काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए । बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ । पोलिटब्युरो बैठक ११ः०० बजे बस्ने कार्यसूची छ ।
पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले एउटा सदस्य तथा अर्काे सङ्गठित सदस्य भएको बताए ।
यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।