
काठमाडौं : कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) मा कीर्तिमानी अविजित शतक प्रहार गरेपछि चितवन राइनोजले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो । मिशाराले ५३ बलमा अविजित १२० रन बनाए ।
सुरुवातमै कप्तान करण केसीले तेस्रो ओभरमा लगातार दुई बलमा देव खनाल (१७) र डेविड मलान (०) लाई आउट गरेपछि चितवन दबाबमा परेको थियो । पावरप्लेमा टोलीले २ विकेट गुमाएर ३४ रन मात्रै बनाएको थियो ।
तर जीवनदान पाएका मिशाराले कप्तान रवि बोपारासँग मिलेर उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। मिशाराले ३३ बलमा अर्धशतक पूरा गरेका थिए भने बोपाराले ४२ बलमा ५३ रन बनाए ।
मिशाराले १४औँ ओभरमा सोनु देवकोटालाई लगातार तीन छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ जारी राखे । उनले ५३ बलमै शतक पूरा गर्दै एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरको कीर्तिमान आफ्नो नाममा बनाए ।
यसअघि उक्त कीर्तिमान कर्णाली याक्सका मार्क वाटको नाममा थियो । उनले गत सिजन लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाएका थिए । मिशारा एनपीएलमा शतक प्रहार गर्ने पाँचौँ खेलाडीसमेत बनेका छन् ।
काठमान्डुका करण केसी र राशिद खानले समान दुई विकेट लिए । अब फाइनल प्रवेशको सम्भावना कायम राख्न काठमान्डुले २०५ रनको लक्ष्य पछ्याउनुपर्नेछ ।