-चन्दा थापा ‘चन्द्रिका’
नेपालको विकासमा अवरोधको चर्चा गर्दा अक्सर हामी नीति, योजना, कानुन, बजेट वा प्रणालीलाई दोष दिने गर्छौँ । तर गहिरिएर हेर्दा, समस्या नीति कम र नेतृत्व बढी देखिन्छ । एउटै नीति एक देशमा सफल र अर्कोमा असफल हुनु, यसको ज्वलन्त प्रमाण हो । यसले संकेत गर्छ, मूल कुरा नीति होइन, त्यसको कार्यान्वयन गर्ने नेतृत्वको शैली, सोच र प्रतिबद्धता हो ।
नेपालमा पछिल्लो तीन दशकको इतिहास हेर्दा, थुप्रै नीति र योजना बनाइएका छन्– शिक्षा नीति, कृषि नीति, उद्योग नीति, स्वास्थ्य नीति, श्रम नीति आदि । यिनले विकासको मार्गचित्र देखाउँछन् । तर, ती कागजमा सीमित भइरहेका छन् । कार्यान्वयनमा नेतृत्वको इच्छाशक्ति, दूरदृष्टि, क्षमता र नैतिकता अभावले ती नीति प्रभावहीन बन्दै गएका छन् । जब नेतृत्व दृढ, पारदर्शी र जनमुखी हुँदैन, तब उत्कृष्ट नीति पनि परिणाममुखी हुँदैन ।
समस्या नेतृत्वको खडेरीमा छ । नेतृत्व भनेको केवल पद वा शक्तिको विषय होइन, सोच, व्यवहार र दृष्टिकोणको कुरा हो । हाम्रो राजनीतिक नेतृत्वको चरित्र अवसरवादी, अस्थिर र अल्पदृष्टि देखिन्छ । सत्ता प्राप्तिका लागि नेतृत्व सिद्धान्तभन्दा सम्झौतामा रमाउँछ । राष्ट्रभन्दा दल, दलभन्दा व्यक्ति र व्यक्तिभन्दा स्वार्थलाई प्राथमिकता दिइन्छ । यस्तो सोचबाट न नीति टिकाउ हुन्छ, न त देशको भविष्य ।
अर्कोतर्फ, जनताले पनि नेतृत्वलाई केवल भाषण, नारा र चुनावी आकर्षणका आधारमा मूल्यांकन गर्छन् । परिणाम, क्षमताहीन र अनैतिक नेताहरू फेरि–फेरि सत्तामा पुग्छन् । नेतृत्व बदलिन्छ, तर सोच बदलिँदैन । यही कारण देश एकै ठाउँमा घुमिरहेजस्तो लाग्छ ।
नीति निर्माणको प्रक्रियामा पनि नेतृत्वको चरित्रले प्रभाव पार्छ । आज बनाइने अधिकांश नीति जनताको गहिरो सरोकार, वैज्ञानिक विश्लेषण वा दीर्घकालीन दृष्टिकोणका आधारमा बनाइँदैनन् । तिनमा अल्पकालीन लाभ, बजेट सक्ने बाध्यता वा विदेशी एजेन्डा पूरा गर्ने झलक देखिन्छ । यो नेतृत्वको कमजोरी हो, नीति बनाउने शैलीको दोष मात्र होइन ।
अर्को महत्वपूर्ण कुरा, कार्यान्वयनको कमजोरी हो । नेपालमा विकास योजना निर्माणमा जति सक्रियता देखिन्छ, त्यसको कार्यान्वयनमा उति नै लापरबाही देखिन्छ । काम समयमै सकिँदैन, गुणस्तर रहँदैन, अनुगमन हुँदैन । नेतृत्व आफैँ निरीक्षक बन्नुको सट्टा, ठेकेदार, कर्मचारी वा बिचौलियाको भरमा काम थमाउँछ । नीति सफल हुन नेतृत्वले अनुशासन, पारदर्शिता र जवाफदेहिताको संस्कृति विकास गर्नुपर्छ ।
त्यस्तै, हाम्रो नेतृत्व समस्यालाई समाधानभन्दा प्रबन्ध गर्ने प्रवृत्तिमा रमाउँछ । बेरोजगारी समाधान गर्ने दीर्घकालीन योजना बनाउनेभन्दा, वैदेशिक रोजगारका एजेन्सी खोल्ने नीति बनाइन्छ । शिक्षा प्रणाली सुधार गर्नेभन्दा, निजी विद्यालयका मालिकहरू सन्तुष्ट हुने किसिमको नीति बनाइन्छ । यसको अर्थ, नीति गलत छैन, तर नेतृत्व जनताको पक्षमा ठाडो उभिन सक्दैन ।
त्यसैले, सुधारको लागि अब केवल नयाँ नीति बनाउने होइन, नयाँ सोचको नेतृत्व खोजिनुपर्छ । जुन नेतृत्वले नीति निर्माणमा जनसहभागिता सुनिश्चित गरोस्, कार्यान्वयनमा इमानदारी देखाओस् र नतिजा हासिल नभएसम्म जवाफदेही बनोस् । यस्तो नेतृत्वले मात्र कागजको नीति जीवन्त रूप लिन सक्छ ।
नेतृत्वको चरित्र समाजको प्रतिबिम्ब हो भन्ने तर्क गरिन्छ । यदि नागरिक स्वयं सचेत, उत्तरदायी र परिवर्तनको पक्षमा उभिन्छन् भने नेतृत्व पनि बाध्य भएर बदलिन्छ । तर, आज हाम्रो समाज पनि नेतृत्वका विकल्प खोज्न सक्दैन वा खोज्न चाहँदैन । यही कारण उही अनुहारहरू घुमिरहेका छन्, उही समस्या दोहोरिइरहेका छन् ।
विकासशील देशहरूमध्ये नेपाल स्रोत, साधन, मानव शक्तिको हिसाबले कमजोर छैन । तर, समस्या तिनीहरूलाई जोर्न सक्ने, प्रयोग गर्न सक्ने र दिशानिर्देश गर्न सक्ने नेतृत्वको छ । सही नेतृत्व भएमा सीमित साधनबाट पनि असाधारण काम हुन सक्छ । गलत नेतृत्वले अपार साधन पनि खेर फाल्न सक्छ ।
अन्ततः, नीति कस्तो भन्नेभन्दा पनि नेतृत्व कस्तो भन्ने सवाल महत्वपूर्ण छ । किनभने नेतृत्वले नीति बनाउँछ, कार्यान्वयन गर्छ र परिणाम सुनिश्चित गर्छ । जब नेतृत्व इमानदार, दूरदर्शी र जनउत्तरदायी हुन्छ, तब नीति केवल दस्ताबेज होइन, जनजीवन परिवर्तन गर्ने उपकरण बन्छ । त्यसैले अब हामीले प्रश्न उठाउनुपर्छ, नीति सुधार्ने कि नेतृत्व बदल्ने ? उत्तर स्पष्ट छ— नेतृत्व सुधारिएपछि मात्रै नीति सफल हुन्छ ।