२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

प्रत्यक्ष कार्यकारीका पक्षपाती मिराज

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक १५ गते ०६:४०
प्रत्यक्ष कार्यकारीका पक्षपाती मिराज

काठमाडौं : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नदेखिएका मिराज ढुंगाना आन्दोलनपछि एकाएक चर्चामा छन् । आन्दोलनको मुख्य हर्ताकर्ता नै हुन् कि जस्तोगरी सर्वत्र चर्चामा आएका ढुंगानालाई सामाजिक सञ्जाल र मिडियाले निकै स्थान दिएको छ । उनी ‘गरिखान देऊ’ अभियानका संयोजकसमेत हुन् ।  

२००१ मा मकवानपुरमा जन्मिएका मिराज ब्रान्डिङ, डिजाइन र मार्केटिङमार्फत करिअर बनाउँदै आएका छन् । उनले केही दिनअघि पार्टी नै घोषणा गरेर जाने भन्दै पत्रकार सम्मेलनसमेत गरिसकेका छन् । यद्यपि उनी शान्तिपूर्ण आन्दोलनले हिंसात्मक रूप लिएसँगै घटनास्थलबाट पलाएन भएका पात्र हुन् । आन्दोलनमा स्वयंसेवक हुँदै सरकार बनाउने भूमिकामा मुख्य पात्र बनेका सुदन गुरुङभन्दा फरक समूह बनाएर आन्दोलनको उपलब्धि खोसिएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए । तर ढुंगाना अहिले गुरुङकै टिममा छन् । 

सोही टिमबाट सरकार र सरोकारवालापक्षसँगको वार्तामा उनी सहभागी हुँदै आएका छन् । पछिल्लो समय उनका नाममा विभिन्न छद्म सामाजिक सञ्जाल आइडी बनिरहेका छन् । जेनजी आन्दोलनमा सडकमा नदेखिएका उनी आन्दोलनको अघिल्लो दिन भीमसेनगोलामा बसेको जेनजीहरूको एक भेलाबाटै आन्दोलनप्रति असहमति जनाएर हिँडेका थिए । उनले त्यसबेलै भनेका थिए, ‘मेरो आन्दोलन छुट्टै हुन्छ । तपाईंहरूसँग मिल्दिनँ । भोलि बिहान आन्दोलनमा सहभागी हुन्नँ ।’

ढुंगानाको सुरुदेखिकै माग प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने थियो । तर अधिकांश जेनजी आन्दोलनका अगुवाको पहिलो मुद्दा भ्रष्टाचारविरोधी थियो ।  भदौ २३ गते माइतीघर–बानेश्वर सडकखण्डमा भएको आन्दोलनमा ढुंगानाको सहभागिता देखिएको थिएन ।  भदौ २४ गतेको  विध्वंशमा पनि उनी कतै देखिएनन् । उनको मुख्य एजेन्डा व्यवस्था परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी भए पनि भ्रष्टाचारको विरोधमा गरिएको आन्दोलनका उपलब्धिको नेतृत्व गर्न आएकोप्रति धेरै जेनजीहरू उनीसँग असन्तुष्ट छन् । तर ढुंगाना भने आफूलाई सुरक्षा थ्रेट भएका कारण आन्दोलनमा उपस्थित नभएको स्पष्टीकरण दिँदै आन्दोलनको जस लिइरहेका छन् ।  

‘म भगौडा होइन । आन्दोलनमै बसेको हो । मेरो ज्यानमाथि धेरै धम्की आयो । मेरो एउटा मात्रै समूह थिएन, पृष्ठभूमिमा रहेर आन्दोलनलाई सघाइरहेको थिएँ,’ उनले पत्रकार सम्मेलनमा भनेका छन् । आन्दोलन आह्वान गर्ने क्रममा सामाजिक सञ्जालमा सक्रिय देखिएर आन्दोलनमा लुकेको उनीमाथि आरोप छ ।  आन्दोलनकै अघिल्लो दिन उनले दुर्गा प्रसाईंलाई भेट्न भक्तपुरस्थित प्रसाईँको घर पुगेका थिए । प्रसाईंले नै ढुंगानासहित जेनजी युवासँगको छलफल भन्दै तस्बिर सार्वजनिक गरेपछि उनलाई जेनजीका एकाथरि अगुवाले आन्दोलन भाँड्न दुर्गा प्रसार्इंसँग मिल्न गएको समेत आरोप लगाएका थिए । कतिले उनलाई पार्टी कार्यकर्र्ता भने त कतिपयले अराजकतावादी र भगौडा । 

तर उनले आन्दोलनमा प्रसार्इं आउने भए पनि रोक्नका लागि त्यहाँ पुगेको बताएका छन् । आन्दोलनपछिको डिस्कर्डको एउटा ग्रुपमा सहभागी ढुंगानालाई साथीहरूले नै बेस्सरी झपारेको समेत देखिएको छ । यद्यपि आन्दोलनपश्चात् उनी विस्तारै पिकअप लिइरहेका छन् । पछिल्लोपटक पार्टी खोल्ने घोषणा गरेका ढुंगाना केही दिनयता खासै सार्वजनिक भएका देखिँदैन् । तर सरकारको आह्वानमा राष्ट्रपति कार्यालयमा भएको हरेक छलफलमा ढुंगाना सहभागी हुँदै आएका छन् । आन्दोलनको सुरुदेखि आखिरीसम्म नदेखिए पनि त्यसपछिको हरेक मुभमेन्टमा अग्रपंक्तिमा देखिएका ढुंगाना जेनजी नेताका रूपमा चिनिएका छन् । उनी व्यावसायिक क्षेत्रमा क्रियाशील छन् ।  

ADV

सम्बन्धित खबर