–झलक शर्मा
खेलकुद क्षेत्रले शारीरिक र मानसिक पक्षलाई मात्रै समेट्दैन, यसले बहुआयामिक पक्षहरूमा महत्वपूर्ण योगदान पुर्याउँदछ । मनोरञ्जन, स्वास्थ्य, पर्यटन, व्यापार, अन्तर्राष्ट्रिय सम्बन्ध विकासलगायत यावत क्षेत्रमा यसको प्रत्यक्ष वा परोक्ष भूमिका क्रियाशील रहन्छ । खेलकुदले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव, मान, आपसी भाइचारा स्थापित गराउनुको साथै, समुचित कूटनीतिक सम्बन्ध विस्तार गर्नमा अहम् भूमिका खेलेको हुन्छ । नेपाली समाजमा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग, भाषा, संस्कृति एवं समुदायका आ–आफ्नै छुट्टै प्रकृतिका खेलहरू पनि छन् । त्यसले त झन् नेपालको मौलिक संस्कृतिको जगेर्ना गर्नमा समेत टेवा पुर्याउँछ । तर, नेपाली खेलकुद क्षेत्रमा राज्यको ध्यान कमै मात्र गएको देखिन्छ । राज्यले खेलकुद क्षेत्रलाई भन्दा राजनीतिक विषयवस्तुलाई मात्र प्राथमिकतामा राख्दा खेलकुद क्षेत्र भने सधैँ छायामा परेको छ । सरकारको खेलकुद क्षेत्रलाई पनि न्यून बजेट छुट्याएको हुन्छ ।
नेपाली खेलकुद क्षेत्रलाई व्यवस्थित, वैधानिक र अनुशासित रूपमा सञ्चालन र प्रतिफलमुखी बनाउन ऐन कानुनहरूको पर्याप्तता छैन । मौजुदामा रहेका ऐन कानुन पनि समय सापेक्ष छैनन् । यस्तै, अभावलाई महसुस गर्दै र विश्वव्यापी मूल्य र मान्यताअनुसार खेलकुदको विकास र विस्तार गर्न, खेलकुद क्षेत्रमा नविनतम् प्रविधिहरूको आत्मसात् गर्न नेपाल सरकारले यही असार ९ गते राष्ट्रिय खेलकुद नीति, २०८२ स्वीकृत गरी असार १६ गते युवा तथा खेलकुद मन्त्रालयद्वारा नयाँ खेलकुद नीति सार्वजनिकीकरण गर्यो । यस नीतिको लक्ष्य नै खेलकुदको माध्यमबाट स्वस्थ, अनुशासित, सिर्जनशील र सक्षम जनशक्ति तयार गरी राष्ट्रिय एकता, प्रतिष्ठा र समृद्धि हासिल गर्नका लागि टेवा पुर्याउने रहेको छ । संघ प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्यमा खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्य यस नीतिको रहेको छ । अन्तर्राष्ट्रिय समुदाय तथा निजी क्षेत्रको सहभागिता र लगानी भित्र्याउन यस क्षेत्रलाई व्यवसायीकरणतर्फ उन्मुख गराउन यस नीति प्रतिबद्ध रहेको देखिन्छ । खेलकुद सूचना व्यवस्थापन प्रणालीको विकास गरी खेलकुद सम्बन्धी तथ्यांकको व्यवस्थापन गर्नुका साथै, खेल–पत्रकारिता र सूचना प्रविधिलाई प्रभावकारी बनाउने विषयलाई यस नतिले जोड दिएको छ ।
नेपाली खेलकुद क्षेत्रले नागरिक वा सरोकारवाला पक्षले अपेक्षा गरेअनुरूपको विकास गर्न नसकेको आरोप छ । खेलकुद क्षेत्रको उत्पत्ति र विकासको समयलाई नियाल्दा नेपाली खेलकुद जगतले सोचे जस्तो उपलब्धि हासिल गर्न सकेको छैन । खेलाडीहरूले आफ्नो खेल क्षेत्रको व्यावसायिक वा पेसागत विकासको लागि कयौँ वर्ष त्याग गर्नुपर्ने अवस्था छ । तर, व्यावसायिक वा पेसागत विकास भएता पनि जीवन गुजार्नकै लागि खेल जीवन अपनाउन सकिने अवस्था छैन । तसर्थ, नेपाली खेलाडीहरूले यस क्षेत्रलाई नै मूल पेशाको रूपमा अँगाल्न खोजेको पाइँदैन ।
सरकारका नीति तथा कार्यक्रमले खेलाडीलाई खेल क्षेत्रमा नै सुन्दर भविष्य देखाउने तथा आर्थिक रूपमा सक्षम बनाउन सक्ने कुनै ठोस नीति बन्न सकेको छैन । तर, केही हदसम्म नयाँ नीतिले खेलाडीलाई सुविधामा वञ्चित नगर्ने व्यवस्था समावेश गरेर खेलाडीलाई प्रोत्साहन गरिँदै छ । विगतको नीति खेलाडी अनुकूल देखिएको थिएन भने अहिलेको नीतिले खेलाडीको भविष्यसँग अनुकूल हुने गरी तयार गरिएको छ । पछिल्ला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलका नतिजालाई ध्यानमा राखेर बनाइएको यस पटकको राष्ट्रिय खेलकुद नीतिले खेल प्रतियोगितालाई प्रतिस्पर्धात्मक र गुणस्तरयुक्त बनाई अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको सार्थक, सशक्त र सक्रिय सहभागिता गराउने विषयलाई उच्च प्राथमिकता दिएको छ । भविष्यमा खेलकुद क्षेत्रबाट लाभको प्रभावकारी उपयोग हुन सक्ने वातावरण तयार गर्नुपर्ने देखिएको छ । खेल क्षेत्र पनि केन्द्रीकृतरूपमा नै सञ्चालन भएका छन् ।
गाउँ गाउँमा खेलकुद न्यून रूपमा सञ्चालन हुने हुँदा युवाहरूले उपयुक्त अवसर पाउनबाट वञ्चित हुनु परेको छ । खेलकुद क्षेत्रमा भएका कमीकमजोरी स्वीकार गरी यो पेसालाई मर्यादित, व्यवस्थित र परिणाममुखी बनाउन सबै सरोकारवाला पक्षहरू दृढरूपमा जागृत हुनुपर्छ । खेलको मर्मअनुसार योग्यता, क्षमता, सीप र घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडी छनोट गर्नु आवश्यक छ । छनोट प्रक्रियाको एक निश्चित मापदण्ड वा कार्यविधि बनाएर छनोट गर्न सकेमा राम्रा खेलाडीले स्थान पाउनेमा विश्वास गर्न सकिन्छ । नेपालमा विश्वसामु प्रतिस्पर्धी बनाउन खेलकुद क्षेत्रको विकासमा नयाँ युगको सुरुवात भएको उद्घोष गर्नु अपरिहार्य छ । नेपाली समाजमा खेल क्षेत्रमा लाग्नु भनेको भविष्य अन्यौलता पार्ने काम हो भन्ने भाष्य सिर्जना भएको छ । त्यस्तो गलत सूचना र बुझाइले गर्दा कतिपय खेलाडी एवं खेल क्षेत्रमा आकर्षण भएका युवाहरूलाई नैराश्य सिर्जना पनि भएको छ ।
खेल प्रतियोगिताहरूमा पुरुष प्रतियोगिता बढी भएको पाइन्छ भने महिला खेल प्रतियोगिता प्राय हुने गरेको पाइँदैन । एकातर्फ खेलाडी विदेश पलायनको समस्या ज्युँका त्युँ छ । नेपालमा पर्याप्त मात्रमा खेलकुद प्रतियोगिता नहुने र खेलेर मात्रै पेट र परिवार पाल्न नसकिने अवस्थामा खेलाडीहरू रहेका छन् । खेलकुद क्षेत्रमा अनुशासनको कमी देखिन्छ । खेल प्रतियोगितामा द्विअर्थी शब्दको प्रयोग गर्ने, महिला खेलाडीमाथि यौनर्दुव्यवहार तथा यौन शोषण गर्ने जस्ता गैरकानूनी गतिविधि अझै देखा परिरहेको पाइन्छ । पर्याप्त पारिश्रमिकको व्यवस्था नगर्ने, खेलाडी पुरस्कार, भत्ता, पोषण, जर्सी, बुट, जुत्तालगायतका सामग्रीको खरिद प्रक्रियामा स्वार्थ समूह हाबी हुने र त्यसमाथि अनियमितता गर्ने प्रवृत्ति छ ।
खेलकुद क्षेत्रको व्यवसायीकरण, विशिष्टीकरण तथा विविधीकरण गर्नु अपरिहार्य छ । खेलकुद क्षेत्रका तालुक निकाय, संघ संस्थाको वर्गीकरण, व्यवसायीकरण क्षमताको विकास र संस्थागत सुशासन कायम गरी खेल प्रतियोगिताहरूलाई परिणाममुखी बनाउनु औचित्यपूर्ण हुन्छ । जीर्ण भएका रंगशाला, कभडहल तथा खेल मैदानहरूको मर्मत सम्भार र नयाँ अत्याधुनिक सुविधा सम्पन्न रंगशालाको विकास गर्न अति आवश्यक छ । डोपिङ सम्बन्धी प्राप्त जानकारीको अभाव अझै पनि नेपालमा कायम छ । तसर्थ, खेलकुदमा प्रतिबन्धित औषधि सेवनविरुद्धको कार्यलाई डोपिङ टेस्ट गरी कारबाही गर्नु पर्दछ । खेलाडीको जीविकोपार्जन, स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षाको समुचित व्यवस्था गरी खेलाडीको जीवन सुनिश्चित गर्नुपर्दछ । तिनै तहका सरकारबाट आवश्यकताअनुसारको बजेट खेलकुदमा विनियोजन गर्नुपर्दछ ।
मनोरञ्जनात्मक र परम्परागत खेलको संरक्षण र प्रवद्र्धन तथा साहसिक र पर्वतीय खेलको व्यवस्थापन र विस्तार गर्न सके देशमा खेलसँगै पर्यटनका गतिविधि बढ्नेमा विश्वास गर्न सकिन्छ । खेल विज्ञानलाई विद्यालय तथा विश्वविद्यालयमा अनिवार्य रूपमा अध्ययन अध्यापन र पाठ्यक्रम लागु गर्न सके भोलिका दिनमा खेलकुद क्षेत्रले निकै ठूलो फड्को मार्ने छ । प्रशिक्षण र प्रतियोगिताहरूलाई समय तालिका अनुरूप निरन्तरता दिन सिके खेलाडीको सीप र क्षमता अभिवृद्धि हुनसक्छ भने खेलाडी खेलप्रति उत्प्रेरित हुन सक्छन् । राष्ट्रको गौरव बढाउन योगदान पुर्याउने खेलाडी, प्रशिक्षकलाई समय समयमा तालिम र प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन हुनु आवश्यक छ । नेपाली खेलकुद राष्ट्र पहिचानका साथै, एक चिनारी रहेको हुँदा यस क्षेत्रको विकास, विस्तार र सुधारमा सरोकारवाला पक्षको ध्यान जान जरुरी छ ।