
नेपालमा भदौ २३ र २४ गते भएको जेनेजी आन्दोलनले ठूलो उथलपुथल ल्यायो । राज्य सत्ता मात्रै नभई मानवीय र भौतिक संरचनामा समेत ठूलो क्षति भयो । उक्त जेनेजी आन्दोलनले एउटा बाटो तय गरेसँगै सुशीला कार्की नेपालकै पहिलो महिला प्रधानमन्त्री बनिन् । यसै समयावधिमा पंक्तिकारलाई पनि भारतीय तर नेपाली भाषी लेखक छुदेन कविमोद्वारा लिखित उरमाल उपन्यास पढेर सक्ने अवसर मिल्यो । फाइन प्रिन्टले प्रकाशन गरेको यो उपन्यास साना–ठूला गरी ३२ खण्डमा विभक्त गरिएको छ । ३७८ पृष्ठको आकारमा लम्बिएको यस उपन्यासले २०८१ सालको मदन पुरस्कार प्राप्त गरेको छ ।
उपन्यासकारको कथा बुन्ने शैलीले पाठकलाई असाध्यै तानेको छ । उपन्यासमा आजभन्दा एक शताब्दी अगाडिको कथा छ । उक्त कथामा भारतमा बेलायती शासन रहँदाको समयको डुवर्स र दुम्सीपाडा क्षेत्रका आदिवासी र नेपालीहरूको जनजीवन प्रस्तुत गरिएको छ । उपन्यासमा मूलतः भारतीय भूभागको कथा भए तापनि अहिलेको नेपाली समाजलाई पनि उत्तिकै झल्काउँछ ।
चियाकमानको दुःख र शोषणभित्रको कथावस्तुलाई उरमालमा रोचक शैलीमा प्रस्तुत गरिएको छ । जहाँ नेपाली र आदिवासीहरूको मित्रता र संघर्षको कथा पनि भेटिन्छ । बेलायती मालिकहरूले मजदुरी गर्नेहरूमाथि गरेको शारीरिक र श्रमशोषण तथा उत्पीडनको सजिव चित्र उपन्यासमा पाइन्छ । उपन्यासमा मूल कथानकलाई परिपुष्ट पार्न अनेकौँ उपकथाहरू गाँसिएका छन् । चियाकमानमा मजदुरी गर्नेहरूको कथा मूल कथा हो भने यसमा त्यही समाजका लोककथा र पात्रहरूको आ–आफ्नै कथाहरू आएका छन् ।
कथामा वृत्तकारी शैली प्रयोग गरिए तापनि सरल र सहज रूपमा अघि बढेको देखिन्छ । सरल नेपाली भाषामा लेखिएको भए पनि पात्र र परिवेशअनुसार आञ्चलिकताको प्रयोग गरिएको छ भने कथामा कथ्य रूपलाई पनि उत्तिकै मान्यता दिइएको छ । कतै डिटेलिङमा कथा भनिएको र कतै फड्को मारिएको हुँदा कथामा नाटकीयता बढी देखिन्छ ।
उपन्यासमा सोमारी, सकिला, दलबहादुर, थापा सर, बुधुवा, नुरसाङ आदि पात्रहरूको सशक्त भूमिका रहेको छ भने कथा भन्ने क्रममा घिमिरे बडा, लालमान भुजेल, पुष्पलाल, नरवीर, दिलकुमार, दैँ, फरेस्टक, पुलिसहरू, बेलायतबाट आएका कमानका मालिकहरू, गाउँलेहरू आदि पात्रहरू आएका छन् । उपन्यासमा बिस्ने सार्की नामको दलित पात्रको पनि प्रयोग गरिएको छ । यी नै आदिवासी, नेपाली र बेलायती पात्रहरूले उपन्यासको घटनाक्रमलाई अघि बढाएका छन् ।
उपन्यासको सुरु र अन्त्य एकदमै दुःख, पीडा, बेचैनी, छटपटी र निराशामा भएको छ । उपन्यासको अन्त्यमा नुरसाङले ‘मेरो र आफ्नी आमाको सपना यो वर्ष तुहिए पनि अर्को वर्ष जसरी पनि पूरा गर्छु’ भन्ने भाव व्यक्त गर्दै ‘म फेरि चियाकै मुना भएर पलाउने छु’ (पृ. ३७१) भनेर टुङ्ग्याएको भए तापनि पृष्ठभूमिमा वर्णित र घटित घटनापरिवेशले उक्त सपना पूरा हुने देखिँदैन । यो अर्थहीन र नाटकीय बनेको छ । यसर्थ, यो पूरा निराशाको चङ्गुलमा डुबेको छ भन्नु अत्युक्ति हुने छैन ।
हुन त उपन्यासकारले भूमिकामा यो उपन्यास धेरैलाई देखाएर, धेरै मिहिनेतका साथ पटक–पटक पुनर्लेखन गरी सशक्त बनाएको बताएका छन् तापनि समाजशास्त्रीय दृष्टिले हेर्दा यो उपन्यास त्यति सशक्त देखिँदैन । उपन्यासमा सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक परिवेशको यथार्थ चित्रण गरिएको हुँदा यस उपन्यासलाई प्रगतिशीलताको कित्तामा राख्न सकिन्छ, तर जति पनि समस्याहरूको चाङ लगाइएको छ, त्यसको वैचारिक तहबाट समाधानको थोरै पनि बाटो तय गरिएको छैन । उपन्यासमा समाजमा विभेद छ भन्ने पाटो सशक्त रूपमा प्रस्तुत गरिएको छ । औपन्यासिक समाजका पात्रहरूको यो अवस्था हुनुको ऐतिहासिक पाटो पनि राम्ररी केलाइएको छ, तर समाज रूपान्तरणका लागि वैचारिक तथा राजनीतिक निकास दिन भने यो पूर्ण रूपमा चुकेको छ । यस्तै, उपन्यास दलित, महिला र मजदूरको कथामा आधारित भए तापनि यिनीहरूको मुक्ति कसरी सम्भव हुन्छ भन्ने पाटो चाहिँ सर्लक्कै छोडिएको छ । यसर्थ, यसलाई प्रगतिवादी उपन्यास भन्नु त्यति उपयुक्त देखिँदैन ।
उपन्यासको ‘दैँ’ शीर्षकको चौथो खण्डमा दैँ नामक पात्रको बलात्कारपछि हत्या भएको घटना प्रस्तुत गरिएको छ । उक्त घटना घटाउने व्यक्तिहरू राजनीतिमा लागेका मानिसहरू भएको र राजनीतिक संरक्षण पाएर उनीहरू उम्किएका भन्ने विचार प्रकट गरिएको छ । यसले सिधै राजनीति गर्नेहरू बलात्कारी हुन्छन्, फटाहा हुन्छन्, अन्याय गर्छन् भन्ने भाष्य खडा गर्छ । यो विलकुल गलत छ । यस्तै, उपन्यासको अन्त्यसम्म आइपुग्दा पनि नेताहरूको बदख्वाई गर्ने, कांग्रेस र कम्युनिस्ट, आदिवासी र नेपालीबीचको बेमेल, दुश्मनी र षड्यन्त्र, धोका र शोषणलाई मात्रै प्रस्तुत गरिएको छ, जसले उपन्यासका पाठकहरूलाई राजनीतिप्रति तीव्र वितृष्णा पैदा गराउँछ । तर सम्पूर्ण उत्पीडनबाट मुक्ति पाउने त राजनीतिक आन्दोलन र संघर्ष नै हो । पुरानो ढर्राको आन्दोलन विफल भयो भने फेरि नयाँ शिराबाट आन्दोलनलाई उचाइमा लैजानुको विकल्प छैन । उपन्यासमा यसको कुनै प्रयत्नै गरिएको छैन । आदिवासी र जनजातिबीच आपसी अनेकौँ आशंकाका भरमा लडाइँ भएको छ । जनता असाध्यै गरिबीले थिलथिलिएका छन् । उपन्यासमा कि त यसको विकल्प दिन सकिन्थ्यो, कि त यसलाई स्विकार्न सकिन्थ्यो । तर, लेखक यी दुबै कुरामा सशक्त देखिँदैनन् ।
जसरी प्याजले तरकारीमा मिठास ल्याउँछ, स्वास्थ्यका लागि पनि यो आवश्यक हुन्छ । यो हेर्दा रङ्गिन, सुन्दर देखिए पनि काट्न लाग्दा आँखा रसाउने गरी पिरो फाल्छ र खोतल्यो–खोतल्दै सकिन्छ । त्यस्तै उरमाल तत्कालीन समाज व्यवस्थालाई मन छुने गरी चित्रण गर्न सफल छ । पढ्दै जाँदा कहिले आँसु बगाउँछ, कहिले अवेगको आगो ओकलिदिन्छ, कहिले मुटु निचोर्दिन्छ त कहिले प्रेमको मिठास दिन्छ । तर उरमाल खोतल्यो–खोतल्दै उत्पीडनबाट मुक्तिको मार्ग नभेटिँदै सकिन्छ । अतः उरमाल उपन्यासले संघर्षको चर्को फेहरिस्त त देखाएको छ, तर क्रान्ति र मुक्तिको विगुल फुक्न भने लरबराएको देखिन्छ ।