
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा जय शाहले सन् २०३० सम्म निरन्तरता पाउने भएका छन् । नियमित कार्यकाल सकिन एक वर्ष बाँकी रहँदै आईसीसीले उनलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
सन् २०२४ अगस्टमा पहिलोपटक आईसीसी अध्यक्ष बनेका शाहको कार्यकाल आगामी वर्ष समाप्त हुँदै थियो । तर, सोमबार इन्डोनेसियाको बालीमा बसेको आईसीसी सञ्चालक समितिको बैठकले उनलाई सन् २०३० सम्म नेतृत्वमा कायम राख्ने निर्णय गरेको हो ।
पुनः अध्यक्षको जिम्मेवारी पाएकोमा शाहले आईसीसी सञ्चालक समितिप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले क्रिकेटको दीर्घकालीन विकासका लागि खेलाडी, दर्शक, व्यावसायिक साझेदार तथा अन्य सरोकारवालासँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।
उनले सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ग्रीष्मकालीन ओलम्पिकमा क्रिकेट समावेश हुनु खेलका लागि ऐतिहासिक उपलब्धि भएको पनि बताएका छन् । ओलम्पिकमा क्रिकेटको पुनरागमनले यस खेललाई विश्वव्यापी रूपमा थप विस्तार गर्ने विश्वास उनको छ ।
क्यानले दियो बधाई
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी अध्यक्षमा पुनः चयन भएका जय शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
बालीमा सम्पन्न आईसीसी सञ्चालक समितिको बैठकले शाहलाई सन् २०३० सम्म अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेपछि क्यानले सामाजिक सञ्जालमार्फत बधाई सन्देश सार्वजनिक गरेको हो ।
क्यानले शाहको नेतृत्वमा विश्व क्रिकेटले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ । साथै, उनको नयाँ कार्यकालमा एसोसिएट राष्ट्रसहित सबै सदस्य देशमा क्रिकेटको विकास, सुशासन, पूर्वाधार विस्तार र अवसर सिर्जनामा थप उपलब्धि हासिल हुने अपेक्षा गरेको छ ।