कतिफ, साउदी अरब : लोकगायिका सुनिता दुलालको प्रत्यक्ष प्रस्तुतिसहित साउदी अरबको पूर्वी शहर कतिफमा यस वर्षको हरितालिका तिज भव्यरूपमा मनाइने भएको छ । गौरावासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति पूर्वी क्षेत्रको आयोजनामा कार्यक्रम अगस्ट २९ अर्थात् भदौ १३ गते शुक्रबार हुने भएको हो ।
तिज विशेष सांगीतिक कार्यक्रममा गायिका दुलालले आफ्ना चर्चित तिज गीतहरूका साथै अन्य लोकधुनहरू प्रस्तुत गर्नेछिन् । नेपाली समुदायमा अत्यन्त लोकप्रिय दुलालको प्रस्तुति साउदीमा रहेका नेपालीहरूलाई स्वदेशको सांस्कृतिक माहोलको अनुभूति गराउने विश्वास आयोजकको छ ।
कार्यक्रममा साउदीमै रहेका स्थानीय नेपाली कलाकारहरूले पनि सांस्कृतिक प्रस्तुति दिने छन् । साथै, दर खाने, शुभकामना आदानप्रदान गर्ने र तिजको सांस्कृतिक महत्व झल्काउने विभिन्न कार्यक्रमहरू पनि समावेश गरिने आयोजकले जनाएको छ ।
सांगीतिक कार्यक्रम 'सुनिता दुलालको स्वरमा तिजको रौनक' नाम दिइएको छ । आयोजकका अनुसार, यो कार्यक्रमले साउदीको भूमिमा नेपाली सांस्कृतिक विविधता, एकता र नेपालीपनको झल्को दिनेछ ।
कार्यक्रमका लागि कुनै प्रवेश शुल्क नलाग्ने जनाइएको छ । बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने कार्यक्रममा साउदी अरबका विभिन्न क्षेत्रबाट नेपाली समुदाय, सामाजिक अभियन्ता, व्यवसायी, सञ्चारकर्मी, संघसंस्था तथा क्लबका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।