
काठमाडौं : भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले १९ वर्ष लामो इन्डियन प्रिमियर लिग (आईपीएल) खेल जीवन टुंग्याएका छन् । फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स (सीएसके) ले उनलाई आईपीएल २०२७ का लागि मेन्टर नियुक्त गरेको छ ।
खेलाडी लिलामीअघि चेन्नईले यस्तो घोषणा गरेको हो । टोलीका मालिक एन श्रीनिवासनले धोनीबिना सीएसकेको कल्पना गर्न नसकिने बताउँदै उनलाई टोलीको पहिचानको अभिन्न हिस्सा भनेका छन् ।
४५ वर्षीय धोनीले अब मुख्य प्रशिक्षक जहिर खानसहितको प्रशिक्षण टोलीसँग मिलेर काम गर्नेछन् । पछिल्ला तीन सिजन प्लेअफमा पुग्न नसकेको चेन्नईले आगामी सिजनका लागि प्रशिक्षण टोलीमा व्यापक परिवर्तन गरेको छ ।
सन् २००८ को पहिलो अक्सनबाट चेन्नईमा आबद्ध भएका धोनीको कप्तानीमा टोलीले २०१०, २०११, २०१८, २०२१ र २०२३ गरी पाँच पटक आईपीएल उपाधि जितेको थियो । उनले चेन्नईबाट १७ सिजन खेले भने सन् २०१६ र २०१७ मा राइजिङ पुणे सुपर जायन्ट्सबाट मैदान उत्रिएका थिए ।
धोनीले आईपीएल करिअरमा ५ हजार ४ सय ३९ रन बनाएका छन् । उनको ब्याटिङ औसत ३८.३० र स्ट्राइक रेट १३७.४५ रहेको छ ।
सन् २०२३ मा चेन्नईलाई पाँचौँ उपाधि दिलाएका धोनीले २०२४ अघि कप्तानी छाडेका थिए । २०२५ मा कप्तान ऋतुराज गायकवाड घाइते भएपछि उनले पुनः नेतृत्व सम्हालेका थिए । तर, चोटका कारण उनी आईपीएल २०२६ का कुनै पनि खेलमा मैदान उत्रिन सकेनन् । अब भने उनले खेलाडीको भूमिकाबाट अलग हुँदै मेन्टरका रूपमा चेन्नईसँगको यात्रा जारी राख्नेछन् ।