
काठमाडौं । कमिल मिशाराको शतक र रिजन ढकालको उत्कृष्ट बलिङको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको छ । योसँगै काठमान्डु तेस्रो एनपीएलबाट बाहिरिएको छ ।
२०५ रनको विशाल लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । सुरुदेखि नै नियमित विकेट गुमाएको काठमान्डुले चितवनका बलरसामु खुलेर खेल्न सकेन ।
काठमान्डुका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । भीम सार्की ३० रनमा अविजित रहे । सहान अराचिगेले २४ तथा रासिद खानले १२ रन जोडे ।
ओपनर साहिल पटेल दोस्रो ओभरमै २ रन बनाएर आउट भए । विलियम बोसिस्टो र साम हिजलेटले दोस्रो विकेटका लागि २५ रन जोडे पनि हिजलेट व्यक्तिगत ३ रनमै आउट भए । त्यसपछि बोसिस्टोले रासिद खानसँग ३३ रनको साझेदारी गरे ।
बोसिस्टो, रासिद र सहानको विकेट पतनसँगै काठमान्डु ९२ रनमा ६ विकेट गुमाउने अवस्थामा पुग्यो । त्यसपछि पनि विकेट पतन रोकिएन । कप्तान करण केसी र जहानदाद खानले १–१ रन मात्र बनाउन सके । सोनु देवकोटाले ६ र सन्तोष यादवले १० रन जोडे ।
दशौँ नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले १७ बलमा ३ छक्कासहित अविजित ३० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
चितवनका रिजन ढकालले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले १५ रन दिएर ३ विकेट झारे । कुशल मल्ल र सलाउद्दिन खानले समान १ विकेट लिए ।
मिशाराको कीर्तिमानी शतक
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले मिशाराको अविजित शतक र रवि बोपाराको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
मिशाराले ५९ बलमा ५ चौका र १० छक्कासहित अविजित १२० रन बनाए । यो उनको टी–२० करियरको तेस्रो शतक हो । उनको शतकसँगै चितवनले एनपीएलमा आफ्नो उच्च योगफलसमेत बनायो । यसअघि चितवनको उच्च स्कोर यही सिजन काठमान्डुविरुद्धकै खेलमा बनेको १७० रन थियो ।
चितवनको सुरुआत भने राम्रो हुन सकेन । देव खनालसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका मिशाराले त्यसपछि लगातार दुई विकेट गुमेको दबाब सामना गर्नुप¥यो । चौथो ओभरमा काठमान्डुका कप्तान करण केसीले देव खनाल र डाविड मालानलाई लगातार आउट गरे । देवले १७ रन बनाए भने मालान पहिलो बलमै क्याच भए ।
त्यसपछि मिशाराले कप्तान रवि बोपारासँग मिलेर चितवनको इनिङ्स सम्हाले । यी दुईले तेस्रो विकेटका लागि १५४ रनको शतकीय साझेदारी गरे । यो चितवनको एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी हो भने प्रतियोगिताकै तेस्रो ठूलो साझेदारी हो ।
१९औँ ओभरको तेस्रो बलमा रासिद खानले बोपारालाई बोल्ड गरेपछि यो साझेदारी टुटेको थियो । बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए । उनले यस सिजन दोस्रो अर्धशतक पूरा गरेका हुन् । विवेक यादवले ३ बलमा २ चौकासहित ८ रन जोडे ।
काठमान्डुका करण केसी र रासिद खानले समान २ विकेट लिए ।
यस सिजन एनपीएलमा २०० रनभन्दा माथिको योगफल बनेको यो तेस्रो खेल हो । यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २१७ र काठमान्डुविरुद्ध २२४ रन बनाएको थियो ।