२०८३ मंसिर १ गते मङ्गलवार / Nov 17 , 2026 , Tuesday
२०८३ मंसिर १ गते मङ्गलवार

सोनियाको पुस्तकले भारतमा किन मच्चायो हलचल ? (भिडियोसहित)

प्रेम, पीडा र सत्ताको खुलासा 

Nada
२०८३ कार्तिक ३० गते १२:१४
Shares
सोनियाको पुस्तकले भारतमा किन मच्चायो हलचल ? (भिडियोसहित)

काठमाडौँ : भारतको सबैभन्दा शक्तिशाली राजनीतिक परिवारकी बुहारी भएर पनि सोनिया गान्धी राजनीतिबाट टाढै रहन चाहन्थिन् । उनलाई सार्वजनिक भाषण गर्न मन पर्दैनथ्यो । राजनीतिक विवादमा पर्न चाहँदैनथिन् । आफ्नो निजी जीवनलाई सार्वजनिक चासोको विषय बनाउन पनि रुचाउँदिनथिन् ।

तर समयले उनलाई त्यस्तो ठाउँमा पु¥यायो, जहाँबाट उनी चाहेर पनि राजनीतिबाट अलग रहन सकिनन् । इटालीको एउटा सामान्य परिवारमा जन्मिएकी युवती कसरी भारतको सबैभन्दा प्रभावशाली राजनीतिक परिवारकी सदस्य बनिन् ? प्रेमका लागि जन्मभूमि छाडेर आएकी उनले भारतमै आफ्नो संसार कसरी बनाइन् ? सासू इन्दिरा गान्धी र श्रीमान् राजीव गान्धीको हत्या भएपछि उनको जीवनमा के बित्यो ? अनि प्रधानमन्त्री बन्ने अवसर आउँदासमेत उनले किन अस्वीकार गरिन् ?

यी प्रश्नका उत्तर खोज्न अब धेरै पुराना अन्तर्वार्ता र राजनीतिक दस्तावेज पल्टाइरहनुपर्दैन । सोनिया गान्धी आफैँले आफ्नो जीवनका अनेक निजी र राजनीतिक प्रसंग समेटेर एउटा संस्मरण सार्वजनिक गरेकी छन् ।

पुस्तकको नाम हो– …Belonging: A Journey of LoveÚ 

नोभेम्बर १० मा सार्वजनिक भएको ५४४ पृष्ठको यो पुस्तक अहिले भारतको राजनीतिक वृत्तमा निकै चर्चामा छ । यसको चर्चा पुस्तकमा समेटिएका निजी प्रसंगका कारण मात्र भएको होइन । भारतीय राजनीतिको एउटा लामो कालखण्डलाई कसरी सम्झिने, त्यसको दोष र जिम्मेवारी कसले लिने र वर्तमान सरकारलाई कसरी मूल्यांकन गर्ने भन्ने बहस पनि यसले फेरि सतहमा ल्याइदिएको छ ।

त्यसैले यो पुस्तक सोनिया गान्धीको जीवनकथा मात्र होइन, भारतीय राजनीतिको पछिल्लो छ दशकलाई एउटा शक्तिशाली राजनीतिक परिवारको भित्री आँखाबाट हेर्ने प्रयास पनि हो ।

सोनियाको वास्तविक नाम सोनिया माइनो हो । उनको जन्म सन् १९४६ मा इटालीको ओर्बासानोमा भएको थियो । सामान्य मध्यमवर्गीय परिवारमा हुर्किएकी उनले बाल्यकालमा आफ्नो जीवन भारतको राजनीतिसँग जोडिएला भन्ने कल्पनासमेत गरेकी थिइनन् ।

सन् १९६५ मा बेलायतको क्याम्ब्रिजमा अध्ययनका क्रममा उनको भेट राजीव गान्धीसँग भयो । राजीव त्यतिबेला राजनीतिमा थिएनन् । उनी विमान चालक बन्ने रुचि राख्थे । दुवैबीच प्रेम सम्बन्ध सुरु भयो र त्यसले विवाहको रूप लियो ।

सोनियाले राजीवको नम्र स्वभाव, सरल व्यवहार र व्यक्तित्वबाट आफू आकर्षित भएको उल्लेख गरेकी छन् । उनीहरूबीचको सम्बन्धमा राजीवको परिवार र भारतको राजनीतिक विरासत पनि स्वाभाविक रूपमा जोडिँदै गयो ।

तर सोनियाको बाल्यकाल र पारिवारिक वातावरण पनि पुस्तकमा रोचक ढंगले आएको छ । उनका पिता निकै अनुशासनप्रिय र कडा स्वभावका थिए । छोरीहरूको निजी जीवनमा समेत निगरानी राख्ने उनको बानी थियो । 

भारत आएपछि उनले एउटा बिल्कुलै फरक समाज, संस्कृति र जीवनशैलीमा आफूलाई अभ्यस्त बनाउनुप¥यो । विवाहपछि उनी राजीव गान्धीकी पत्नी मात्र भइनन्, इन्दिरा गान्धीको परिवारकी सदस्य पनि बनिन् । त्यहीँबाट उनको जीवन भारतको इतिहाससँग गाँसिन थाल्यो ।

पुस्तकको सबैभन्दा भावुक खुलासामध्ये एक हो, सोनियाले पहिलो सन्तान गुमाएको प्रसंग । सन् १९६९ मा उनको पहिलो बच्चा समयभन्दा अगाडि जन्मिएको थियो । तर जन्मेको केही समयमै शिशुको मृत्यु भयो । एउटी महिलाका लागि त्यो कति असह्य अनुभव थियो भन्ने कुरा उनले आफ्नो संस्मरणमा व्यक्त गरेकी छन् ।

सार्वजनिक जीवनमा प्रायः संयमित र गम्भीर देखिने सोनियाले आफ्नो जीवनको यो संवेदनशील अध्याय यसअघि यति विस्तारमा कहिल्यै भनेकी थिइनन् । यो प्रसंगले पुस्तकलाई राजनीतिक नेताको आत्मकथाभन्दा फरक बनाउँछ । सत्ता, प्रभाव र प्रतिष्ठाको केन्द्रमा रहेको परिवारभित्र पनि सामान्य मानिसले भोग्ने जस्तै दुःख, पीडा र पारिवारिक संवेदना थिए भन्ने यसले देखाउँछ । 

सोनियाको संस्मरणको अर्को महत्वपूर्ण पक्ष इन्दिरा गान्धीको व्यक्तित्व हो ।
संसारले इन्दिरालाई शक्तिशाली प्रधानमन्त्रीका रूपमा चिन्थ्यो । निर्णय लिन सक्ने, राजनीतिक विरोधीलाई चुनौती दिन सक्ने र भारतीय राजनीतिमा आफ्नो प्रभाव कायम राख्न सक्ने नेतृका रूपमा उनको छवि थियो । तर घरभित्रको इन्दिरा कस्ती थिइन् ? परिवारसँग उनको सम्बन्ध कस्तो थियो ? राजनीतिक दबाबले उनलाई कति प्रभावित पारेको थियो ?

सोनियाले यी प्रश्नको उत्तर आफ्ना अनुभवमार्फत दिने प्रयास गरेकी छन् । सन् १९७५ मा इन्दिराले संकटकाल घोषणा गर्नुअघि नै उनी राजनीतिक रूपमा एक्लिँदै गएको र दबाब महसुस गरिरहेको सोनियाले वर्णन गरेकी छन् । त्यतिबेला राजीव गान्धी आमालाई प्रधानमन्त्री पदबाट राजीनामा दिएर नयाँ निर्वाचनमा जान सुझाव दिन्थे । तर कान्छा छोरा सञ्जय गान्धी भने राजीनामाको पक्षमा थिएनन् ।

सन् १९७७ को निर्वाचनमा कांग्रेस आई पराजित भएपछि परिवारभित्र भएको एउटा छलफलको प्रसंग रोचक छ ।राजीवले सञ्जयलाई आमालाई यस्तो अवस्थामा पु¥याएको भन्दै आक्रोश व्यक्त गरेको सोनियाले लेखेकी छन् । इन्दिराले पनि सञ्जयले आफ्नो जानकारीबिना आदेश दिने र राजनीतिक निर्णयमा हस्तक्षेप गर्ने गरेको स्वीकारेको प्रसंग उनले उल्लेख गरेकी छन् ।

यसले संकटकालको समयमा सञ्जय गान्धीको प्रभाव कति थियो भन्नेबारे परिवारभित्रको दृष्टिकोण प्रस्तुत गर्छ । तर पुस्तकको एउटा विवादास्पद पक्ष पनि छ । इन्दिराको निर्णय र त्यसबाट भएको क्षतिको जिम्मेवारी केही हदसम्म सञ्जयमाथि सारिएको देखिन्छ । आलोचकहरूका अनुसार यसले संकटकालका लागि इन्दिराको राजनीतिक जिम्मेवारीलाई कम देखाउने प्रयास गरेको छ । अर्थात् सोनियाले परिवारभित्रको एउटा प्रसंग खोलेकी छन्, तर त्यसको राजनीतिक व्याख्या भने विवादमुक्त छैन ।

पुस्तकको शीर्षक जत्तिकै चिसो अनुभूति दिने अर्को प्रसंग सन् १९८४ को हो । अमृतसरस्थित स्वर्ण मन्दिरमा भारतीय सेनाले अपरेसन ब्लु स्टार सञ्चालन गरेको थियो । त्यसको केही समयपछि सोनियाले आफ्नो घरको एउटा कोठामा ग्रिनेड भेटिएको उल्लेख गरेकी छन् ।

यो प्रसंगले त्यतिबेला गान्धी परिवारमाथि रहेको सुरक्षा खतरा र तनावको अवस्था बुझाउँछ । स्वर्ण मन्दिरमा भएको कारबाहीपछि इन्दिरा गान्धीले त्यहाँको क्षतिको तस्बिर हेर्दा आँसु झारेको प्रसंग पनि सोनियाले सम्झिएकी छन् । तर त्यो वर्ष गान्धी परिवारका लागि अझ ठूलो त्रासदी लिएर आयो । अक्टोबर १९८४ मा इन्दिरा गान्धीको आफ्नै सुरक्षाकर्मीबाट हत्या भयो । त्यसपछि देशभर फैलिएको सिखविरोधी हिंसामा हजारौँ मानिस मारिए ।

सोनियाले यस घटनालाई भारतको इतिहासको दुःखद र लज्जास्पद अध्याय भनेकी छन् । प्रशासनका केही अधिकारीले हिंसा रोक्न आँखा चिम्लिएको र कतिपयले हिंसा भड्काउनसमेत भूमिका खेलेको उनको स्वीकारोक्ति छ । तर उनले राजीव गान्धी हिंसामा संलग्न हुने वा त्यसलाई अनुमति दिन सक्ने व्यक्ति नभएको भन्दै बचाउ गरेकी छन् । राजीवले हिंसा रोक्न सार्वजनिक अपिल गरेको प्रसंगलाई उनले महत्व दिएकी छन् ।
यहीँनेर पुस्तकले एउटा पुरानो राजनीतिक विवाद फेरि ब्युँताएको छ । इन्दिराको हत्यापछि राजीवले दिएको ‘ठूलो रूख ढल्दा धर्ती हल्लिन्छ’ भन्ने अभिव्यक्ति सिखविरोधी हिंसाको सन्दर्भमा लामो समयदेखि विवादमा रहँदै आएको छ । सोनियाले भने राजीवको मनसाय र व्यक्तिगत चरित्रलाई आधार बनाएर उनको बचाउ गरेकी छन् ।

