२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

माडीभित्रको चिन्ता

shivam cement
२०८२ साउन १६ गते ०६:००
माडीभित्रको चिन्ता

–नारायणप्रसाद पौडेल

माडी नगरपालिकामा एउटा समय थियो, जनसंख्याले भरिएको तर विकास र निकास नभएको । समाज विकासको क्रमसँगै आजसम्म आइपुग्दा एउटा गतिमा विकास अगाडि बढेको छ र निकासको आन्दोलन पनि जारी छ । तर, उपलब्ध विकासको उपभोग गर्ने जनसंख्या घट्दो क्रममा छ । यो माडीका लागि निकै चिन्ताको विषय हो ।

माडीमा बाटोघाटो, यातायात, सञ्चारसँगै उत्पादन र उत्पादन प्रणालीमा सुधार भएको छ भने अझै थप व्यवस्थित गर्नुपर्ने काम बाँकी छ । सँगै, काम पनि निरन्तर भइरहेका छन् । सामाजिक रूपान्तरण र नागरिक चेतनामा सुधार भएको छ भने प्रविधिको प्रयोग अनि विश्वव्यापीकरणको प्रभावले हाम्रा अपेक्षाहरूको गति, विकास र रूपान्तरणबीच तालमेल नमिल्दा कताकता निराशा र आक्रोश पनि पोखिएका छन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा आशालाग्दा सुधारहरू सुरु भएका छन् भने यी क्षेत्रमा शृृंगारिक विकासलाई गुणात्मक विकासमा रूपान्तरण गर्दै अझै सुधार गर्नु जरुरी छ । विकास र रूपान्तरणमा कहिल्यै ‘फुल स्टप’ हुँदैन । 

माडीको शिक्षाको सन्दर्भमा, विद्यालयसँगको प्रतिस्पर्धालाई आधार बनाएर ‘म जुजुमान’ भन्दै जुँगामा ताउ लगाउनेहरू आज माडीभित्रका पहेंला गाडीको आतंकदेखि निकुञ्ज नै काटेर माडीका विद्यार्थी बोक्न आउने ईभी आतंकसँग आमनेसामने प्रतिस्पर्धा गर्नुपर्ने ठाउँसम्म आइपुगेका छौं । स्वस्थ प्रतिस्पर्धाका हिसाबले त यो राम्रै होला तर निकुञ्ज पारीबाट विद्यार्थी बोक्न आउने सेता तथा पहेंला हात्ती दीर्घकालीन हिसाबले माडीको शिक्षामा आजको वास्तविकताभन्दा माथिको उच्च पोखिएको चेतनाले बाल्ने राँके जुलुस जस्तै हुँदैनन् भन्न सकिँदैन । चेतनाले कोरेको सलाईको काँटीले पो अँगेनामा आगो सल्काउँदै खाना पकाउन सकिन्छ तर चेतनाहीन आवेग र कुण्ठाले बालेको सलाईको काँटीले समाजलाई नै जलाउँछ ।

माडीका विद्यार्थी र अभिभावक पनि कहाँ पढ्ने÷पढाउने भन्ने कुरामा स्वायत्त नै छन् र त्यो अधिकारको प्रयोग गर्न पाउनुपर्छ । तर, आज आफ्नो स्वार्थ/अधिकार प्रयोग गर्दा समग्र माडीको शिक्षामा के असर पर्छ भन्ने सोच्नु कर्तव्य पनि हो र यो कर्तव्य कति पूरा गरियो समयको मूल्यांकनले बताउँछ । भरतपुर र माडीका शैक्षिक संस्थाहरूको बिच गुणस्तर दिने कुरामा खास धेरै भिन्नता छैन तर वर्गीय भिन्नता चरम छ । भरतपुरे शैक्षिक संस्था धनी छन्, सम्भ्रान्त छन् अनि चरम स्वार्थी पनि छन् । त्यसैले भोलि ठूलो माछाले सानो माछालाई कसरी खान्छ भन्नेमा आजै सचेत हुन् जरुरी छ । हामी अब त्यसका लागि पनि संस्थागत तयारी गर्नुपर्छ । समाज विकास र रूपान्तरणसँगै जतिजति सुविधा थपिँदै जान्छन्, उतिउति जोखिम पनि बढ्दै जानु स्वाभाविक हो । हामी माडीवासी जसको माडीबाहेकको विकल्प छैन, त्यसले नै हो अन्तिम लडाइँ लड्ने ।

(लेखक पौडेल, माडी बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise