–ईश्वर बुढाथोकी
राजनीति भनेको केवल सत्ता र शक्ति प्राप्तिको साधन मात्र होइन, यो जनसेवा, निष्ठा, आदर्श र उच्च मानवीय मूल्यहरूमा आधारित अभ्यास पनि हो भन्ने मान्यता विश्वभर फैलिएको छ । तर, नेपाली सन्दर्भमा राजनीतिमा नैतिकताको अवस्था निकै कमजोर र चिन्ताजनक देखिन्छ । यहाँ राजनीति जिम्मेवारीको माध्यम बन्नुको सट्टा शक्तिको केन्द्र बन्न पुग्दछ । सिद्धान्त, विचार, आदर्श र जनहितका नाराहरू केवल चुनावी अस्त्र बनेका छन्, व्यवहारमा तिनको छायासम्म पनि देखिँदैन । राजनीतिको मूल आत्मा हुनुपर्ने नैतिकता, आज अवसरवाद, भ्रष्टाचार, आडम्बर र बेइमानीको छायामा हराउँदै गएको छ ।
नेपालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाभएपछि राजनीतिक दलहरूले जनताका लागि काम गर्ने, लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाए । तर, यथार्थमा ती प्रतिबद्धताहरू घोषणामा मात्र सीमित रहे । गणतन्त्रको स्थापनापछि जनतामा अझै ठूला आशा पलाएका थिए । सोचेका थिए कि अब दलहरू जनउत्तरदायी, पारदर्शी र नैतिक हुनेछन् । तर, उल्टै सत्ता प्राप्ति, भागबन्डा, सिन्डिकेट, आन्तरिक गुटबन्दी र व्यक्तिगत स्वार्थको खेल बढ्यो । जनता झन् निराश भए, राजनीति प्रति वितृष्णा फैलियो ।
नेपाली राजनीतिमा नैतिकता अभावका केही प्रमुख संकेतहरू छन् । पहिलो, चुनावका बेला नेताहरूले जनतालाई सपना देखाउँछन् – समृद्धिको, रोजगारको, शिक्षा र स्वास्थ्यको पहुँचको, तर चुनाव जितेपछि तिनले ती वाचा पूरा गर्नेतर्फ कुनै जिम्मेवारी लिने परिपाटी छैन । वाचा विपरीत काम गर्दा पनि कुनै लाज, डर वा संकोच देखिन्न । दोस्रो, अनेक घोटालाहरू – चाहे त्यो बालुवाटारको जग्गा काण्ड होस्, ओम्नी काण्ड होस्, सुन तस्करी, सवारी साधन खरिद वा कोरोना परीक्षण र औषधी खरिद – यसले देखाउँछ कि सत्तामा पुग्ने बित्तिकै नेताहरू नैतिकताको सिमाना तोड्न तत्पर हुन्छन् । यस्ता घटनामा संलग्न नेताहरू कानुनी सजाय त परै जाओस्, पार्टीभित्र समेत प्रश्नको घेरामा पर्दैनन् ।
राजनीतिक दलभित्र अनुशासन र आन्तरिक लोकतन्त्रको अभाव नैतिक पतनको अर्को कारण हो । नेताहरूले आलोचना स्वीकार गर्दैनन्, न त आफूलाई सुधार्ने प्रयास गर्छन् । जो आलोचना गर्छ, ऊ गद्दार ठहरिन्छ । यस्तो वातावरणमा स्वस्थ राजनीतिक अभ्यास सम्भव हुँदैन । नयाँ पुस्ताका नेताहरू पनि पुराना अनुशासनहीन र नैतिक विहीन अभ्यासकै अनुकरण गर्दै बढिरहेका छन् । यसले राजनीतिलाई पवित्र अभ्यासबाट विचलित गरिदिएको छ ।
लोकतन्त्रमा जनप्रतिनिधि जनताको विश्वासपात्र हुनुपर्ने हो । तर, नेपालमा त्यस्ता प्रतिनिधि पटक–पटक दल बदल गर्ने, सिद्धान्तभन्दा सत्तालाई रोज्ने, अयोग्य, तर शक्तिशाली नेताको चाकरी गर्नेजस्ता प्रवृत्तिमा रमाउँछन् । विचारभन्दा व्यक्तिको पछाडि लाग्ने प्रवृत्तिले राजनीतिक संस्कार बिग्रिएको छ । राजनीतिक दलको मूल मूल्य र विचार हराउँदै जानु, अस्थिर गठबन्धन र आफ्नै भनाइको विरोधमा उभिनु नैतिक विचलन हो ।
राजनीतिक नियुक्तिमा पनि नैतिकताको ह्रास छर्लङ्ग देखिन्छ । योग्यता र दक्षताको सट्टा आफ्ना नजिकका कार्यकर्तालाई प्रमुख पदमा नियुक्त गर्ने, राज्यका संस्थाहरूमा आसेपासे भर्ना गर्ने चलन सामान्य भइसकेको छ । यसले जनताको विश्वास खोसिएको छ र राज्यको संयन्त्र कमजोर भएको छ । दलहरूको स्वार्थपूर्ति गर्ने साधन बनेका छन् नियामक निकायहरू, आयोगहरू र प्रशासनिक संरचनाहरू । जब राज्य नै पक्षपाती र अक्षम बनाइन्छ, तब राजनीति प्रति नै मानिसमा वितृष्णा आउँछ ।
