
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सातै प्रदेशमा समानान्तर अधिवेशन गर्ने मिति तय गरेको छ ।
समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयले सातै प्रदेशका अधिवेशनको मिति र स्थान तय भएको जानकारी दिएको हो । सबै प्रदेशका अधिवेशनमा पूर्वसभापति देउवा प्रमुख अतिथि रहनेसमेत निश्चित भएको समूहले जनाएको छ ।
सम्पर्क कार्यालयका मुख्यसचिव दीपक कुइकेलका अनुसार सबैभन्दा पहिले गण्डकी प्रदेशको अधिवेशन हुनेछ भने सबैभन्दा अन्तिममा कोसी प्रदेशको अधिवेशन हुनेछ ।
निर्धारित कार्यतालिकाअनुसार गण्डकी प्रदेशको अधिवेशन मंसिर ५ गते पोखरामा हुनेछ । त्यस्तै, लुम्बिनी प्रदेशको अधिवेशन मंसिर ७ गते बुटवल वा दाङमध्ये एक स्थानमा आयोजना गरिनेछ ।
यसैगरी कर्णाली प्रदेशको अधिवेशन मंसिर १३ गते सुर्खेतमा, मधेस प्रदेशको मंसिर १४ गते जनकपुरमा र सुदूरपश्चिम प्रदेशको मंसिर १५ गते धनगढीमा हुनेछ । कोसी प्रदेशको अधिवेशन भने मंसिर १७ गते विराटनगरमा आयोजना हुने मुख्यसचिव कुइकेलले जानकारी दिए ।
समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने मिति यसअघि नै तय गरिसकेको छ । त्यसका लागि अहिले विभिन्न जिल्लामा जिल्ला अधिवेशनहरू भइरहेका छन् ।
देउवा समूहले गत असोज १५ गतेदेखि अधिवेशन प्रक्रिया सुरु गरेको थियो ।