२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

‘अटेलिस् जोई’ अर्थात् मायाको परिभाषा

shivam cement
२०८२ साउन १० गते ०६:१०
‘अटेलिस् जोई’ अर्थात् मायाको परिभाषा

–सिताराम थापा

उसो त शोभाराम ओली पाठकबिच नयाँ नाम हैन । यसभन्दा अगाडि प्रकाशित उनको कृति ‘सुलभ’ बहुचर्चित उपन्यास हो । सोही उपन्यासमार्फत धेरैजसो पाठकले उनको लेखन शैली र उनीमा अन्तर्निहित कलाको नाडी छामी सकेका छन् । गत शुक्रवार कतारको दोहामा विमोचित अर्को उपन्यास ‘अटेलिस् जोई’मार्फत उपन्यासकार ओलीले पाठकहरूलाई अर्को नयाँ कथाको माध्यमबाट नयाँ स्वाद पस्केका छन् । झट्ट सुन्दा यो उपन्यासको नाम अलि पृथक् खालको लाग्छ । उपन्यास पढेर अन्त्य तिर नपुगुन्जेलसम्म उपन्यासको नाम र कथा कता तालमेल खायो त खै ? भन्ने जिज्ञासा मेटिँदैन, तर वास्तविक अर्थ चाहिँ उपन्यासको अन्तिम तिर भेटिन्छ ।

यो उपन्यासमा आइते, चन्चले, सन्तोष, माया, खलाबोटे मास्टर, पानकलि, तभिल धामी, सुनिता, आनन्द आदि जस्ता नामका पात्रहरू छुट्टाछुट्टै भूमिकामा देखिन्छन् भने सन्तोष र माया चाहिँ यो उपन्यासका मुख्य पात्र अर्थात् हिरो हिरोइन नै हुन् । यो उपन्यासको जग हाम्रो नेपाली समाजमा व्याप्त रहेको जातीय छुवाछूत प्रथा र ग्रामीण परिवेशमा हुने विभिन्न खालका थिचोमिचोको सेरोफेरोबाट उठाइएको छ । नेपालमा भएको माओवादी जनयुद्ध, पश्चिमी भेग रुकुम–रोल्पा जस्ता जिल्लाहरूमा परेको द्वन्द्वको असर र सोही समयताका स्थानीय जनमानसले आफ्नो दैनिकीमा भोग्नु परेको सास्तीलाई पाठक आफैंले महसुस गर्नेगरी उतारिएको छ । 

उपन्यासमा सोही भेगको रैथाने शब्दहरूको प्रयोग गरिएको छ, जुन नेपालका अन्य जिल्लातिर बस्ने मानिसहरूलाई बुझ्नै गाह्रो हुन्छ । ६०को दशकअघिको घटना भएको कारण उपन्यासमा धेरै ठाउँमा प्रेम पत्रहरू लेखिएका छन् । 

सन्तोष नामको एक जना पुरुष पात्रलाई रुकुम–रोल्पा जस्तो बिकट जिल्लाको ग्रामीण बस्तीमा दलित परिवारभित्र जन्माएर उपन्यासको सुरुवात गरिएको छ । कथा सन्तोषको स्कुल जीवनदेखि नै सुरु हुन्छ । सन्तोषलाई साथ दिने अर्की महत्वपूर्ण पात्र हुन्छिन्– माया । माया, सन्तोषकै गाउँ कि माथिल्लो जातकी खलाबोटे मास्टरको छोरी हुन् । उनीहरू बाल्यकालदेखिका साथीहरू हुन् । एक अर्कालाई सानैदेखि माया गर्थे । उनीहरूको माया पवित्र थियो । उनीहरूबिच चोखो माया प्रेम भए पनि असमान जातका कारण उनीहरूको माया प्रेमले विवाहमा परिणत हुन नसकी नसकी कथा सकिन्छ । 

माया र सन्तोष एसएलसीसम्म गाउँकै स्कुलमा सँगै पढ्छन् । एसएलसी पास गरेपछि माया उच्च शिक्षाको लागि सहर जान्छिन् र उतै पढ्न थाल्छिन् । सन्तोषको आर्थिक अवस्था सारै नाजुक भएकोले उच्च शिक्षाको लागि सहर जान ऋण लिन खोज्छन् । तर, उनले उच्च शिक्षाको लागि नभई विदेश जानको लागि ऋण पाउँछन् । खेतबारी बन्दकी राखेर उनी विदेश यात्राका लागि निस्किछन् ।  
सन्तोष खाडी जाने चक्करमा काठमाडौं आउँछ । भिसाको पखाई झन्डै वर्ष दिनको हुन्छ । बेरोजगारीको अवस्था हुँदा पशुपतिनाथको दर्शन गर्न जाँदा कुनै ब्वाइ फ्रेन्डले धोका दिएकी एउटी सोलुखुम्बु घर बताउने सरल पात्र सुनिता भेटिन्छिन् । उनीहरूबिच धेरै दुःख सुखका कुरा हुन्छन् । सुनिताको ब्वाइ फ्रेन्ड भेटाइदिन सन्तोषले निकै सहयोग गर्छ, तथापि सफल हुँदैन । एक दिन अचानक सन्तोषको दुबईको भिसा आउँछ, उ श्रमिकको रूपमा दुबई पुग्छ । 

सन्तोष दुबई गएको केही वर्षपछि गाउँमा जनयुद्ध बेस्सरी चर्केको हुन्छ । सन्तोषको घर गाउँमा प्रहरी चौकी नजिकै हुन्छ । उस्का बुबा आइते प्रहरी चौकीमा खाना बनाइदिने सहयोगीको रूपमा काम गर्थे । देशमा चर्केको गृहयुद्धका बेला माओवादी र सरकारी सेनाको भिडन्तमा सन्तोषको बुबा आइते र आमा चन्चलीको आफ्नै घरमा गोली लागेर मृत्यु हुन्छ । सन्तोष परदेशमै टुहुरो हुन पुग्छ । 

उता उच्च शिक्षा अध्ययनको लागि सहर पसेकी माया पढाइसँगै गायिकाको रूपमा स्थापित हुन पुग्छे । संयोगले माया साङ्गीतिक प्रस्तुतिका लागि दुबई पुग्छे, कार्यक्रम हलमा सन्तोषले मायालाई देख्छ । तर, उसले बोलाउन या भेट्न सक्दैन या चाहँदैन किनकि मायाले बिहा गरिसकेको भन्ने जानकारी पाउँछ । अब उसलाई डिस्टर्व नगर्नु भनेर कसैले पत्रमार्फत जानकारी गराइदिइसकेको हुन्छ । एकातिर बाबुआमाको वियोग, अर्कोतिर मायासँगको बिछोड, सन्तोष विक्षिप्त बन्छ ।

जहाँ पातलो, त्यही छेड भने झैँ दैव पनि निर्दयी बनेर सन्तोषमाथि नै खनिन्छन् । सन्तोषलाई सीआइपीए नामको दुर्लभ र खतरनाक रोगले समात्छ । परदेशमा उपचार सम्भव नभएपछि परदेशका सहकर्मी साथीहरूले नेपाल लिएर आउँछन् । उपचारको लागि टिचिङ हस्पिटल राखिन्छ । सन्तोषले मायालाई भेट्न चाहिरहेको हुन्छ, तर दुर्भाग्य माया साङ्गतिक प्रस्तुतिका लागि पोखरा पुगेकी हुन्छिन् । 

यता सन्तोषको अवस्था चिन्ताजनक हुन्छ । आइसियुमा राखिन्छ, तर सुधार हुँदैन । आनन्द दाइले आफ्नो बाचा पूरा गर्न मायालाई खबर पुर्‍याइदिइसकेका हुन्छन्, माया पोखराबाट सन्तोषलाई भेट्न सिधै टिचिङ आइपुग्छिन्, तर समय ढिला भइसकेको हुन्छ । सन्तोषले यो संसारबाट बिदा लिइसकेको हुन्छ । वास्तवमा मायाले बिहा गरेकी हुँदिनन्, तर सन्तोषकै मिल्ने साथी जो मायालाई पहिलेदेखि नै मन पराउँथ्यो र उसँग बिहा गर्न चाहन्थ्यो, उसैले मायाले बिहा गरिसकी भनेर झुटो पत्र पठाइदिएको थियो ।

सन्तोषको मृत्युपछि काठमाडौंमै आएका आफ्ना बुबाआमालाई हेर्न बोलाउँछिन् । माया रुँदै बुबाआमालाई अङ्गालो हाल्न दौडँदै जाँदा अचानक गाडीको ठक्करले मृत्युवरण गर्न पुग्छिन् । 

दुवै जनाको लास आर्यघाटमा सँगै जल्ने अवस्था हुन्छ । जिउँदो हुँदा फरक जातका कारण एक हुन नसकेका सन्तोष र माया सँगै चितामा जल्छन् । वर्षौँअघि काठमाडौंमा सन्तोषसँग भेटिएको आफ्नो धोकेबाज प्रेमी खोज्न बसेकी उहीँ सुनिताले सन्तोषको लास जलाइरहेकी हुन्छिन् ।

नेपाली संस्कृति र संस्कारको अनुसन्धान गर्न आर्यघाटसम्म पुगेका एक जना ग्रिस नागरिक या रिसर्चरले जल्दै गरेको दुई लासको बारेमा निकै जिज्ञासा राख्छन् । उनीहरूको अधुरो प्रेम कहानीबारे वृत्तान्त सुनिसकेपछि भावुक हुँदै भन्छन्– अटेलिस् जोई । वास्तवमा तिनै रिसर्चरको मुखबाट निस्किएको शब्द ‘अटेलिस् जोई’ले नै सिङ्गो उपन्यासको नाम बोकेको छ । सर्सर्ती पढ्दा सामान्य कथा बोकेर उपन्यास उभिएको देखिए पनि उपन्यासको आयतन भने निकै फराकिलो छ ।

उपन्यासको अन्त तिर
उपन्यासकार ओलीले उपन्यासलाई सरल तरिकाले बग्ने गरी सन्तोष र माया जस्ता पात्रलाई उपन्यासको मुख्य भूमिकामा राखेर उपन्यास लेखे पनि उपन्यासको प्रस्तुतिलाई संवादको रूपमा हिरा नामकी छाया पात्रसँग आफूलाई मिसाएर थप अर्को कथा जोडेका छन् । नचाहँदा नचाहँदै पनि उपन्यासमा काठमाडौंमा भेटिएकी सोलुखुम्बु कि सुनिता र कतारको फुटबल स्टुडियोमा भेटिएको हिराको प्रेम कहानी पनि उतारिएको छ । झट्ट हेर्दा, यो उपन्यास तीन बेग्ला बेग्लै प्रेम कहालिने भरिएको त्रिवेणी पनि हो जस्तो लाग्छ ।
कतारमा सम्पन्न वल्र्डकप फुटबलको सन्दर्भलाई भलाकुसारीको पृष्ठभूमि बनाएर लेखिएको उपन्यास भएकोले खेलसँग रुचि राख्ने पाठकहरूले वल्र्डकपको फाइनल दिनमा भएका रमाइलो गेम र अविस्मरणीय गोलका बारेमा पनि जान्न पाउँछन् । त्यो ऐतिहासिक खेलको वर्णनले उपन्यासलाई अझ मजबुत बनाएको छ ।
कमजोर पक्ष
उपन्यासको सुरुवात खण्डमा कतारमा व्यक्तिगत आफ्नो दैनिकीलाई जोडेर दोस्रो खण्ड सुरुवात नहुन्जेलसम्मको लेखाइमा पाठकलाई अलमलाए जस्तो देखिएको छ । कतिपय शब्द छनौट र घटनालाई जोड्ने क्रममा अलमल देखिन्छ । जस्तो– उच्च शिक्षाको अध्ययनको लागि माया कोठा लिएर बसिसकेकी हुन्छे, तर रेडियोमा एसएलसीको रिजल्ट बज्छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise