२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

सल्यानका दुई पालिकाबाट खसी-बोका निकासीमा ५ करोडभन्दा बढी आम्दानी

shivam cement
प्रदीप मगर
२०८२ साउन १२ गते १२:०४
सल्यानका दुई पालिकाबाट खसी-बोका निकासीमा ५ करोडभन्दा बढी आम्दानी

सल्यान : आर्थिक वर्ष २०८१/०८२ मा सल्यान जिल्लाका दुई गाउँपालिकाबाट खसी–बोका निकासीबाट ५ करोड ३३ लाख ३१ हजार ४८४ रुपैयाँ बराबरको आम्दानी भएको छ । त्रिवेणी गाउँपालिकाबाट ३ करोड २६ लाख ४३ हजार ६०३ रुपैयाँ र दार्मा गाउँपालिकाबाट २ करोड ६ लाख ८७ हजार ८८४ रुपैयाँ मूल्य बराबरका खसी–बोका बिक्री गरिएको हो ।

यस्तै, दार्मा गाउँपालिकाबाट १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको दुध पनि निकासी गरिएको छ । दुध उत्पादनमा संलग्न ४१४ जना किसानले प्रोत्साहनस्वरूप अनुदान प्राप्त गरेका छन् ।

दुवै पालिकाले किसानलाई उत्पादनमा प्रोत्साहनस्वरूप अनुदान दिँदै आएका छन् । दुधमा प्रति लिटर ३ रुपैयाँ गाउँपालिकाबाट र ५ रुपैयाँ प्रदेश सरकारबाट गरी कुल ८ रुपैयाँको दरले अनुदान उपलब्ध गराइएको छ । त्यसैगरी, खसी–बोका बिक्रीमा त्रिवेणीले प्रति किलो २० रुपैयाँ र दार्माले २५ रुपैयाँका दरले अनुदान दिँदै आएको छ ।

यसका कारण किसान व्यवसायिक बाख्रापालनतर्फ आकर्षित भएका छन् । त्रिवेणी गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतका अनुसार, २०८१/०८२ मा न्यूनतम १०० किलो खसी बिक्री गर्ने ३०८ जना किसानलाई कुल १० लाख ८० हजार ९२० रुपैयाँ अनुदान प्रदान गरिएको छ ।

त्रिवेणी गाउँपालिकामा किसानहरूले विभिन्न सहकारीमार्फत खसी–बोका बिक्री गरिरहेका छन् । दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध १२० किसानले १ करोड ४६ लाख १६ हजार ७८५ रुपैयाँ मूल्यका खसी बिक्री गर्दै ५ लाख २८ हजार २२० रुपैयाँ अनुदान पाएका छन् ।

नमुना सामाजिक उद्यमी महिला सहकारीका ७३ किसानले ७० लाख ४२ हजार १८४ रुपैयाँ बराबरको खसी बिक्री गर्दै २ लाख ३२ हजार १२० रुपैयाँ अनुदान पाएका छन् । उपहार सहकारीमा आबद्ध ६२ किसानले ७१ लाख ५२ हजार ४६४ रुपैयाँ मूल्य बराबरका खसी बिक्री गर्दै १ लाख ८७ हजार ४०० रुपैयाँ अनुदान प्राप्त गरेका छन् । यस्तै, त्रिवेणी पशुपालन व्यवसायी सहकारीमार्फत ५३ किसानले ३८ लाख ३२ हजार १७० रुपैयाँको खसी बिक्री गर्दै १ लाख ३९ हजार ८३९ रुपैयाँ अनुदान पाएका छन् ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतका अनुसार अनुदान कार्यक्रमले किसानलाई व्यवसायिक बाख्रापालनमा लाग्न प्रेरित गरेको छ । “अनुदान दिँदा किसानको मनोबल मात्र होइन, आम्दानीसमेत बढेको छ,” उनले भने, “सहकारीमार्फत खसी बिक्री गर्न सजिलो भएको छ ।”

त्रिवेणीको वडा नम्बर २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरिएको छ । उता, दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले पालिकाका ३ वडालाई पकेट क्षेत्र बनाइ व्यावसायिक बाख्रापालन प्रवर्द्धन गरिएको जानकारी दिए । “हामीले सहकारी र समूहमार्फत बिक्री व्यवस्था मिलाएका छौं, जसले किसानलाई बजार खोज्न झन्झट हुन दिएको छैन,” उनले भने ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतका अनुसार सल्यान जिल्लाबाट हरेक वर्ष ३० हजार ५ सय संख्यामा खसी–बोका निकासी हुने गरेको छ । “यहाँ उत्पादन हुने खसी–बोका देशका विभिन्न सहरमा पठाइन्छ,” उनले भने, “यसले जिल्लाको पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको छ ।”

उनका अनुसार जिल्लाबाट बार्षिक ७० करोड रुपैयाँ बराबरको आम्दानी किसानहरूले गरिरहेका छन् । सल्यानका खसी–बोका दाङ, सुर्खेत, नेपालगञ्ज, बुटवल, भैरहवा, काठमाडौंलगायत सहरमा निर्यात हुने गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise