२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

यौन हिंसाका मुद्दामा पीडितले साक्षी जुटाउनुपर्ने व्यवस्था हटाउन सांसद विकको माग

Nada
२०८३ मंसिर २ गते १७:२५
Shares
यौन हिंसाका मुद्दामा पीडितले साक्षी जुटाउनुपर्ने व्यवस्था हटाउन सांसद विकको माग

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले यौन हिंसासम्बन्धी मुद्दामा पीडितले अदालतमा साक्षी उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउन माग गरेकी छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो माग गरेकी हुन् ।

सांसद विकले जबरजस्ती करणीका मुद्दामा समेत पीडितलाई साक्षी जुटाउनुपर्ने व्यवस्थाले पीडितमाथि थप मानसिक पीडा सिर्जना गर्ने बताइन् । यौन हिंसाबाट पीडित किशोरी तथा महिलाले आफूमाथि भएको घटनामा कसरी साक्षी उपलब्ध गराउन सक्छन् भन्ने प्रश्न गर्दै उनले यस्ता संवेदनशील मुद्दामा न्याय निरूपण प्रक्रिया पीडितमैत्री बनाउनुपर्नेमा जोड दिइन् ।

उनले अदालतबाट न्याय प्राप्त गरेपछि पनि यौन हिंसापीडितले जीवनभर मानसिक समस्यासँग संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन् । यस्ता घटना भइसकेपछि न्याय दिने प्रक्रियालाई सहज बनाउनुका साथै घटना नै हुन नदिन राज्य र सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

बैठकमा उनले भनिन्, ‘जबरजस्ती करणीको मुद्दामा पनि साक्षी ल्याउनुपर्‍यो भन्छ अदालत । एउटा यौन हिंसापीडित किशोरी वा महिलाले कसरी साक्षी उपलब्ध गराउँछ ? यस्ता विशिष्ट प्रकृतिका मुद्दामा देखिएका समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ ।’

बैठकमा सहभागी अधिकांश सांसदले सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट हुने हिंसा र मानव बेचबिखनमा परेका पीडितलाई न्याय प्राप्त गर्ने प्रक्रिया सरल, सहज र प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

समितिले बुधबार मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा काम गरेका विज्ञ तथा सरोकारवालासँग विधेयकका विषयमा सुझावसमेत लिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर