२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

नेपालीको श्रम गन्तव्य परिवर्तनबारे मलेसियामा चासो

shivam cement
२०८२ साउन १० गते ०६:४५
नेपालीको श्रम गन्तव्य परिवर्तनबारे मलेसियामा चासो

काठमाडौं : पछिल्ला वर्षहरूमा नेपाली कामदारको श्रम गन्तव्यमा भएको परिवर्तनका समाचारलाई मलेसियाका सञ्चारमाध्यमहरूले चासो दिएका छन् । हालैका वर्षहरूमा जापान र पूर्वी युरोपेली देशहरू विदेशमा रोजगारी खोज्ने नेपालीहरूका लागि नयाँ आकर्षक गन्तव्यहरूको रूपमा देखा परेकोसम्बन्धी चिनियाँ सरकारी संस्था सिन्ह्वाको समाचारलाई मलेसियाली सञ्चारमाध्यमहरूले चासोपूर्वक सम्प्रेषण गरेका छन् ।

मलेसियामा नेपाली कामदार इन्डोनेसियालीपछि दोस्रो ठूलो समूह मानिन्छ । मलेसियामा हाल ४ लाख नेपाली कामदारहरू कार्यरत छन् । कोरोना महामारीअघि उक्त संख्या करिब ७ लाख हाराहारीमा थियो । अधिकांश उत्पादन क्षेत्रमा काम गर्ने नेपाली कामदारहरूमध्ये केही सेवा, कृषि, निर्माण र अन्य क्षेत्रमा काम गर्छन् । करार अवधि सकिनासाथ घर फर्किने नेपाली मलेसियामा अनुशासित र मिहिनेती विदेशी मानिन्छन् ।

छिमेकी भारत नेपालीहरूका लागि परम्परागत ठूलो श्रम गन्तव्य रहँदै आएकोमा त्यसमा परिवर्तन भएर पछिल्ला दुई दशकमा खाडी राष्ट्रहरू र मलेसिया नेपाली आप्रवासी कामदारहरूका लागि प्रमुख गन्तव्य बनेको थियो । तर हाल ती गन्तव्यहरू समेत परिवर्तन भएर जापान र पूर्वी युरोपेली मुलुक नेपालीका मुख्य गन्तव्य हुन थालेको मलेसियाको दि स्टारले उल्लेख गरेको छ ।

‘जापान र केही पूर्वी युरोपेली देशहरूमा रोजगारीका लागि जाने नेपालीहरूको संख्या द्रुत गतिमा बढ्दै जाँदा यो प्रवृत्ति अब परिवर्तन हुँदै गएको देखिएको छ,’ नेपाल राष्ट्र बैंकको एक प्रतिवेदन उल्लेख गर्दै समाचारमा भनिएको छ ।

समाचारमा २०२४ को जुलाईको मध्यमा सुरु भएको चालु आर्थिक वर्ष २०२४–२५ को पहिलो १० महिनामा कामका लागि जापान जान सरकारी अनुमतिपत्र प्राप्त गर्ने नेपालीहरूको संख्या  लगभग दोब्बर वृद्धि भएर १५ हजार २४७ पुगेको समाचारमा उल्लेख छ ।

समाचारमा नेपाल र जापानले सन् २०१९ मा गरेको श्रम सम्झौताले औपचारिकरूपमा ‘निर्दिष्ट र दक्ष’ कामदारहरूलाई जापान जान बाटो खोलेको टिप्पणी छ ।

नेपालको वैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्रराज पौडेलले सिन्ह्वालाई भनेका छन्, ‘जनसांख्यिकीय कारणले जापानलाई विदेशी कामदारको आवश्यकता छ र हामीसँग खाडी राष्ट्रहरू र मलेसियाको तुलनामा तुलनात्मकरूपमा बढी कमाइका लागि त्यहाँ जान चाहने धेरै इच्छुक कामदारहरू छन् ।’

नेपाल राष्ट्र बैंकका अनुसार पूर्वी युरोपेली मुलुक रोमानिया नेपाली कामदारका लागि विकशित भएको अर्को नयाँ गन्तव्य हो । सन् २०२४–२५ को पहिलो १० महिनामा १८ हजार ७११ नेपालीलाई त्यहाँ जान श्रम स्वीकृति दिइएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा उक्त संख्या ८ हजार ८०२ थियो ।

‘मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया र कतार नेपाली आप्रवासी कामदारहरूका लागि शीर्ष गन्तव्य रहेकोमा अब गन्तव्यहरू परिवर्तन हुन थालेका छन्,’ समाचारमा भनिएको छ । समाचारमा उल्लेख भएझैं वैदेशिक रोजगार व्यवसायीले खाडी मुलुकबाट आउने डिमाण्डमा योग्यताअनुसारको जनशक्ति भेट्टाउन एक वर्षअघिको तुलनामा बढी मिहिनेत गर्नु परेको छ । तलब र सुविधाका अतिरिक्त बसाइँसराइका कारणले पनि पूर्वी युरोपेली मुलुकहरूलाई नेपालीले श्रम गन्तव्य बनाउने गरेको बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise