–चन्द्रबहादुर बस्याल
जलवायु सन्तुलन बिग्रँदै गएको यथार्थ आज विश्वकै लागि साझा चिन्ता बनेको छ । मौसम चक्रमा आएको परिवर्तन, तापक्रम वृद्धिका कारण हुने प्राकृतिक प्रकोपहरू अनि वातावरणीय अस्थिरता अब केवल चेतावनी मात्र होइन, भोगाइको विषय बनेको छ । नेपालजस्तो जैविक विविधता र भौगोलिक विषमताले भरिएको देशमा जलवायु असन्तुलनले अझ गहिरो असर पुर्याइरहेको छ । उत्तरमा अवस्थित हिमालमा रहेका हिमनदी तीव्र रूपमा पग्लँदै छन्, मध्यम भूभाग पहाडमा बाढी र पहिरोले वितण्डा मच्चाइरहेका छन् भने दक्षिणको समथर तराई भूभागमा पानीको चरम अभाव देखिन थालेको छ । यी सबै असर जलवायु परिवर्तनले ल्याएको असन्तुलनका प्रत्यक्ष उदाहरण हुन् ।
हिमाल क्षेत्रमा जलवायु परिवर्तनको प्रमुख प्रभाव हिमनदीहरूको ह्रासमा प्रस्ट देखिन्छ । नेपालमा रहेका प्रमुख हिमनदीहरू क्रमशः सुक्दै गइरहेका छन् । वैज्ञानिक अध्ययनअनुसार सन् १९७० यता नेपालका हिमनदीहरूको सतहमा उल्लेख्य घटबढ देखिएको छ । केही हिमताल फुट्ने जोखिममा छन्, जुन कुनै दिन गम्भीर बाढीको कारण बन्न सक्छ । उदाहरणका लागि, इम्जा तालको सतह तीव्र रूपमा बढिरहेको छ, जसका कारण त्यो क्षेत्रको तल्लो भू–भागमा ठूलो विनाश सम्भावित छ । जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिले यो गति झन् बढाएको छ । परिणामस्वरूप, यी हिमनदीहरूबाट निर्भर जलस्रोतहरूमा खडेरी आउन थालेको छ, जसले खेतीपातीदेखि खानेपानीसम्ममा असर पारिरहेको छ ।
पहाडी भूभागमा पनि यसको प्रभाव भिन्न छ तर त्यत्तिकै विनाशकारी । जलवायुमा आएको असन्तुलनले गर्दा वर्षामा ठूलो असन्तुलन छ । कुनै भागमा अधिक मात्रामा पानी पर्ने र कुनै भागमा पानी नपर्नेजस्ता घटना देखिन थालेका छन् । विशेषतः वर्षा सिजनमा अत्यधिक वर्षाले बाढी र पहिरोको जोखिम बढाएको छ । पछिल्ला केही दशकमा देखिएका बाढी तथा पहिरोका घटना यसको प्रत्यक्ष प्रमाण हुन् । पहाडी भेगका मानिस आजभोलि वर्षा सिजनलाई त्रासका रूपमा लिन थालेका छन् । घरको छाना भिज्ने डरभन्दा ठूलो समस्या अब भू–स्खलनको हो । सरकारी तथ्यांकअनुसार हरेक वर्ष सयौं मानिस पहिरोमा परी ज्यान गुमाउँछन्, हजारौं विस्थापित हुन्छन् अनि लाखौंको धनमाल नष्ट हुन्छ । यस्तो प्रकोप केवल पानीकै कारण होइन, त्यो पानी कसरी कहिले र कति खस्छ भन्ने कुराले निर्धारण गर्छ । जलवायु असन्तुलनले अब हरेक वर्ष देशको भौगोलिक स्वरूपसँगै आर्थिक स्थिति पनि ध्वस्त बनाउने खतरा बोकेको छ ।
सुदूरपश्चिमदेखि पूर्वसम्म फैलिएको तराई क्षेत्र भने अर्कै प्रकारको समस्यामा परेको छ । जहाँ सामान्यतयाः प्रशस्त भूमिगत पानी, वर्षा र नदीका कारण जल आपूर्ति सहज हुने गथ्र्यो तर अहिले त्यहाँ पानीको अभाव तीव्र बन्दै गएको छ । पछिल्लो समयको एक प्रमुख चिन्ता भनेको सिँचाइका लागि पर्याप्त पानीको उपलब्धता नहुनु हो । चुरे क्षेत्रको वृक्ष कटान, जमिनको अतिक्रमण, नदी मार्गको अवरोध अनि वर्षा चक्रको अस्थिरताले गर्दा तराईमा सुक्खा बढिरहेको छ । चैतदेखि जेठ महिनासम्म त अधिकांश स्थानहरूमा जमिन चर्किने, बाली सुक्ने र जनावरका लागि चरन क्षेत्र हराउने समस्या छ । किसानहरूले अन्न उत्पादन गर्न सक्ने समय सीमित हुँदै गएको छ । पानी नभएका कारण धान रोप्न समस्या, गहुँ उमार्न समय नपुग्ने अनि तरकारी सुक्ने अवस्था छ । भूमिगत पानी पनि झन् गहिरिँदै गएको छ, जसका कारण नल खोल्दा पानी नआउने, इनार सुक्ने र ट्युबेलबाट पानी तान्न अत्यधिक खर्च लाग्ने भएको छ । यी सबै असर जलवायुसँग जोडिएको संरचनात्मक समस्या हुन्, जसको समाधान तत्कालै सम्भव छैन ।
यस्तो अवस्थामा जनजीवनमा परेको असर केवल शारीरिक मात्र होइन, मानसिक पनि छ । पहाडका बासिन्दा वर्षामा बग्ने डरले त्रसित छन्, तराईका किसान पानी नपाएर हरेस खाइरहेका छन् अनि हिमाली क्षेत्रका बासिन्दा आफ्नो पुर्खौली हिमाल गायब हुँदै गएको पीडा भोगिरहेका छन् । यो केवल मौसममा आएको परिवर्तन मात्र होइन, संस्कृतिमा, जीवनशैलीमा, जीविकोपार्जनमा अनि सामूहिक अस्तित्वमा परेको गहिरो आघात हो । उदाहरणका लागि सोलुखुम्बुका शेर्पा समुदायका पुराना हिमपथ अब नदेखिने भएका छन्, त्यहाँका धार्मिक र सांस्कृतिक मान्यताका प्रतीक हिमशिखरको स्वरूप फेरिएको छ । चामल उत्पादनको भरमा रहेको तराईमा हरेक वर्ष सिँचाइका लागि पानी खोज्न हाहाकार हुने अवस्था छ । यता पहाडका किसानले बर्खे बाली नै लगाउन सकेका छैनन् ।
जलवायु असन्तुलनको असरले गर्दा खाद्य सुरक्षामा पनि गम्भीर खतरा उत्पन्न भएको छ । आकासे पानीको निर्भरता भएकाले नेपालको अधिकांश कृषि प्रणाली प्रभावित हुने गरेको छ । जब मौसममा गडबडी हुन्छ, त्यसको प्रत्यक्ष असर बाली उत्पादनमा पर्छ । खाद्य आपूर्ति घट्छ, बजारमा मूल्य बढ्छ अनि समाजमा असन्तोष बढ्छ । सरकारले बाहिरी देशबाट आयात गरेर खाद्य सुरक्षा कायम राख्न खोजे पनि त्यो दीर्घकालीन समाधान होइन । झनै, विदेशी आयातमा भर पर्नुभनेको स्वावलम्बन गुमाउनु हो, जुन सन् २०३० सम्मका दिगो विकास लक्ष्यसँग मेल खाँदैन ।
जलवायुसँग सम्बन्धित अर्को गम्भीर पक्ष भनेको वातावरणीय आप्रवासन हो । बाढी, सुख्खा र पानीको असहजतालाई सहन नसकी मानिस स्थान परिवर्तन गर्न बाध्य भइरहेका छन् । पहाडबाट तराई झर्ने, तराईबाट सहर पस्ने अनि सहरबाट विदेश जाने क्रम तीव्र भइरहेको छ । यसले ग्रामीण जनशक्तिको खडेरी त निम्त्याउँछ नै, साथै सांस्कृतिक विघटन पनि निम्त्याउँछ । त्यस्तै, जलवायु असन्तुलनका कारण रोगव्याधि पनि बढ्दै गएका छन् । लामखुट्टेको प्रकोप तराई मात्रै होइन, पहाड हुँदै हिमालसम्मै सरेको छ ।
यस समस्याको समाधान चाहिँ तत्कालीन राहतभन्दा दीर्घकालीन नीतिगत सुधारमा निहित छ । जलवायु अनुकूलनका कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । राष्ट्रियस्तरमा जलवायु नीति बनाइएका छन् तर ती कार्यान्वयनमा कमजोर छन् । उदाहरणका लागि, स्थानीय तहलाई जलवायु अनुकूलन कोष छुट्याइए पनि धेरैजसो ठाउँमा त्यो रकम सही ढंगले प्रयोग हुन सकेको छैन । अर्कोतर्फ, जनसहभागिता र जनचेतना अभिवृद्धि जरुरी छ । गाउँगाउँमा जलस्रोत संरक्षण, जंगलको संवर्धन, बाढी नियमन संयन्त्रजस्ता स्थानीय उपायलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ । विद्यालय तहबाटै जलवायुप्रति सचेतना ल्याउने खालका पाठ्यक्रम विकास गरिनुपर्छ । साथै, वैज्ञानिक अनुसन्धानमा लगानी बढाउनु पनि आवश्यक छ, ताकि मौसमसम्बन्धी पूर्वानुमान थप सटिक र समयमै हुन सकोस् ।
जलवायु असन्तुलनले ल्याएको चुनौती एक्लो देशले समाधान गर्न सक्ने विषय होइन, यो एक विश्वव्यापी समस्या हो । जसको समाधानका लागि अन्तर्राष्ट्रिय सहयोग र समन्वय अनिवार्य छ । जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोग्ने मुलुकमा नेपाल पनि पर्छ । त्यसैले, नेपालजस्ता मुलुकका लागि विशेष अनुदान, प्रविधि हस्तान्तरण अनि जलवायु न्यायको विषयमा विश्व समुदाय गम्भीर हुनुपर्छ । त्यसबेला मात्र जलवायु असन्तुलनको सन्तुलन फिर्ता ल्याउने दिशा पहिल्याउन सकिन्छ ।
नेपालको हरेक भू–भागले फरक किसिमको जलवायु चुनौती भोगिरहेको वर्तमान अवस्थामा एकीकृत दृष्टिकोणमा आधारित नीति आवश्यक छन् । हिमनदीको संरक्षण, पहाडमा बाढी रोक्ने पूर्वाधार, तराईमा पानीको दीर्घकालीन योजना, यी सबै सँगसँगै अगाडि बढ्नुपर्ने बेला भएको छ । जलवायुलाई नियाल्ने दृष्टिकोण अब मौसमको चासोमा सीमित रहन सक्दैन, यो अब जीवनको आधारभूत विषय बनिसकेको छ । यो संकट केवल सरकारको नीति वा विज्ञहरूको विषय होइन, हरेक नागरिकको सरोकार हो । हामी सबैको सजीव सहभागिताबिना यसको समाधान सम्भव छैन । जलवायु असन्तुलन अब भविष्यको खतरा होइन, वर्तमानको वास्तविकता हो, जसलाई बुझेर, स्वीकार गरेर, समाधान खोज्ने बेला यही हो ।