दोहा कतार : एनआरएनए एनसीसी कतारको एघारौँ एकता महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले राजदूतसँग भेटघाट गरेका छन् । एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा एनआरएनए आइसीसी सदस्य राजु डुम्रेसहित बुधबार दूतावास पुगेको समितिले कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेलसँग भेटघाट तथा छलफल गरेको हो ।
भेटघाटमा एनसीसीका तर्फबाट नवनिर्वाचित अध्यक्ष पन्थीले एनसीसीमा विभाजन जस्तै देखिएपनि आफूहरूले एकताको ढोका खुल्ला राखेको बताउँदै दूतावासले पनि सहकार्यको ढोका खुल्ला राख्न आग्रह गरे । पन्थीले विगतमा पनि दूतावाससँग आफूले सयौँ काम मिलेर गरेको हुँदा सामाजिक तथा कूटनीतिक सम्बन्धको ख्याल गर्न आग्रह गर्दै कतार सरकारमा नेपाली कम्युनिटी दर्ताका लागी दोस्रो पत्र प्रेषित गरिदिन संस्थागत अनुरोध गरे ।
भेटमा कतार च्यारीटीले नेपाली समुदायका लागि डिजिटल बक्स (श्रमिककोष)को व्यवस्था गरिदिन तयार रहेको हँुदा राजदूतावासले आवश्यक कागजी तथा कानुनी प्रक्रिया पुरा गरेर नेपाली श्रमिकको हितमा काम गर्ने वातावरण तयार पार्न आग्रह गरेका थिए ।
राजदूत पौडेलले नवनिर्वाचित समितिलाई शुभकामना दिँदै आफ्ना गतिविधिहरू निर्वाध रूपमा सञ्चालन गर्न सुझाव दिए । विभाजित एनसिसि प्रति लक्षित गर्दै संस्थागत रूपमा विभाजन भए पनि सामाजिक रूपमा विभाजन हुन नहुने धारणा राख्दै पौडेलले एनसीसीको विभाजन दुर्भाग्य पूर्ण रहेको बताए । एनसीसीले समाजलाई एकतातर्फ लैजाने गरेको तर अहिले आफै विखण्डनतिर गएको देख्दा समाज कतै साँघुरो बन्ने होइन त भन्ने चिन्ता आफूलाई लागेको उनको धारणा थियो ।
एनसीसीको फुटले कतारको अन्य संघसंस्था र एनसीसी एकैजस्तो देखिएको हुँदा दूतावास तटस्थ बस्न चाहेको राजदूत पौडेलले स्पष्ट पारे ।
भेटमा गएका एनसीसीका पदाधिकारीहरूले एकताको महाधिवेशनमा सहभागी हुन आएका पूर्वपरराष्ट्र मन्त्री प्रकाशशरण महतप्रति दूतावासले फरक व्यवहार गरेको भन्ने आरोपको खण्डन गर्दै नेपाली दूतावासमा भिसाको पहल गर्दिन कन्सुलर शाखाले पत्र पठाएको तर परराष्ट्रले कूटनीतिक पत्र लेखेर औपचारिक जानकारी नगराएको स्पष्ट पारे । उनले महतको बिदाइका लागि आफू स्वयं एयरपोर्ट पुगेको पनि बताए । छिट्टै एनसीसीमा एकता हुने विश्वास व्यक्त गर्दै राजदूतले नवनिर्वाचित कार्यसमितिलाई श्रमिकका पक्षमा काम गर्न आग्रह गर्दै शुभकामना दिएका थिए ।