२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

वाककलाले चर्चित प्रवेश

shivam cement
अस्मिता बम
२०८२ कार्तिक १५ गते ०६:५०
वाककलाले चर्चित प्रवेश

काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले युवाहरूलाई जागरुक बनायो । देशमा भइरहेको भ्रष्टाचारका विषयमा वकालत गर्न सिकायो । जेन्जी आन्दोलन युवाको आक्रोश मात्र नभई नयाँ नेपालको, नयाँ नेतृत्व र नयाँ आवाजको कोशेढुंगा साबित भयो । आन्दोलनमा एउटा आवाज त्यस्तो पनि सुनियो, जसको वाककलाको सबैले प्रशंसा गरे । उनी हुन् प्रवेश दाहाल ।  

जेनजी पुस्ताले कस्तो नेतृत्व खाजेको र किन खाजेको भन्ने विषयमा टट्कारो बोल्दै आएका उनी वाककलाकै कारण चर्चामा छन् । खोटाङदेखि विराटनगर झरेका दाहाल कानुनका विद्यार्थी हुन् । जोडदार रूपमा आफ्नो तर्क राख्न सक्ने खुबी भएका उनी पछिल्लो समयका जेन्जी नेता हुन् । उसो त उनले आफूलाई नेता नभनिदिन आग्रह पनि गर्दै आएका छन् । पछिल्लो समयमा युवाको राजनीतिमा चासो एकदमै कम छ । त्यसमा पनि आफ्नो विचारमार्फत अरूका विषयलाई कसरी उठाउने भन्ने ज्ञान झनै कम । यस्तोमा जेन्जी उमेर समूहबाट यस्तो स्पष्ट वक्ता देखापर्नुले नेपाली राजनीतिको क्षेत्रमा एउटा टाठो र युवा नेता जन्मिएको आमबुझाइ छ । 

जेन्जी आन्दोलको सुरुवाती चरणमा विराटनगरबाट सहभागी भएका उनी एकाएक सामाजिक सञ्जालमार्फत भाइरल बने । आन्दोलनको केही समयपछि काठमाडौंको माइतीघर मण्डलामा जेन्जीकै असन्तुष्ट समूहले सुशीला कार्की नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरेको थियो । सोही आन्दोलनमा उनी नेकपा माओवादीका तत्कालीन बालसेना लेनिन विष्टसँग देखिएका थिए । यसपछि संविधान दिवसको अवसरमा रिपोटर्स क्लबमा बोल्दै उनले भनेका थिए, ‘शहीदले देखेको सपना पूरा गर्नुपर्छ । त्यसको लागि घाइते र शहीद हुनुपरे पनि म तयार छु । युवा पुस्ताको यो बलिदानीबाट प्राप्त परिवर्तनलाई बौद्धिक व्यक्तिले साथ दिनुपर्छ ।’

देशमा भइरहेको भ्रष्टाचारको अन्त्य, सुशासन कायम र असल नेतृत्व चयनको विषयमा आफ्ना विचार उनले अहिले पनि व्यक्त गर्दै आइरहेका छन् । परिवर्तनपछि निर्माण भएको कार्की नेतृत्वको नागरिक सरकार र सरोकारवालाबीच भएका विभिन्न छलफलमा दाहाल सहभागी छन् । यद्यपि उनलाई सबै छलफल र संवादमा बोलाइएका छैनन् । सामाजिक सञ्जालमा बढी देखिएका दाहालले जेन्जीका एक समूहबाहेक धेरैसँग समन्वय गर्न सकेको देखिँदैन । 

अरूजस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा बोल्दै आए पनि नयाँ भिजन नदेखिएको जेन्जी समूहभित्रै टिप्पणीसमेत भइरहेको छ । यद्यपि एकथरीले उनलाई भविष्यमा राजनीतिक नेतृत्वका रूपमा स्थापित हुने आँकलन गरेका छन् । 

ADV

सम्बन्धित खबर