२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

देवघाटमा भक्तजनको घुइँचो

Nada
२०८२ साउन १२ गते १३:३७
Shares
देवघाटमा भक्तजनको घुइँचो

नारायणगढ : साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको संगमस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।

ncell

गण्डकी, त्रिशूली र कालिगण्डकी नदीको संगमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने श्रद्धालुको घुइँचो लागेको हो । साउन महिनाको सोमबारलाई विशेषरूपमा भगवान् शिवको आराधना गर्ने पवित्र दिन मानिन्छ । यसै सन्दर्भमा आज देशका विभिन्न स्थानबाट आएका भक्तजन देवघाटमा बिहानैदेखि पूजाआजा तथा स्नानमा व्यस्त देखिएका छन् ।

श्रद्धालुहरू नदीमा स्नान गरेर व्रत बसेका छन् भने शिव मन्दिरमा पूजा, अर्चना तथा जल चढाउने कार्यमा सहभागी भएका छन् । साउन सोमबारको अवसरमा देवघाटमा बोलबम मेला लाग्ने परम्पराअनुसार आजको दिन विशेष रूपमा उत्सवका रूपमा मनाइएको छ ।

देवघाट क्षेत्र विकास समिति कार्यालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार, साउन महिनाभरि आउने भक्तजनको मोटामोटी तथ्यांक संकलन गरिँदै आएको छ ।

उनले भने, “चितवन र तनहुँ दुवैतर्फ कर्मचारी खटाएर भक्तजनको संख्याबारे जानकारी लिइन्छ । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तथ्यांक संकलनको व्यवस्था छ, तर अन्य समय भक्तजन आउने भएकाले औसत संख्याको मात्र विवरण आउँछ ।”

समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार, यसवर्ष दुई लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । उनले भने, “आज बिहानैदेखि पानी परे पनि भक्तजनको उपस्थिति बाक्लो छ । गत वर्ष बाढीपहिरोका बीच पनि झन्डै दुई लाख भक्तजन आएका थिए, यो वर्ष त्योभन्दा संख्या बढ्ने अपेक्षा गरेका छौं ।”

भक्तजनको सुरक्षाका लागि स्थानीय प्रशासन र क्षेत्र विकास समितिको सहकार्यमा ट्राफिक व्यवस्थापन, स्वास्थ्य सहायता र सुरक्षा व्यवस्थापनको व्यवस्था मिलाइएको छ । प्रहरी, स्वयंसेवक तथा प्राथमिक स्वास्थ्य टोली तैनाथ गरिएको कार्यकारी निर्देशक बरालले जानकारी दिए । भक्तजनको आगमनसँगै स्थानीय व्यवसायमा चहलपहल बढेको देखिन्छ । देवघाटको चितवन र तनहुँतर्फका दुवै किनारमा फूलमाला, पूजा सामग्री, फलफूल तथा खाजाका पसलमा उल्लेख्य घुइँचो लागेको छ ।

ताजा खबर

सम्बन्धित खबर