२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

सहरीकरणसँगै बढ्दो प्रदूषणको चिन्ता

shivam cement
२०८२ साउन ९ गते ०६:०५
सहरीकरणसँगै बढ्दो प्रदूषणको चिन्ता

–चन्द्रबहादुर बस्याल 

सहरीकरण आधुनिक विकासको अभिन्न अङ्ग हो । जनसंख्याको चाप, रोजगारीको अवसर, शैक्षिक र स्वास्थ्य सेवाको पहुँचलगायत विविध कारणले मानिसहरू गाउँबाट सहरतिर सर्न थालेका छन् । विशेषगरी विकासशील देशहरूमा सहरहरूको विस्तार तीव्र गतिमा भइरहेको छ । नेपालको सन्दर्भमा पनि काठमाडौं, पोखरा, विराटनगर, नेपालगन्ज लगायतका सहरहरू क्रमशः विस्तार भइरहेका छन्, जसको प्रत्यक्ष प्रभाव वातावरणमा देखिएको छ । सहरीकरणसँगै वायु, ध्वनि, जल र माटो प्रदूषणले गम्भीररूप लिँदै गएको छ । यस प्रदूषणको असर मानव स्वास्थ्य, जैविक विविधता, जलवायु र सम्पूर्ण पारिस्थितिक प्रणालीमा पर्न थालेको छ । यस्तो अवस्थामा प्रदूषण नियन्त्रणको प्रयास नहुने हो भने सहरी जीवन नै संकटमा पर्न सक्ने अवस्था सिर्जना हुनसक्छ ।

सहरीकरणको मूल उद्देश्य मानिसको जीवनस्तर उकास्नु हो । तर सहरी विकास योजनाले यदि वातावरणीय पक्षलाई बेवास्ता गर्छ भने त्यो लक्ष्य प्राप्त हुन सक्दैन । सहरी क्षेत्रमा सवारी साधनको अत्यधिक प्रयोग, कारखाना तथा उद्योगहरूको अनियन्त्रित विस्तार, फोहोरमैला व्यवस्थापनमा कमजोरी, हरियाली जमिनको संकुचन, खुला स्थानको अभाव र अनियमित निर्माणले प्रदूषण बढाउने प्रमुख कारकका रूपमा काम गरेका छन् । काठमाडौं उपत्यकामा मात्र होइन, देशका अन्य प्रमुख सहरहरूमा पनि हावा धुलोले भरिएको देखिन्छ । श्वासप्रश्वाससम्बन्धी समस्या, आँखाको जलन, छालाका रोगहरू, दम, क्यान्सरजस्ता गम्भीर रोगहरू प्रदूषणका कारण बढिरहेका छन् । बालबालिका, वृद्ध–वृद्धा र दीर्घ रोगीहरू यसको सबैभन्दा संवेदनशील समूहमा पर्छन् ।

वातावरणीय प्रदूषणले जनस्वास्थ्य मात्र होइन, आर्थिक क्षेत्रमा पनि नकारात्मक प्रभाव पार्छ । काम गर्न सक्ने जनशक्ति बिरामी पर्दा उत्पादनशीलता घट्छ, स्वास्थ्य उपचारमा खर्च बढ्छ र राष्ट्रिय उत्पादन क्षमतामा असर पर्छ । पर्यटनजस्तो संवेदनशील क्षेत्र पनि प्रदूषणका कारण प्रभावित हुन सक्छ । त्यसैले प्रदूषण नियन्त्रण गर्नु केवल स्वास्थ्यको सवाल होइन, समग्र आर्थिक समृद्धिको पूर्वसर्त हो ।

प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन, मध्यकालीन र छोटो अवधिका योजनाहरू आवश्यक पर्छन् । पहिलो कुरा भनेको सहरी योजनाकै पुनरावलोकन हो । सहर विस्तार गर्दा वातावरणीय मूल्यांकन अनिवार्य गर्नुपर्छ । विकास निर्माणले पार्ने सम्भावित असर पहिल्यै अध्ययन गरेर नकारात्मक पक्ष न्यूनीकरण गर्ने रणनीति बनाउन सक्नुपर्छ । सडक निर्माण, भवन निर्माण, पार्किङको व्यवस्थापन, हरित क्षेत्रको संरक्षण, ढल निकास प्रणाली, पानीको स्रोतको संरक्षण, फोहोर व्यवस्थापनजस्ता कुराहरू वातावरणमैत्री ढंगले गर्नुपर्छ ।

सहरी क्षेत्रमा वायु प्रदूषण प्रमुख समस्या हो । नेपालमा चल्ने सवारी साधनहरूको नियमित जाँच, इन्धनको गुणस्तरमा सुधार, सार्वजनिक सवारीको प्रवद्र्धन, साइकल र पैदलयात्रालाई प्रोत्साहन जस्ता उपायहरूलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्छ । विद्युतीय सवारी साधनको प्रयोगलाई नीति र कर प्रणालीमार्फत प्रोत्साहन गर्न सकिन्छ । काठमाडौं उपत्यकामा धुलो र धुवाँको संयोजनले अत्यन्तै खराब वायु गुणस्तरको अवस्था देखिएको छ । सडक सफाइ नियमित गर्नु, सडक छेउमा हरियाली विस्तार गर्नु र निर्माणका क्रममा आवश्यक सुरक्षात्मक उपायहरू अपनाउनु आवश्यक छ ।

फोहोरमैला व्यवस्थापन सहरी प्रदूषणको अर्को गम्भीर पाटो हो । सहरी क्षेत्रमा दैनिक हजारौँ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । तीमध्ये अधिकांश जैविक हुने भएपनि पूनःप्रयोग र पुनर्चक्रण प्रणालीको अभावले ती सिधै ल्यान्डफिल साइटमा फालिन्छन् वा सडक र नदी किनारमै थुप्रिन्छन् । यो अभ्यासले पानीको स्रोतलाई प्रदूषित गर्नुका साथै, वायुमण्डलमा मिथेन जस्तो घातक हरितगृह ग्यास उत्सर्जन गर्छ । त्यसैले घरदैलोमै फोहोर छुट्याउने अभ्यास, कम्पोस्ट बनाउने प्रविधिको प्रयोग, प्लास्टिक प्रयोगमा कटौती, रिसाइक्लिङ उद्योगको प्रवद्र्धन जस्ता उपायहरू अपनाउनुपर्छ ।

जलस्रोत प्रदूषणको मुख्य सिकार सहरकै नजिकका खोला, नदी र इनारहरू बनेका छन् । काठमाडौंको बागमती नदी यसको जीवित उदाहरण हो । विगतमा धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्तै पवित्र मानिएको यो नदी आज फोहोरको खोलामा रूपान्तरण भइसकेको छ । सहरी ढल व्यवस्थापनमा कमजोरी, फोहोर नदी किनारमा फाल्ने प्रवृत्ति र औद्योगिक फोहरको अनियन्त्रित निष्कासनले यस्तो अवस्था ल्याएको हो । यसको समाधानका लागि ढल व्यवस्थापन प्रणाली सुधार गर्नु आवश्यक छ । उद्योगहरूलाई फोहर प्रशोधन गरी मात्र बाहिर फाल्न बाध्य पार्न सक्नुपर्छ । स्थानीय तहले फोहोरमैला व्यवस्थापन ऐन, नियमावली र कार्यविधिको कडाइका साथ पालना गराउन सक्नुपर्छ ।

ध्वनि प्रदूषण पनि सहरी जीवनको एउटा अदृश्य, तर गम्भीर समस्या हो । जथाभाबी हर्न बजाउने, निर्माणका क्रममा ठूला आवाजहरू निकाल्ने, धार्मिक वा सामाजिक कार्यक्रममा उच्च स्वरमा ध्वनि प्रयोग गर्ने जस्ता व्यवहारले मानिसको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ । निद्रामा समस्या, तनाव, उच्च रक्तचाप, श्रवण शक्ति क्षयजस्ता असरहरू देखा पर्न सक्छन् । यसका लागि कानुनी व्यवस्था निर्माण मात्र होइन, जनचेतनाको विस्तार पनि गर्नुपर्छ । सहरी क्षेत्रमा ‘नो हर्न जोन’ घोषणा, माइक प्रयोगमा समय सीमा तोक्ने, निर्माण काम निश्चित समयमा मात्र गर्न दिने जस्ता कार्य प्रभावकारीरूपमा लागू गर्न सकिन्छ ।

हरियालीको अभावले सहरी क्षेत्रमा तापक्रम पनि बढेको देखिन्छ । घना भवन, सिमेन्टको सडक र खुला स्थानको अभावले ‘उर्वान हिट आइसल्याण्ड’ को अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा रूख रोप्ने, छानामा बगैँचा बनाउने, खाली जमिनमा हरियाली विस्तार गर्ने कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । सहरी योजनामा पार्क, सामुदायिक बगैँचा, खुला स्थानहरूलाई अनिवार्यरूपमा समावेश गर्नुपर्छ ।

प्रदूषण नियन्त्रणको सबैभन्दा बलियो आधार भनेको जनसहभागिता हो । सरकार, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज र आम सर्वसाधारण सबैले आ–आफ्नो तहबाट जिम्मेवारी वहन गर्नुपर्छ । विद्यालय तहदेखि नै वातावरण शिक्षालाई प्रभावकारी बनाइनुपर्छ । सफा वातावरण हाम्रो अधिकारमात्र होइन, कर्तव्य पनि हो भन्ने भावनालाई आत्मसात् गर्नुपर्छ ।

सूचना प्रविधिको प्रयोगबाट पनि प्रदूषण नियन्त्रणमा सहयोग लिन सकिन्छ । वायु गुणस्तरको मापन गर्ने डिजिटल प्रविधि, फोहोर व्यवस्थापन ट्र्याकिङ प्रणाली, ध्वनि निगरानी उपकरणजस्ता प्रविधिहरू सहरहरूमा प्रयोग गरिन थालेका छन् । स्मार्ट सिटी अवधारणालाई वातावरणमैत्री सहरको रूपमा विकास गर्ने सोच आवश्यक छ ।

अन्ततः, सहरीकरण विकासको अपरिहार्य प्रक्रिया हो । तर यसले पर्यावरणीय सन्तुलन बिगार्नेगरी अघि बढ्न नहुने हो । प्रदूषण नियन्त्रणलाई विकासको विरुद्ध होइन, त्यसको पूरकका रूपमा बुझ्नुपर्छ । दिगो सहरी विकासको मूल आधार स्वच्छ, सुरक्षित र स्वस्थ वातावरण हो । त्यसका लागि नीति, योजना र कार्यान्वयन सबैमा समन्वय आवश्यक छ । हामीले आज सुरु नगरे प्रदूषणको असर भोलिको पुस्ताले चुकाउनु पर्नेछ । त्यसैले सहरीकरणसँगै बढ्दो प्रदूषण नियन्त्रण हाम्रो साझा चुनौती र जिम्मेवारी हो ।

ADV

सम्बन्धित खबर

Advertise