–राजेश झा
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ टेङग्री बस्ने ७० वर्षीय उर्मिलादेवी यादवको गत साउन ३ गते विद्युतीय मोटर चलाएर खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर मृत्यु भयो । घरभन्दा एक किलोमिटर उत्तरतर्फ रहेको आफ्नै खेतमा सिँचाइका लागि जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर घाइते भएकी यादवलाई उपचारका लागि राजविराज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । यस्तै, रौतहट जिल्लाको माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको विद्युतीय मोटरबाट सिँचाइ गर्न खोज्दा करेन्ट लागेर मृत्यु भयो । उर्मिलादेवी र रामबाबु मात्रै होइन, धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कटहरीया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्ता देवानको गत ६ साउनमा राति करेन्ट लागेर मृत्यु भयो । असार २४ गते राति खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर धनुषाको मिथिला बिहारी नगरपालिका–९ का ४१ वर्षीय दिनेश यादवको पनि मृत्यु भएको थियो । आफ्नै धान खेतमा पानी सिँचाइ गर्ने क्रममा विद्युतीय मोटरबाट करेन्ट अहिले किसानहरूले ज्यान गुमाइरहेका छन् ।
साउनको दोस्रो साता लाग्दासमेत मधेश प्रदेशमा खेतीको अवस्था दयनीय छ । असार र साउन महिनाको पहिलो सातासम्म पानी नपर्दा किसानले धान रोप्न सकेका छैनन् । खेती गर्न पर्याप्त पानीको आवश्यकता पर्ने भए पनि वर्षा नहुँदा रोपाइँ हुन सकिरहेको छैन । एकातिर रोपाइँ हुन सकिरहेको छैन भने अर्कोतिर सिँचाइको लागि जडान गरिएको विद्युतीय मोटरका कारण किसानले ज्यान गुमाइरहेका छन् । मोटरबाटै भए पनि सिँचाइ गरेर रोपाई गर्ने मनसायमा दिनरात खटिरहेका किसान अकालमै ज्यान गुमाइरहेका छन् ।
मधेशलाई अन्नको भण्डार भनिन्छ । तर, अन्नको भण्डार मधेश प्रदेश यतिखेर सुख्खाग्रस्त छ । पर्याप्त वर्षा नहुँदा खडेरीले रोपाई हुन सकेको छैन । खडेरी भएपछि मधेश प्रदेश सरकारले असार २६ गते सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । मधेश प्रदेशले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेसँगै केन्द्र सरकारले पनि साउन ७ गते मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएपछिको क्रियाकलापहरू के–कस्ता सञ्चालन हुनेछन् भनी हेर्न बाँकी नै छ । तर, यतिबेला मधेश प्रदेश जल संकटबाट गुज्रिरहेको अवस्था छ ।
वर्षा नहुँदा धानको रोपाइँ मात्रै रोकिएको छैन, खानेपानीको स्रोतहरू पनि सुकेको छ । मधेशका अधिकांश भागको खानेपानीको स्रोत खासगरी (ट्युबेल) सुकेको अवस्था छ । असार महिना खासगरी अत्यधिक वर्षा र सोको कारण आउने बाढीले गर्दा सप्तरी देशभरमै चर्चित हुने गरेको अवस्था थियो । तर, पछिल्लो केही वर्षदेखि असार महिनामा खासै वर्षा नहुने गरेको अवस्था छ । सामान्यतयाः जेठ मसान्तमा भित्रिने गरेको मनसुन यस वर्ष जेठ १८ गते नै पूर्वी नेपालबाट भित्रिए पनि सप्तरी मात्र हैन मधेश प्रदेश नै वर्षाको अभावमा खडेरीको सामना गरिरहेको छ । यस वर्ष औसतभन्दा बढी वर्षा र अत्यधिक गर्मी हुने जल तथा मौसम विज्ञान विभागले आकलन मधेश प्रदेशको लागि गलत साबित भएको छ । वर्षा नहुँदा गर्मी भने अत्यधिक बढेको छ । बिहानैदेखि अत्यधिक गर्मीका कारण जनजीवन कष्टप्रद भएको छ ।
