२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

एक महिनाभन्दा बढी समयदेखि वडा कार्यालय बन्द, सेवाग्राही मारमा

Nada
कृष्ण तिवारी
२०८३ मंसिर १ गते १८:०८
Shares
एक महिनाभन्दा बढी समयदेखि वडा कार्यालय बन्द, सेवाग्राही मारमा

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर बैरगनियास्थित वडा कार्यालय करिब एक महिनाभन्दा बढी समयदेखि बन्द रहेको छ । वडा सचिवको सरुवापछि नयाँ सचिवको व्यवस्था नहुँदा वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावित भएको हो ।

वडा सचिव बिल्टु यादवको सरुवा भएपछि हालसम्म नयाँ वडा सचिव र कम्प्युटर अपरेटरको व्यवस्था हुन नसक्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव ‘सञ्जय’ले बताए ।

वडा कार्यालयमा कर्मचारी व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद दाहाललाई पटक–पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको वडा अध्यक्ष यादवको भनाइ छ । कर्मचारी अभावका कारण वडा कार्यालयको दैनिक कामकाज ठप्प हुँदा सेवाग्राही समस्यामा परेको उनले बताए ।

स्थानीय उमेश यादवका अनुसार वडा कार्यालयमा विभिन्न काम लिएर जाँदा ढोकामा ताला झुन्डिएको देखेपछि कामै नगरी घर फर्किनुपर्ने बाध्यता रहेको छ ।

त्यस्तै, वडा अध्यक्ष नियमित रूपमा कार्यालय आउने गरे पनि कर्मचारी नहुँदा नागरिकले आवश्यक सेवा पाउन नसकेको स्थानीय ब्रह्मदेव यादवले बताए । जन्मदर्ता, विवाहदर्ता, विभिन्न सिफारिसलगायतका अत्यावश्यक कामसमेत हुन नसक्दा सर्वसाधारण मर्कामा परेको उनको भनाइ छ ।

स्थानीयवासीले लामो समयदेखि वडा कार्यालय बन्द हुँदा सामान्य प्रशासनिक कामका लागि समेत दुःख पाउनुपरेको भन्दै तत्काल कर्मचारी व्यवस्था गरी नियमित सेवा सञ्चालन गर्न नगरपालिकासँग माग गरेका छन् ।

कर्मचारी व्यवस्थापनमा नगरपालिकाको उदासीनताका कारण स्थानीय नागरिकले पाउनुपर्ने आधारभूत सेवा नै अवरुद्ध हुनु गम्भीर विषय बनेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर