२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

प्यूठानमा सडक पूर्वाधार कार्यालयद्वारा ९४ योजना सम्पन्न, ९.१८ किमी सडक कालोपत्रे

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते २१:५६
प्यूठानमा सडक पूर्वाधार कार्यालयद्वारा ९४ योजना सम्पन्न, ९.१८ किमी सडक कालोपत्रे

प्यूठान : प्यूठानमा सडक पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा कुल ९४ योजनाको सफल कार्यान्वयन गरेको छ । कार्यालयका अनुसार सो अवधिमा जिल्लाभर ९.१८ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर चन्द्रबहादुर शाहका अनुसार २.३२ किलोमिटर सडक ग्राभेल, १.०९ किलोमिटर ढलान, ९.६६ किलोमिटर नाली निर्माण, १ स्ल्याब कल्भर्ट, १ कजवे र १ झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । साथै २ वटा मोटरेबल पुल र २ वटा झोलुंगे पुलको मर्मतसमेत गरिएको उनले जानकारी दिए ।

प्रमुख योजनाहरूमा बाग्दुला–दम्ती–बहाने–खवाङ–स्याउलीबाङ–नौवहीनी पर्यटन सडक (बहाने–स्याउलीबाङ खण्ड), ऐरावती गाउँपालिका पहुँच मार्ग (६ किमी कालोपत्रे) र बाग्दुला–दम्ती सडकको स्तरोन्नति समावेश छन् । 

शाहका अनुसार कुटिचौर–किटघाट पक्की पुल र मच्छी–पिडाल्ने पक्की पुलको काम तीव्र गतिमा अघि बढिरहेको छ । तर, बजेट अभाव र केही निर्माण व्यवसायीको लापरवाहीले केही योजना रोकिएको बताए । निर्माण व्यवसायीलाई कारबाहीको चेतावनी दिइएको र आवश्यक पत्राचार तथा प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

कार्यालयले यो आर्थिक वर्षमा सडक निर्माण, मोटरेबल पुल, झोलुङ्गे पुल, कल्भर्ट लगायतका योजनाहरूको ठेक्का लगाएर उल्लेखनीय प्रगति गरेको जनाएको छ । कार्यालयका अनुसार कुल ११३ योजना अन्तर्गत ९४ वटा योजना सम्पन्न भएका छन् । 

कार्यालयका लेखा अधिकृत सुनिल नेपालीका अनुसार चालु आर्थिक वर्षमा पुँजीगत बजेट ४७ करोड ४९ लाख ५० हजारमध्ये ३६ करोड ५९ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ । भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७७.०४ प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।

शाहले बाग्दुला–दम्ती–बहाने–खवाङ–स्याउलीबाङ सडकको काम तीव्र गतिमा अघि बढिरहेकोले यो वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise