
काठमाडौं : नेपाली अनुसन्धानकर्ता डा. रोजी प्रधान श्रेष्ठले बेलायतको प्रतिष्ठित ब्रिटिस एकेडेमी इन्टरनेसनल फेलोसिप २०२६ प्राप्त गरेकी छन् । यो उपलब्धिसँगै उनी उक्त फेलोसिप हासिल गर्ने पहिलो नेपाली अनुसन्धानकर्ता बनेकी छन् ।
ब्रिटिस एकेडेमीले प्रदान गर्ने यस फेलोसिपको कुल रकम २ लाख ५५ हजार ८८४.७३ पाउन्ड रहेको छ । नेपाली मुद्रामा यसको मूल्य करिब ५ करोड २४ लाख रुपैयाँभन्दा बढी हुन्छ ।
फेलोसिप प्राप्त गरेसँगै डा. श्रेष्ठले बेलायतस्थित लफबरो विश्वविद्यालयमा दुई वर्षसम्म अनुसन्धान गर्नेछिन् । उनको अनुसन्धान परियोजना डिसेम्बर २०२६ देखि नोभेम्बर २०२८ सम्म सञ्चालन हुनेछ ।
उनको अनुसन्धानको विषय ‘ऊर्जा अभावको सीमान्त अवस्था : बेलायतको नेट जिरो रूपान्तरणमा उमेर, लैङ्गिकता र आप्रवासनका अन्तरसम्बन्धित दृष्टिकोण’ रहेको छ । यस अनुसन्धानले शून्य कार्बन उत्सर्जनतर्फको संक्रमणका क्रममा मूलधारका ऊर्जा तथा जलवायु नीतिमा पर्याप्त प्रतिनिधित्व नपाएका समुदाय र व्यक्तिहरूले भोग्ने प्रभावको अध्ययन गर्नेछ ।
विशेषगरी उमेर, लैङ्गिकता र आप्रवासनका आधारमा सीमान्तकृत समुदायले सामना गरिरहेका ऊर्जा अभावका समस्यालाई अनुसन्धानले केन्द्रमा राख्नेछ। साथै, ऊर्जा नीतिलाई थप समावेशी र सामाजिक न्यायमा आधारित बनाउन सकिने उपायहरूको खोजी गरिनेछ ।
यस अनुसन्धानबाट प्राप्त निष्कर्षले शैक्षिक अध्ययनसँगै नीतिगत बहसमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै, बेलायतको ऊर्जा रूपान्तरणका क्रममा देखिने सामाजिक चुनौती र त्यसको प्रभावलाई बुझ्न पनि अनुसन्धान उपयोगी हुने विश्वास गरिएको छ ।
ब्रिटिस एकेडेमी बेलायतको मानविकी तथा सामाजिक विज्ञान क्षेत्रको राष्ट्रिय शैक्षिक संस्था हो । सन् १९०२ मा स्थापना भएको यस संस्थाले उत्कृष्ट अनुसन्धानकर्तालाई सहयोग गर्नुका साथै अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई प्रोत्साहन गर्दै आएको छ । संस्थाले रोयल सोसाइटीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
डा. श्रेष्ठले यसअघि बेलायतको ग्लोबल ट्यालेन्ट भिसासमेत प्राप्त गरिसकेकी छन् । ब्रिटिस एकेडेमीको यो फेलोसिप उनको अनुसन्धान यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ ।