२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

एनपिएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

Nada
२०८३ कार्तिक २७ गते १६:२३
Shares
एनपिएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं : सुदूरपश्मिच रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुगेको छ । शुक्रबार काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो । 

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि रासिद खानले अविजित ३५ रन बनाए । उनले ३१ बलमा ५ चौका प्रहार गरे । दुसान हेमन्थाले २१ रन बनाए ।

ओपनर साम हिजलेट ११, आदिल आलम ८, सन्तोष यादव १० र कप्तान करण केसी ८ रन बनाएर आउट भए । सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।

सुरुवातमै कमजोर देखिएको सुदूरपश्चिमको इनिङ्सलाई कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हाले । टोलीले मात्र ८ रन बनाउँदा चार विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका दीपेन्द्रले जिम्मेवार ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । उनले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए । त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिँदा आरिफ शेखले १६ रन जोडे ।

सुदूरपश्चिमका अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । स्कट कुगेलेइन ६ रन, विनोद भण्डारी १ रनमा आउट भए भने ब्रान्डन म्याकमुलेन र इशान पाण्डे खाता नै नखोली आउट भए ।

काठमाडौंका लागि जहानद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । सन्तोष यादवले २ विकेट हात पारे ।

लिग चरणमा सबै ७ खेल खेलिसकेको सुदूरपश्चिम ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनी लायन्स पनि प्लेअफमा पुगिसकेको छ ।

laxmi recruitement

सम्बन्धित खबर