नैतिकताको कमजोर अवस्थाको अर्को लक्षण भनेको सार्वजनिक जीवनमा पारदर्शिताको अभाव हो । नेताहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने नाममा झूटो विवरण बुझाउने, विदेशी यात्रा र तिनको खर्च सार्वजनिक नगर्ने, आन्तरिक पार्टी निर्णयहरू गुपचुप राख्नेजस्ता कार्यले जनतालाई अन्धकारमा राखिन्छ । जब जनताले जनप्रतिनिधिको कार्यशैली बुझ्न सक्दैनन्, तब लोकतन्त्रको आत्मा मर्छ । यही मरेको आत्मा हो – जुन आज नेपाली राजनीतिमा देखिन्छ ।
राजनीति एउटा यस्तो क्षेत्र हो, जसले समाजमा आदर्श प्रस्तुत गर्नुपर्छ । शिक्षकजस्तै, राजनीतिज्ञले पनि आचरणले जनतालाई शिक्षा दिनुपर्छ । तर, जब राजनीतिज्ञ नै भ्रष्ट, कपटी, असंवेदनशील र आत्म केन्द्रित देखिन्छ, तब समाजमा निराशा फैलिन्छ । जब नेताले झूट बोल्न, वाचा उल्लंघन गर्न, अपशब्द प्रयोग गर्न लाज मान्दैनन्; जब संसद् जस्तो गरिमामय थलो गालीगलौज र शक्ति प्रदर्शनको केन्द्र बनाइन्छ, तब त्यसले नैतिक क्षरणलाई संस्थागत बनाउँछ ।
यस्तो अवस्थामा हामीले के गर्न सक्छौँ ? समाज र जनताको चेतना नै आजको प्रमुख आधार हो । राजनीतिमा नैतिकता फर्काउने जिम्मा अब सचेत नागरिक, शिक्षित युवा र स्वच्छ सामाजिक अभियानहरूको काँधमा आएको छ । दलहरूको काम नियाल्ने, गलत कदमको प्रतिवाद गर्ने, सही अभ्यासलाई प्रोत्साहन गर्ने कार्यले मात्र राजनीति शुद्ध गर्न सकिन्छ । विद्यार्थी, पत्रकार, नागरिक समाज र स्वतन्त्र बौद्धिक वर्गले राजनीति प्रतिको मौनता तोड्नै पर्छ । प्रश्न सोध्न, जवाफ माग्न र विकृत अभ्यासको विरोध गर्न डराउनु हुँदैन ।
अर्को महत्वपूर्ण कुरा, राजनीतिक दलहरूभित्र सुधार अभियान सुरु हुनु आवश्यक छ । हरेक दलले आफ्नो कार्यशैली पुनरावलोकन गर्नुपर्छ – के हामी सिद्धान्तमा हिँडिरहेका छौँ, कि केवल सत्ता प्राप्तिमा रमाइरहेका छौँ ? अनुशासनको कडाइ, भ्रष्टाचारमा शून्य सहनशीलता, जनतासँग साक्षात्कार गर्ने अभ्यास, सम्पत्तिको पारदर्शिता, गुटभन्दा विचारप्रति निष्ठा – यस्ता कदमहरूबाट दलहरू सुध्रन सक्नेछन् । यदि राजनीतिक दलहरू स्वयं सचेत भएनन् भने जनता वैकल्पिक शक्ति खोज्न थाल्नेछन् र त्यो शक्ति परिपक्व नहुन पनि सक्छ – जसले झनै लोकतान्त्रिक संकट निम्त्याउनेछ ।
सञ्चारमाध्यमको भूमिका पनि उल्लेखनीय छ । राजनीतिमा नैतिक मूल्यहरू प्रवर्द्धन गर्न सञ्चारले जनतालाई सूचना दिन, नेताको परीक्षण गर्न र चेतना फैलाउन सहयोग गर्नुपर्छ । तर जब सञ्चार पनि पक्षपाती र स्वार्थी हुन्छ, तब नागरिकमा भ्रम फैलिन्छ । त्यसैले स्वतन्त्र, तथ्यमा आधारित र नैतिक पत्रकारिताको अभ्यास हुनुपर्छ ।
शिक्षाको भूमिकालाई पनि नजरअन्दाज गर्न सकिन्न । विद्यालयदेखि विश्वविद्यालयसम्म राजनीति केवल चुनाव वा दलको चर्चा होइन, आदर्श, जनसेवा, निष्ठा, उत्तरदायित्व, मानव अधिकार र सुशासनका कुरा पढाइनु आवश्यक छ । राजनीति केवल नेताहरूको कुरा होइन, हरेक नागरिकको सरोकार हो भन्ने चेतना शिक्षाबाट फैलाउन सकिन्छ ।
राजनीतिमा नैतिकता भनेको केवल नेताको निजी गुण होइन, यो समग्र लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो । जब नैतिकता गुम्छ, तब राजनीति अपराधीककरणतर्फ जान्छ, विश्वास गुम्छ, सामाजिक संरचना भत्किन्छ र लोकतन्त्र खाली नाम मात्रको बन्छ । नेपालमा यस्ता संकटका लक्षण देखिइसकेको छ, अब सुधार नगरे घातक परिणाम आउन सक्छन् ।
त्यसैले आजको आवश्यकता स्पष्ट छ – राजनीतिलाई पुनः निष्ठा, सत्य निष्ठा, पारदर्शिता र जनप्रतिनिधित्वको आत्मामा फर्काउनु । यो सहज छैन, तर असम्भव पनि होइन । जब नागरिक जागरूक हुन्छ, जब युवा पीढी नैतिक नेताहरू रोज्छन्, जब दलभित्र सुधारको आवाज उठ्छ, तब नेपाली राजनीतिमा नैतिकताको सूर्य फेरि उदाउन सक्छ । यही आशामा हामी सबैले प्रयास गर्नुपर्छ – किनभने देश केवल योजनाबाट होइन, आदर्श र आचरणबाट बन्छ ।