कार्बन उत्सर्जन बढिरहेको कारण विश्वको तापमान तीव्र गतिमा बढिरहेको छ । जलवायु परिवर्तनको अवस्था अहिले विश्वव्यापीरूपमा पहिलो खतराको रूपमा देखापरेको छ । जलवायु परिवर्तनबाट हुने असरको हिसाबले नेपाल अति प्रभावित मुलुकहरूमध्ये चौथो स्थानमा रहेको छ । जुन सर्वोच्च जोखिमपूर्ण अवस्था हो । बाढी, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरूबाट नेपाल उच्च जोखिममा छ । भूकम्पको जोखिमको हिसाबले नेपाल ११औँ स्थानमा रहेको छ भने मिश्रित विपदहरूको जोखिमका सन्दर्भमा १६औँ स्थानमा रहेको छ ।
जलवायु परिवर्तनको दृष्टिकोणले चौथो स्थानमा रहनु भनेको हाम्रो मुलुक सर्वोच्च जोखिम रहनु हो । एकातिर जलवायु परिवर्तनका असरहरूबाट पनि उच्च जोखिममा रहेको छ भने अर्कोतिर तापक्रम समेत बढ्दै गएको अवस्था छ । जलवायु परिवर्तनका कारण मधेश प्रदेशले खडेरीको सामना खेप्नुपरिरहेको अवस्था छ । सुख्खापनका कारण समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर परिरहेको छ । जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भएता पनि अहिलेको अवस्थामा कृषि क्षेत्र आक्रान्त छ । बढ्दो तापक्रमका कारण एकातिर पानीको स्रोतहरू सुकिसकेको अवस्था छ भने अर्कोतिर कृषि क्षेत्र धराशायी बन्दै गएको छ । एक त कृषि कर्ममा जनशक्तिको अभाव छँदैछ, त्यसमाथि समयमा वर्षा नहुँदा खेती नै प्रभावित भएको छ ।
एकातिर बढ्दो तापक्रमका कारण मधेश प्रदेश खडेरीको कारण त्राहिमाम् अवस्थामा छ भने अर्कोतिर हिमाली भेगमा पनि हिउँ पग्लिने क्रम बढ्दो छ, जसले गर्दा नेपाल सबैभन्दा बढी जोखिमतर्फ उन्मुख रहेको देखाउँछ । हिमनदीहरूको क्षेत्रफल पछिल्लो ३० वर्षमा २४ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(ईसिमोड)को अध्ययनले देखाएको छ । विश्वव्यापी जलवायुसम्बन्धी पेरिस सम्झौताबमोजिम सबै देशले तापक्रम वृद्धिलाई नियन्त्रण गरेर डेढ डिग्रीमा सीमित गर्दा पनि त्यसको असर हिमाली क्षेत्रमा डरलाग्दो पर्ने जलवायु परिवर्तनका जानकारहरू बताउँछन् । अहिले नै विश्व तापक्रम १ दशमलव १ डिग्रीले बढिसक्यो । त्यसलाई १ दशमलव ५ डिग्रीमा सीमित पार्दा पनि हाम्रो हिमाली क्षेत्रको एक तिहाइ हिउँ पग्लिने सम्भावना अध्ययनले देखाएको छ । पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने भनिएको छ । तर, विगत २० वर्ष मै पृथ्वीको तापक्रम १ दशमलव १ डिग्री सेल्सियसले बढेको तथ्यले झस्काएको अवस्था छ ।
पृथ्वीमा बढ्दो तापक्रमको कारण एकातिर हिमनदी, तालहरूको सतह हिउँ पग्लिदा बढ्दै गएको छ भने अर्कोतिर मधेश प्रदेश सुख्खाग्रस्त भएको छ । हिमतालहरू विस्फोट हुँदा त्यसको प्रत्यक्ष मार पनि नदी क्षेत्रमा रहेका जिल्ला तथा पालिकाहरुले खेप्नुपर्ने अवस्था आउन सक्ने सम्भावना छ । हिमताल फुट्यो भने ठूला नदीमा अत्यधिक बाढी आउन सक्ने खतरा भने कायमै छ ।
अहिले वीरगन्जलगायतको प्रमुख सहरहरूमा मधेश प्रदेश सरकारले ट्यांकर र वारुणयन्त्रबाट पानीको आपूर्ति गरिरहेको अवस्था छ । खानेपानीको स्रोतहरू सुक्दा वीरगन्जलगायतको सहरहरूमा पानीको संकट उत्पन्न भएको छ । २÷४ दिन ट्यांकरबाट पानी आपूर्ति गर्दैमा जल संकट टर्नेवाला छैन । कम्तीमा ३ घण्टासम्म लगातार मुसलधारे वर्षा नभए जल संकट ज्युँको त्युँ रहनेमा कुनै दुई मत छैन । जबसम्म जमिनमुनिको पानीको सतह बढ्दैन, तबसम्म खानेपानीको हाहाकार रहने नै छ । खानेपानी संस्थानले आपूर्ति गर्ने पानी पनि जमिनमुनिकै स्रोतबाट निकालिरहेको अवस्था छ । त्यो स्रोत पनि वर्षाकै कारण रिचार्ज हुने गरेको छ । अझै पनि वर्षा नभए त्यो स्रोत पनि नसुक्ला भन्न सकिन्न ।
अहिलेको विकास मोडेलका कारण समेत जमिनमुनिको पानीको सतह रिचार्ज हुन सकिरहेको छैन । सबैतिर ढलान भइरहेको कारण जमिनले पानी सोस्न सकिरहेको छैन । सडक ढलान हुँदा हुँदै घर आँगन तथा नालासमेत ढलान हुने गरेकाले जमिनमुनिको पानी रिचार्ज हुन सकिरहेको छैन । हामीले अपनाइरहेको विकास मोडेल परिवर्तन गर्नु जरुरी छ । हाम्रो विकास मोडेलले गर्दा पनि जलवायु परिवर्तनमा प्रभाव पारिरहेको छ । जलवायु परिवर्तनको असर १÷२ वर्षमा देखिने होइन, यसको असर २०औँ वर्षपछि देखिन्छ । अहिलेको जल संकटको अवस्था निम्तिनुमा जलवायु परिवर्तनको महत्वपूर्ण योगदान रहेको छ । हामीले जमिनमुनिबाट पानी तान्ने काम मात्र ग¥यौं, त्यसलाई पुनर्भरन गर्ने कार्य गरेनौँ । जसले गर्दा जमिनमुनिको पानीको सतह घट्दै अहिलेको अवस्था उत्पन्न भएको हो ।
अबको दिनमा ट्यूबेल नजिक बोरिङ्ग गरी पानी रिचार्ज गर्ने व्यवस्था हरेक घरले गर्नु जरुरी छ । ट्यूबेल, भान्साघर तथा बाथरुमबाट बग्ने पानीलाई ढलान गरिएको नालामा नबगाई आफ्नै जमिनमा जमिनमुनि पठाउन सकियो भने त्यसबाट जमिनमुनिको पानीको सतह रिचार्ज हुनलाई सजिलो हुन्छ । नाला बनाउँदा हरेक १० फिटपछि कम्तीमा ३ फिट ठाउँ छोडेर ढलान गर्नुपर्छ र छोडेको ठाउँमा जाली लगाएर जमिनलाई पानी सोस्ने ठाउँ बनाइदिनु आवश्यक छ । सतहको पानी रिचार्ज हुनुमा प्रमुख योगदान दिने जीर्ण अवस्थामा रहेका पोखरी तथा इनारहरूको जीर्णोद्धार गर्नु अति आवश्यक छ । पोखरी तथा इनारहरू जमिनमुनिको पानी रिचार्ज हुने प्रमुख माध्यम हुन् । जमिनमुनिको पानीको सतहलाई रिचार्ज गर्न आजैबाट पहल भएन भने आगामी दिनमा पानीकै कारण मारकाट हुने अवस्था उत्पन्न नहोला भन्न सकिँदैन ।
तसर्थ, हरेक घरधनीले आफ्नो ट्यूबेल, भान्सा तथा बाथरुमबाट निस्किने पानीलाई जमिनमुनि पुर्याई रिचार्ज हुने व्यवस्था मिलाउनु जरुरी छ । स्वच्छ तथा सुरक्षित खानेपानी पु¥याउनु स्थानीय तहहरूको कर्तव्य र दायित्वभित्र पर्दछ । स्थानीय तहहरूले पनि विकास चरणहरूमा जमिनमुनिको पानी रिचार्ज हुने लगायतको व्यवस्थापन गर्नु जरुरी छ । रिचार्ज पोखरीहरू, संरक्षण पोखरीहरूको निर्माण, वृक्षारोपणलाई अभियानको रूपमा अगाडि बढाउने कार्यहरू गर्नु आवश्यक छ । चुरे क्षेत्रमा प्रकृतिमा आधारित समाधानका उपायहरू अपनाउनु, चेक ड्यामहरू निर्माण गर्नु, पानी संरक्षणका उपायहरू अपनाउनु चुरे क्षेत्रका स्थानीय तहहरूले गर्नु आवश्यक छ । यसका लागि स्थानीय तहहरू मात्रै होइन की हरेक नागरिक यसतर्फ जिम्मेवार र इमानदार भई आजैबाट कदम चाल्नु जरुरी छ ।