ्रष्टाचारविरोधी, नातावाद विरोधी र दलीयकरणविरोधी थियो ।’  

मुलुकमा मौलाएको भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण आन्दोलनमार्फत शासकहरूको ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आन्दोलनको अनुमति लिए । २२ गते प्रशासनबाट अनुमति लिँदा कति जना सहभागी हुन्छन् भन्ने सहायक प्रमुख जिल्ला अधिकारीको प्रश्नमा २ सय देखि ३ सय जना हुन्छन् भनेर उनले जवाफ दिएका थिए । ‘हामीले ३ दिनअघि सामाजिक सञ्जालमा आन्दोलनको घोषणा गरेका थियौं । हामीलाई लागेको थियो, २ देखि ३ सयसम्म आउलान्,’ उनले भनेका छन् ।

तर परिस्थिति फरक भयो । यादवसहितका जेनजी अगुवाले २३ गते आन्दोलन गर्ने घोषणा ३ दिनअघि सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए । आन्दोलनको अग्रभागमा देखिएका यादव अहिले पनि विभिन्न छलफल र योजना निर्माणमा सक्रिय छन् । लोकतन्त्रमा राजनीतिक दल आवश्यक भए पनि दलीयकरण, भ्रष्टाचार, नातावादको अन्त्य आवश्यक ठानेका छन् ।  राजनीतिक दलमा भ्रष्टाचारी नेतालाई कारबाही गरी सच्चिएर आउन र आगामी प्रतिनिधि सभाको निर्वाचनमा सबै दलले भाग लिनुपर्ने यादवको धारणा छ । सुशासनसहित देशमै रोजगारीका अवसर ल्याउन आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्नेछ । वर्तमान सरकारमार्फत आन्दोलनका उपलब्धि केही दिनमै संस्थागत हुने र तोकिएकै मितिमा चुनाव हुनेमा यादव विश्वस्त छन् । आगामी निर्वाचन हुनुपर्ने तर सो निर्वाचनमा जेनजी के कसरी जाने भन्ने छलफलमै रहेको उनले बताएका छन् । ‘भ्रष्टाचारविरुद्धको आन्दोलनको अगुवाइ गर्न धेरैलाई आग्रह गरेको थिएँ । उहाँहरूले पत्याउनुभएन तर अब यो परिवर्तनलाई जोगाउन र भ्रष्टाचारमुक्त समाज बनाउन हरेक युवाले जिम्मेवारी लिनुपर्छ । म पनि त्यसैमा लाग्नेछु,’ उनले भने ।

ADV

सम्बन्धित खबर