२०८२ साउन ९ गते शुक्रवार / Jul 25 , 2025 , Friday
२०८२ साउन ९ गते शुक्रवार
Ads

शहरमा प्रदूषणको चिन्ता

shivam cement
२०८२ साउन ८ गते ०६:००
शहरमा प्रदूषणको चिन्ता

–खगेन्द्र पौडेल

शहरीकरणको तीव्र गतिले मानव जीवनमा सहजता ल्याएको भए पनि यससँगै अनेकौँ समस्याहरू पनि थपिएका छन् । तीमध्ये एक प्रमुख समस्या हो— प्रदूषण । वायु, ध्वनि, पानी, माटोलगायतका प्रदूषणका कारण शहरमा बसोबास गर्ने मानिशहरूको स्वास्थ्य, जीवनशैली र समग्र वातावरणमा गम्भीर असर देखिन थालेको छ । हरेक वर्ष शहरमा जनसंख्या, सवारीसाधन, उद्योगधन्दा र भवन निर्माणको चाप बढ्दै जाँदा प्रदूषणको मात्रा झनै भयावह बन्ने क्रम रोकिएको छैन । यथार्थमा भन्ने हो भने, शहरको जीवनशैली सहज मात्र छैन, अब खतरासँग पनि गाँसिएको छ ।

वातावरणीय प्रदूषणको सर्वाधिक प्रभाव शहरको वायुमण्डलमा देखिन्छ । सवारीसाधन, निर्माण सामाग्रीको धुलो, फोहोरमैला र कारखानाबाट निस्कने धुवाँले शहरको हावा निरन्तर दूषित बनाइरहेको छ । अझ खुला क्षेत्रमा हरियाली अभाव हुनु र सडक किनारमा धूलो उड्ने अवस्थाले वायु गुणस्तर दिनप्रतिदिन खराब बनाइरहेको छ । काठमाडौं उपत्यका लगायतका प्रमुख शहरहरूमा वायुको गुणस्तर कतिपय दिनहरूमा जीवनका लागि नै घातक हुने तहमा पुग्छ । बच्चा, वृद्ध र दीर्घ रोगीहरू यस्ता अवस्थामा विशेष जोखिममा पर्छन् ।

शहरी प्रदूषणको अर्को रूप हो— ध्वनि प्रदूषण । ट्राफिकको होहल्ला, निर्माण कार्यको आवाज, विभिन्न कार्यक्रमहरूमा हुने अनावश्यक लाउडस्पिकरको प्रयोगले गर्दा शहरका बासिन्दा मानसिक तनाव, निद्राको समस्या, रक्तचाप र सुन्ने क्षमतामा ह«ास जस्ता असर भोगिरहेका छन् । सामान्यतया हामी आवाजलाई सामान्य ठान्ने गर्छौँ, तर जब यही आवाज दैनिक जीवनमा बाधक बन्छ, तब यसले हाम्रो मानसिक सन्तुलन र स्वास्थ्यमा गम्भीर असर पार्दछ ।

पानी प्रदूषण पनि शहरमा चिन्ताको विषय बनेको छ । उपयूक्त ढल व्यवस्थापनको अभाव, नाला नदी र खोला बगरहरूमा सिधै फोहोर फाल्ने प्रवृत्ति, औद्योगिक फोहोर व्यवस्थापनमा लापरबाही र रासायनिक पदार्थ मिसिएको पानी खोलामा मिसिने जस्ता कारणहरूले खानेपानीका स्रोतहरू पनि प्रदूषित बन्दै गएका छन् । यस्तो प्रदूषित पानीका कारण पानीजन्य रोगहरू जस्तै– झाडापखाला, टाइफाइड, हैजा आदि फैलने सम्भावना बढ्दो छ । विशेषगरी गरिब र झुपडी बस्तीहरूमा बसोबास गर्ने जनसंख्या प्रदूषित पानीको प्रत्यक्ष सिकार भइरहेका छन् ।

माटो प्रदूषण पनि शहरमा कम खतरनाक छैन । प्लास्टिकजन्य फोहोर, घरायसी र औद्योगिक फोहोर जमिनमा फाल्दा माटोको उर्वरता घट्छ, रसायनको अत्याधिक प्रयोगले भूमिगत पानी प्रदूषित हुन्छ । शहरका खुला जमिनहरू बिस्तारै फोहोर थुपार्ने स्थानमा परिणत हुँदा न त त्यहाँ खेती गर्न सकिन्छ, न त पार्क जस्ता सार्वजनिक संरचना बनाउने सम्भावना रहन्छ । यसले शहरलाई अझ निरस र अस्वस्थ बनाइरहेको छ ।

प्रदूषणको यो चक्रले मानवीय स्वास्थ्यमा मात्र नभई समग्र प्रकृति र जलवायुमा असर पारिरहेको छ । शहरको तापक्रम बर्षेनी बढ्दै जानु, वर्षा चक्रमा गडबडी, असमयमा बाढी र खडेरीजस्ता समस्याहरू पनि प्रदूषणकै परिणाम हुन् । थपमा, अत्यधिक कार्बन उत्सर्जनले जलवायु परिवर्तनलाई तीव्र पारिरहेको छ, जसको असर विश्वव्यापीरूपमै देखिन थालेको छ । शहरमा बढ्दो प्रदूषणले मानवीय जीवन झन् जटिल बनाइरहेको छ भने अर्कोतर्फ भावी पुस्ताको अस्तित्वसमेत संकटमा पारिरहेको छ ।

यस समस्याको समाधान सम्भव छ, तर त्यसका लागि सरकार, जनसाधारण र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य छ । सार्वजनिक सवारीको प्रवर्द्धन, विद्युत्तीय सवारीको प्रयोग, हरियाली विस्तार, प्रभावकारी फोहोर व्यवस्थापन, वातावरणमैत्री भवन निर्माण, जनचेतना अभिवृद्धि लगायतका उपायहरू अवलम्बन गर्नुपर्छ । विशेषगरी शहरमा योजना बिना हुने शहरी विकास रोक्न जरुरी छ । स्थानीय सरकारहरूलाई वातावरणीय दृष्टिकोणलाई प्राथमिकतामा राखेर नीति बनाउन र कार्यान्वयन गर्न प्रेरित गरिनुपर्छ ।

जनस्तरमा पनि वातावरणप्रति जिम्मेवार बन्ने बेला आएको छ । सवारी प्रयोगमा विवेक अपनाउने, फोहोर व्यवस्थापनमा सचेत हुने, प्लास्टिकको प्रयोग घटाउने र घरमा र छरछिमेकमा हरियाली विस्तार गर्ने जस्ता साना प्रयाशहरूले ठूलो परिवर्तन ल्याउन सक्छन् । बालबालिकामा सुरुदेखि नै वातावरणप्रेमी चेतना विकास गरिनुपर्छ, ताकि उनीहरूले भविष्यमा प्रदूषण कम गर्न अग्रसर भूमिका खेल्न सकुन् ।

शहरमा प्रदूषणको चिन्ता अब विकल्पको विषय होइन, अनिवार्य हस्तक्षेपको माग हो । हामी अहिले पनि सचेत नभए, प्रदूषणको यो भयावहता हाम्रो जीवनको आधारभूत अधिकार स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारबाट समेत वञ्चित गराउन सक्छ । शहर केवल भौतिक संरचनाको थुप्रो भएर मात्रै समृद्ध हुँदैन; स्वच्छ, सुरक्षित र जीवनमैत्री वातावरणले मात्र शहरलाई साँच्चिकै समुन्नत बनाउँछ । त्यसैले प्रदूषण नियन्त्रण अब हरेक नागरिकको सरोकार बन्नै पर्छ ।

ADV

सम्बन्धित खबर

Advertise