–डी.आर.राई
हामी बाँचिरहेको युग वा संसार एउटा स्वतन्त्र जेल हो । बिहान उठेदेखि रातमा ननिदाएसम्म कुनै न कुनै नियममा बाँधिएका हुन्छौ भने निदाएको जीवनले मात्र कुनै नियम पालना गर्दैन, बरु स्वतन्त्र भएर अर्कै लोकमा विचरण गर्दछ । जहाँ नभतिरको भ्रमणमा रमाउने, हराउने मात्र होइन, कुनै प्रेतात्मासँग प्रेम र बिछोड, दुःख र सुखको विनिमय गर्न सक्दछ । तर, त्यो अनुभव प्रत्यक्ष नभोगे पनि स्वैरकल्पनाका अनेक रंगहरूले साहित्यमा पोतेर तिलस्मी ग्रन्थहरू जन्माउने गरेको पाइन्छ । त्यसैको मेलोमा एउटा यस्तो साहित्यकारको उदय भएको छ, जसको नाम हो राजबाबु श्रेष्ठ सागर । जसले यसअघि गीत सङ्ग्रहलगायत ४ वटा कृतिहरू पस्किसकेका छन् भने ‘फिर्दोसको साँचो’ उनको नयाँ कथा कृति हो ।
मानिसको आत्मा मृत्युपछि पनि घुमिरहन्छ भन्ने सत्य हो या होइन, तर मरिसकेको लाटीको आत्माले अलिखित कथाका हरफहरूमा घुमाइरहन्छ रमणलाई । जेठा नेवारले आत्महत्या गरेको विषयबाट उठान भएको कथाले कौतुहलताको भारी बोकाउँछ । जीवित हुँदा लाटीले गरेका, भोगेका कथा–कहानीलाई आत्मामार्फत विस्तार गरेका छन् लेखकले । लाटाको माया जालमा परेकी लाटीले परिवारको दबाबमा पाठेघर फालेपछि गाउँको सुब्बाले मकैवारिमा बलात्कार गरेर सोझासाझाबाट कसरी फाइदा लिन्छन् र दबाइन्छ भन्ने यौन दुव्र्यवहारको विषयलाई कथामा उतारिएको छ । छोरी लाटी भए पनि उनको यौवन लाटो थिएन । चमचमाउँदो लाटी छोरीमाथि आफ्नै बुवाले पनि अनैतिक सम्बन्ध राखेपछि बुवा आफै पश्चतापले जल्दै गएपछि छोरीलाई घाँटी थिचेर मारे भने आफू पनि आत्महत्या गरेको घटनाले आङ सिरिङ्ग हुन्छ । रक्षक नै भक्षक भएको कथानक प्रसङ्गले घरभित्रै असुरक्षित छोरीहरूलाई सुरक्षा कहाँ र कसले देला, प्रश्न तेर्सिन्छ । नारी बिनाको संसार कल्पना पनि गर्न नसक्ने लेखक राजबाबुले सोझो निरीह नारीमाथि भएको अन्याय, अत्याचार र यौन हिंसाविरूद्धको विद्रोही आवाज ओकलेका छन् । बिना कारण कसैले आत्महत्या गर्दैन, त्यसको पछाडि रहस्य लुकेको हुन्छ भन्ने खोज अनुसन्धान पनि हो, ‘अलिखित कथा’ ।
कुनै पनि कथा लेख्ने क्रममा कतिपय विषयवस्तु भेटिने, छुटिने भइरहन्छ, तर देखेका र भोगिआएका घटनालाई फरक ढंगले प्रस्तुत गर्नु लेखन शैलीको अर्को विशेषता हो । जो राजुबाबु श्रेष्ठ सागरले दलित पात्रलाई सम्भ्रान्त र आर्यलाई हली गोठालोको भूमिकामा चित्रण गरी ‘निर्जला’ शीर्षकलाई उपयुक्त स्थान दिएर दरिलो बनाएको छ । हरि कङ्गाल बाहुन, त्यो पनि हली अनि मालिकको छोरी कामिनीसँगको मिठो प्रसङ्गले पाठकको ध्यान खिच्नु लेखकीय गुण हो । दीक्षाले सोध्छिन्, ‘म हरुवाको छोरी हो रे, हो मम्मी ?’ राहुल र दीक्षाको बाल सुलभ मन र संवादहरूमा बाल मनोविज्ञानले उठाएका जिज्ञासा र घटनाहरूले व्यापक परिवर्तन खोजेको देखिन्छ । यौन तृप्तिको लागि जात नदेख्ने तर बोलेको, खेलेकोमा उपाद्घिनी बजैको पुरातन सोचले शान्त परिवारमा भाँडभैलो ल्याउँछ । जमिनदार तर दलित फूलमायाको विवाह हरुवासँग गराएर लेखकले नयाँ स्वाद पस्केको छ ।
‘तिर्खा’ शीर्षकले महोत्तरी जिल्लाको एउटा मुकाम देहातको परिवेशमा पु¥याउँछ र एक जोडी प्रेमको उदय गराउँछ । तर, फुल्न नपाई समाजले निमोठेर कच्याककुचुक पारेको कथानक प्रसङ्गले अशोक र तृप्तिको पक्षमा उभिन मन लाग्छ । स्कुल पढ्दै गर्दा थाहै नपाई माया बसेपछि सम्बन्ध रहन थाल्छ । समाजले त्यो सुन्दर जोडीलाई छुट्टाउँछ । जसबाट वर्गीय विभेद र उमेरको कारण देखाई विवाह गर्नुबाट टाढा राखेको वियोगात्मक कहानीले हक, अधिकार र आत्मसम्मानको विषयलाई उठाएको छ । हाटबजारको, पिपलबोट र चौतारोको विद्यार्थी जीवनको, कामवासना र परिवार भाँडिएको प्रसङ्गहरू जोडेर कथाकारले बिरक्तिएको पागल अशोकलाई चौलिखा हाटबजारको पिपलबोटमा उभ्याउँछ र प्रेमको भिक्षा माग्न लाएर तिर्खा मेटेको मार्मिक प्रस्तुतिले प्रेम के हो ? भन्ने ज्वलन्त उदाहरण दिएको छ ।
‘हिजकिल’ एउटा अदृश्य शक्ति, जसलाई कथाकारले कोरोना महामारीको विषयवस्तु बनाएर कथामार्फत जिबाले श्रीमद्भागवत महापुराण पढेर नातिनीको प्रश्नको उत्तर दिँदै कोरोनाबाट बच्ने उपाय, रोकथाम र संयमता अपनाउने बारे जानकारी गराउँदै अर्ती उपदेश दिएको लेखन शैली उत्प्रेरणाका स्रोत हुन् । कुरान र श्रीमद्भागवत महापुराणजस्ता धार्मिक ग्रन्थहरूको सम्मिश्रण र स्वैरकल्पनाको उच्चतम प्रयोगले कथासङ्ग्रह शक्तिशाली बनेको छ । हजरत हिजकिलको दैविक शक्तिले लासहरू उठाएर जिउँदो बनाएको कथाले नातिनीलाई मात्र होइन पढ्नेलाई पनि झसङ्ग पार्छ । महामारी रोग आइलागेमा निडर भएर आत्मबल दरिलो बनाउनुपर्छ भन्ने जानकारीमूलक कथाले २०७७ सालको कोरोना महामारीको झल्को दिन्छ ।
‘हिदायत’मा युसुफ खानको सुन्दरी छोरी सायरा, फकिर र राकेशको कथा चाखलाग्दो छ । कथाकार राजबाबु कल्पनामा कतिसम्म उड्न सकेको होला भन्ने यो हिदायत शीर्षक पढेपछि थाहा हुन्छ । राकेश पात्रले सपनामा भेटेको कुरान पढेपछि के गर्दैन होला र ! राकेशले बलशाली बदमास जाकिरा घोडालाई काबुमा ल्याई आफ्नो शक्ति प्रदर्शन गरेर सायराको मन जित्छ । राकेश विधिपूर्वक इस्लाम भएपछि राकेशको नाम हिदायत खान हुन्छ र सायरासँग विवाह गर्छ । उनीहरूको तीन छोरी हुँदा पनि बाँच्न नसक्नुको कारण हारूदले पत्ता लगाउँछ र राकेशको पूर्व प्रेमीका सदिच्छाको मृत्यु गराएपछि मात्र सायरा र हिदायतबाट स्वास्थ्य छोराको जन्म भएको कल्पनाको खेलभित्र इस्लाम होस् या अरू कुनै धर्म, तर विवाहले धर्म र मानव जीवनलाई फराकिलो बनाएको पाइन्छ । रहस्यमय मृत्यु वा टुनामुनाको जाल बुनेर हिदायत र सायरालाई जोडेको सुन्दर प्रस्तुतीकरणले संसारमा स्त्री र पुरुष दुई जात मात्र हुने लेखकको विचारले वसुधैव कुटुम्बकम्को भावनालाई जोड्न खोजेको देखिन्छ ।
‘खामभित्रको चिठीमा अधुरो जीवन’मा शारीरिक दुर्बलता, त्याग र समर्पण भेटिन्छ भने गाउँको किसानी जमिनदार र्वाले माइलाले घरजग्गा छाड्नुको कारण सन्तानको अभावलाई देखाइएको छ । आफ्नै कारणले उजाड भएको घरलाई छाडेपछि चक्रे र माइलीबाट छोरा नाति नातिनीको आगमन हुन्छ । त्यसपछि घर आँगन ढाकेको र खुसीयाली छाएको देखिन्छ । श्रीमान् बेपत्ता भए पनि पहिलो सिन्दूरको कदर गर्दै माइलाको नाममा मन्दिर निर्माण गरिदिनु श्रीमती माइलीलाई उदार नारी पात्राको रूपमा देखाइएको छ । जन्मँदा नै सृष्टिकर्ताले सन्तान विहीन बनाएको माइलाको कुनै उपाय नलागेपछि भएको जग्गाजमिन, श्रीमती पूर्णिमाको नाममा सारेर सहयोगी चक्रेसँगको भविष्य उज्ज्वल बनोस् भन्ने सोचले सकारात्मक सन्देश प्रवाह गरेको छ भने महिलाहरू परपुरुषसँग यौन चाहना मेटाउन मात्र होइन, वंश धान्ने सृष्टिकर्ता पनि भएको ‘फिर्दोसको साँचो’ले पुष्टि गरेको छ ।
‘दागबत्ती’ झर्झराउँदो, मग्मगाउँदो फूलसरी फक्रिरहेको उमेरमा विवाह गरेपछि धेरै समयसम्म फूलसँग खेल्न नपाउँदाको दुर्लभ छटपटीलाई कथाकारले मिहिन ढंगले उनेको देखिन्छ । दाम्पत्य जीवनको मिठा पलहरूमा विक्रम पात्रलाई एक्कै चोटि बज्रपात पर्छ । विक्रमको श्रीमती झरना बिरामी परेर अत्यन्तै पीडा हुँदा सहन नसकेर बरु घाँटी थिचेर मारिदेऊ भनेको वाक्यले मलाई पनि ऐँठन परेजस्तो भयो । एउटा पारिवारिक घटनाक्रमलाई कथालयमा उतारेको भए पनि ३ सन्तान दिएर संसार छाडेकी झरनालाई उपचार गर्दा होस् या उनीसँगको सामिप्यताको सम्झनामा लेखक खूब डुबेको प्रतीत हुन्छ । डा. काफ्लेले दिएको सल्लाह, उपचार विधि सबै अपनाइएका, भएसम्मको सम्पत्ति प्रयोग गरेको, २६ वर्षकी श्रीमतीको अधुरा सपना, झरनाकी आमाले मलामीमाझ छोरीप्रति देखाएको प्यारले जोकोहीलाई मर्माहत बनाउने लेखन शिल्प बेजोड छ । जीवनले भर्खर पालुवा फेरेर मौलाउँदै गर्दा फ्याट्ट जीवन संगिनीबाट एक्लिनु र जीवन भाँचिनुको असह्य पीडालाई कथाकारले दागबत्ती दिएर कर्तव्य पूरा गर्दै पूर्व स्मृतिको जीवनलाई नजिक ल्याउने कोसिस गरेको भेटिन्छ ।
‘हर्षवर्धन र महर्षि’ रूपा र कुरूपा अनि हाबिल र काबिल सन्तानहरूको जन्म र मृत्यु । पाप र धर्म, पृथ्वी र आकाश । ७० हजार फेरिस्तहरूको कहानी । उर्वशी, हर्षवर्धन र महर्षिका स्वैरकल्पनाले भरिएको प्रस्तुतिले कता कता पु¥याएर छुट्टै आनन्द दिलाउँछ ।
‘ओभर स्पिड’ यो अङ्ग्रेजी शीर्षकले के भन्न खोजेको होला भन्ने लाग्छ, तर आफ्नो ज्यानको जहिल्यै ख्याल गर्नु, जोखिम नमोल्नु भन्ने पाठ सिकाउँछ भने बोल्दा, हिँड्दा होस् या गाडी चलाउँदा होसियारी हुनु र अरूलाई पनि सचेत गराउने जानकारीमूलक सन्देश पात्र राकेशमार्फत दिएको छ । लेखकले गुणस्तरवाला हेलमेटको विज्ञापन गर्दै ठाउँअनुसारको सडकमा दिएको सूचना र ट्राफिक नियमको पालना गर्नुपर्ने कुरालाई जोडदार उठाएको छ । सवारी साधन चलाउँदा हुनसक्ने घटना, दुर्घटनालाई विषयवस्तु बनाएर लेखिएको ‘अभर स्पिड’ कथाले सचेतना जगाउने शिक्षाप्रद खुराक पस्केको छ ।
कथा सङ्ग्रहभित्र १० ओटा कथाले फरक–फरक सन्देश बोकेर उभिएका छन् । प्रस्तुतीकरणमा फरकपन देखिए पनि कथाले मागेअनुसारको आयातित नामहरूले अल्झाउन खोज्छ, तर पनि प्रत्येक कथाको सारतत्व के होला ? भन्ने जिज्ञासाले तानिरहनु लेखकीय सौन्दर्य हो । विषयवस्तु विस्तारको क्रममा उतार–चढाव आउँदा पनि कथागत संरचनालाई लयमा फर्काउने कथाकारको वक्रोक्ति शैली बलियो लाग्यो । वाक्य गठन र भाषा विन्यासमा हल्का ख्याल गर्नुपर्ने देखिए पनि कामवासनादेखि स्वैरकल्पनाको उडानसम्म, अनि गाउँ घरका घटनादेखि धार्मिक ग्रन्थहरूको गहिरो अध्ययनले राजबाबु श्रेष्ठ सागरको कथासङ्ग्रह ‘फिर्दोसको साँचो’ ओजिलो र पठनीय बनेको छ ।