
रौतहट : रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित पुलमा स्कुटर ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको यमुनामाई नगरपालिका–५ झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको स्कुटर आइतबार दिउँसो करिब ४ बजे अनियन्त्रित भई सडकको पुलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको उक्त स्कुटरमा क्षमताभन्दा बढी चार जना किशोर सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यमुनामाई नगरपालिका–५ झुनखुनवा टोल निवासी १८ वर्षीय अनिकेत पासवान र सोही स्थानका १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको हो । दुर्घटनालगत्तै स्थानीय प्रहरी र उद्धारकर्ताको सहयोगमा उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले परीक्षण गर्दा दिउँसो ४ः३० बजे दुवै जनालाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अन्य दुई जना किशोर पनि घाइते भएका छन् । घाइते हुनेमा यमुनामाई नगरपालिका–५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको बिहारस्थित सीतामढी जिल्ला, भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान रहेका छन् ।
घाइते आकाश पासवानको प्रादेशिक अस्पताल गौरमै उपचार भइरहेको छ भने टाउकोमा गम्भीर चोट लागेका भारतीय नागरिक सुनिल पासवानलाई गौरमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार दुवै घाइतेको स्वास्थ्य अवस्था मध्यम रहेको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार एउटै स्कुटरमा चार जना सवार रहेको र तीव्र गतिका कारण स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किएको हुन सक्ने देखिएको छ ।
दुर्घटनामा परेको क्षतिग्रस्त स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चाडपर्व तथा आवागमनका समयमा सवारीसाधन चलाउँदा हुने लापरबाही र तीव्र गतिका कारण किशोरकिशोरीहरू दुर्घटनाको उच्च जोखिममा पर्ने गरेका छन् । यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ ।