२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

कसले जित्ला एनपिएल ? (भिडियोसहित)

कुन टिम कति बलियो ?

Nada
२०८३ मंसिर १ गते ११:५६
Shares
कसले जित्ला एनपिएल ? (भिडियोसहित)

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण उपाधि प्रतिस्पर्धाको निर्णायक चरणमा प्रवेश गरेको छ । आठ टोली सहभागी प्रतियोगिताको लिग चरणका २८ खेलपछि चार टोलीले प्लेअफमा स्थान बनाएका छन् । अब साविक विजेता लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनी र सुदूरपश्चिम उपाधिका बलिया दाबेदार देखिएका छन् । यद्यपि काठमाडौं र चितवनसँग पनि उपाधि होडमा आफूलाई प्रमाणित गर्ने अवसर छ ।

लिग चरणमा सात खेलबाट पाँच जित, एक हार र एक नतिजाविहीन खेलसहित ११ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा रह्यो । पाँच जितबाट १० अंक बनाएको सुदूरपश्चिम दोस्रो भयो । काठमाडौं चार जितसहित आठ अंक जोडेर तेस्रो र चितवन तीन जित तथा एक नतिजाविहीन खेलबाट सात अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा पुगे ।

प्लेअफको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्नेछन् । उक्त खेलको विजेता सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत अर्को अवसर पाउनेछ । एलिमिनेटरमा काठमाडौं र चितवन आमनेसामने हुनेछन् । उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । दोस्रो क्वालिफायरबाट फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

लुम्बिनीको लक्ष्य उपाधि रक्षा

साविक विजेता लुम्बिनी लायन्स यसपटक पनि बलियो लयमा देखिएको छ । ब्याटिङ र बलिङ दुवैतर्फ सन्तुलित प्रदर्शन गरेको लुम्बिनीको मुख्य शक्ति सामूहिक खेल हो । कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली तथा विदेशी खेलाडीबीच राम्रो तालमेल देखिएको छ ।

ब्याटिङमा रोहितसँगै सन्दीप जोरा र आशिफ शेख महत्वपूर्ण छन् । विदेशी खेलाडी डार्सी सर्ट र निरोशन डिकवेलाले आक्रामक सुरुआत दिलाउन सक्छन् । डार्सीले लिग चरणमा १४८ रन बनाएका छन् । बलिङमा शेर मल्लले नौ विकेट लिँदा किशोर महतो र रुबेन ट्रम्पलम्यानले समान आठ विकेट लिएका छन् ।

टोलीको सन्तुलन र अघिल्लो संस्करणको उपाधि जितेको अनुभव लुम्बिनीका बलिया पक्ष हुन् । यद्यपि शीर्षक्रमको ब्याटिङलाई मध्यक्रमले निरन्तरता दिन नसक्नु चुनौती बन्न सक्छ । उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको लुम्बिनीका लागि पहिलो क्वालिफायर नै फाइनल यात्राको महत्वपूर्ण खुड्किलो हुनेछ ।

सुदूरपश्चिमको तेस्रो प्रयास

लगातार दुई संस्करण फाइनल पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्स यसपटक इतिहास बदल्ने लक्ष्यमा छ । कप्तान दीपेन्द्रसिंह ऐरी टोलीका प्रमुख आधार हुन् । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने उनले लिग चरणमा १५० रन बनाएका छन् ।

ब्रान्डन म्याकमुलन र इशान पाण्डेले ब्याटिङमा साथ दिएका छन् । बलिङतर्फ अनिल खरेलले १० तथा स्कट कुगेलाइनले नौ विकेट लिएका छन् ।

निर्णायक खेलको अनुभव सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति हो । लगातार दुईपटक फाइनल खेलेको टोलीलाई दबाब व्यवस्थापनको अनुभव छ । तर, ब्याटिङमा स्थिरता कायम गर्न नसक्नु कमजोरीका रूपमा देखिएको छ । लुम्बिनीसँगको खेलमा ८७ रनमै समेटिनुले पनि टोलीको ब्याटिङ समस्या उजागर गरेको थियो ।

पहिलो क्वालिफायरमा लुम्बिनीलाई हराउन सुदूरपश्चिमले ब्याटिङ र बलिङ दुवैमा सामूहिक प्रदर्शन गर्नुपर्नेछ ।

काठमाडौंलाई लय फर्काउने चुनौती

लिग चरणमा चार जितसहित तेस्रो भएको काठमाडौं गोर्खाजले एक समय लगातार तीन खेल जितेर राम्रो लय बनाएको थियो । तर, अन्तिम दुई खेलमा पराजित भएपछि शीर्ष दुईमा पुग्ने अवसर गुमायो ।

काठमाडौंको ब्याटिङमा राशिद खान महत्वपूर्ण खेलाडी बनेका छन् । उनले लिग चरणमा १८६ रन बनाएका छन् । कप्तान करण केसीले ८९ रन बनाउनुका साथै आठ विकेट लिएका छन् । बलिङमा जहाँदाद खानले १२ तथा सन्तोष यादवले आठ विकेट हात पारेका छन् ।

तर, प्लेअफअघि विदेशी खेलाडीको अनुपस्थितिले काठमाडौंलाई केही दबाबमा पारेको छ । चार खेल खेलेर स्वदेश फर्किएका डेभिड वार्नर र प्रतियोगितामा उपलब्ध नरहेका केएस भरत अब टोलीका विकल्प हुने छैनन् ।

एलिमिनेटरमा चितवनसँग प्रतिस्पर्धा गर्दा काठमाडौंले ब्याटिङमा थप जिम्मेवारी लिनुपर्नेछ । बलिङको प्रभावलाई निरन्तरता दिँदै पछिल्ला खेलमा देखिएको कमजोरी सुधार्नु टोलीका लागि आवश्यक छ ।

चितवनको भरोसा बलिङमा

चौथो स्थानमा रहँदै प्लेअफ पुगेको चितवन राइनोजको सबैभन्दा बलियो पक्ष बलिङ हो । कमलसिंह ऐरी र रिजन ढकालले समान १२ विकेट लिएका छन् । उनीहरूको प्रदर्शनले चितवनलाई विपक्षी टोलीका लागि चुनौतीपूर्ण बनाएको छ ।

ब्याटिङमा रवि बोपाराले १८४ र डाविड मलानले १४९ रन बनाएका छन् । कप्तान कुशल मल्लसँगै सिकन्दर राजा र डान माउज्लीको प्रदर्शन पनि चितवनका लागि महत्वपूर्ण हुनेछ ।

तर, ब्याटिङमा निरन्तरता नहुनु टोलीको मुख्य कमजोरी हो । बलरले विपक्षीलाई कम स्कोरमा रोके पनि ब्याटरले लक्ष्य पूरा गर्न नसके जित कठिन हुनेछ । त्यसैले काठमाडौंविरुद्धको एलिमिनेटरमा चितवनले बलिङसँगै ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ ।

कसले उचाल्ला उपाधि ?

लिग चरणको प्रदर्शन, खेलाडीको व्यक्तिगत लय, टोलीको सन्तुलन र निर्णायक खेलको अनुभव हेर्दा लुम्बिनी र सुदूरपश्चिम उपाधिका प्रमुख दाबेदार देखिन्छन् । लुम्बिनीसँग साविक विजेताको आत्मविश्वास छ भने सुदूरपश्चिमसँग लगातार दुईपटक फाइनल खेलेको अनुभव ।

तर, काठमाडौं र चितवनलाई कमजोर आँक्न मिल्दैन । काठमाडौंसँग खेलको नतिजा बदल्न सक्ने ब्याटर र बलर छन् भने चितवनको बलिङ आक्रमण विपक्षीका लागि चुनौती बन्न सक्छ । एलिमिनेटरमा जित निकाल्ने टोलीले दोस्रो क्वालिफायरसम्म लय कायम राख्न सके उपाधि यात्रालाई अप्रत्याशित बनाउन सक्छ ।

एनपिएलको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले उपाधि उचालेको थियो । दुवै संस्करणको उपविजेता बनेको सुदूरपश्चिम यसपटक तेस्रो प्रयासमा सफल हुने लक्ष्यमा छ ।

लुम्बिनीले उपाधि रक्षा गर्छ, सुदूरपश्चिमले पुरानो अधुरो सपना पूरा गर्छ वा काठमाडौं र चितवनमध्ये कुनै टोलीले नयाँ इतिहास बनाउँछ भन्ने निर्णय अब मैदानमै हुनेछ । लिग चरणले टोलीहरूको क्षमता देखाइसकेको छ । तर, उपाधि जित्न निर्णायक क्षणमा खेलाडीको धैर्य, कप्तानको रणनीति र सामूहिक प्रदर्शन नै निर्णायक बन्नेछ ।


laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर