– शम्भू पनेरु
माटोको मुहार चिन्छु म
घामको तापमा उब्जिन्छ मेरो पसिना
अन्नको बीउ जस्तै रोपिएको छु
तर, मेरो नाम छैन कुनै घोषणा—पत्रमा ।
बर्खाको प्रतीक्षा गर्दै
म आँखा गाड्छु आकाशतिर
राजनीतिक भाषण सुनिँदैन खेतको कानले
हिलोमा रुन थाल्छ मलिलो पीडा ।
उम्मेदवारहरू आउँछन्
चिउरा, चनासँग, हात हल्लाउँदै
म मुस्कुराउँछु
किनभने म जान्दछु—
बर्सेनि उस्तै छ झुटको बीउ
नतिजा उस्तै हुन्छ—
बाँझो सपना, रित्तो झोला ।
कहिले मेरी छोरीको किताब किनिदिन सक्दिन,
कहिले छोरो हिँड्छ सहरतिर
सपना बेच्न,
अनि म फर्कन्छु उही बारीमा
जहाँ हराएको छ मेरो भविष्य ।
म किसान हुँ,
म राष्ट्रको जरा हुँ भन्छन् कागजमा
तर जरा नै सुक्दैछ अब
किनकि पानी छैन
राजनीतिक आँखा ओभाएको छ ।
तर म त उस्तै छु—
जुन दिन ढल्छ, म फेरि रोप्छु
सपना, आस्था र अन्न ।।