सोनियाको जीवनमा दोस्रो ठूलो बज्रपात सन् १९९१ मा आयो । तमिलनाडुको श्रीपेरुम्बुदुरमा चुनावी कार्यक्रममा सहभागी भएका बेला आत्मघाती आक्रमणमा राजीव गान्धीको हत्या भयो । इन्दिरा र राजीव दुवैलाई गुमाएपछि सोनिया लामो समय सार्वजनिक राजनीतिबाट टाढा रहिन् । उनलाई राजनीतिमा ल्याउन कांग्रेसभित्र निरन्तर प्रयास भए पनि उनी तयार थिइनन् ।

पछि सन् १९९८ मा उनले कांग्रेसको नेतृत्व सम्हालिन् । विदेशी मूलको नागरिकलाई भारतको प्रधानमन्त्री बन्न दिन मिल्छ कि मिल्दैन भन्ने विवादसमेत उठ्यो । उनलाई व्यक्तिगत रूपमा लक्षित गरेर अनेक टिप्पणी र आरोप लगाइए । सोनियाले आफ्नो पुस्तकमा आफूले भोगेका ती अपमान र राजनीतिक आक्रमण पनि सम्झिएकी छन् । उनलाई कहिले विदेशी, कहिले जासुस र कहिले भारतीय राजनीतिमा बाहिरबाट आएको व्यक्ति भनेर चित्रण गरियो । यद्यपि उनले आफू भारतलाई आफ्नो घर मानेर बसेको र यही देशको राजनीतिक तथा सामाजिक जीवनसँग आफ्नो पहिचान गाँसिएको बताएकी छन् ।

धेरैको चासोको विषय २००४ मा उनी किन प्रधानमन्त्री बनिनन् ? भन्ने हो । सोनियाको राजनीतिक जीवनको सबैभन्दा चर्चित निर्णय थियो त्यो । सन् २००४ को निर्वाचनपछि कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउने अवसर पायो । कांग्रेसभित्र र बाहिर सोनिया प्रधानमन्त्री बन्ने लगभग निश्चितजस्तै चर्चा थियो । तर उनले हातैमा आएको प्रधानमन्त्री पद अस्वीकार गरेर मनमोहन सिंहलाई अघि सार्ने निर्णय गरिन् ।

उनले यस निर्णयलाई आफ्नो व्यक्तिगत त्यागका रूपमा मात्र प्रस्तुत गरेकी छैनन् । मनमोहन सिंहको प्रशासनिक अनुभव, इमानदारी र राजनीतिक सन्तुलन कायम गर्न सक्ने क्षमतालाई उनले महत्व दिएको बताएकी छन् ।

सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने र पार्टीको राजनीतिक जिम्मेवारी आफूले सम्हाल्ने गरी काम विभाजन गरिएको उनको व्याख्या छ ।
तर भारतीय राजनीतिमा एउटा प्रश्न अझै बाँकी छ– प्रधानमन्त्री नभए पनि सोनिया गान्धीको वास्तविक राजनीतिक शक्ति कति थियो ? राष्ट्रिय सल्लाहकार परिषद्, कांग्रेसको नेतृत्व र गठबन्धन सरकारका महत्वपूर्ण निर्णयमा उनको प्रभावबारे उठ्ने प्रश्नलाई पुस्तकले पूर्ण रूपमा टुंग्याउँदैन । यस अर्थमा संस्मरणले उनको निर्णयको कारण त बताउँछ, तर त्यसपछिको सत्ता सम्बन्धको सबै पाटो खोल्दैन ।

पुस्तकको सबैभन्दा राजनीतिक रूपमा चर्चित अंशमध्ये एक हो– नरेन्द्र मोदीसँगको सम्बन्ध ।सोनियाका अनुसार मोदी प्रधानमन्त्री बनेपछि पछिल्ला १२ वर्षमा उनीसँग खासै वास्तविक संवाद भएको छैन । संसद् भवन वा अन्य कार्यक्रममा एउटै कोठामा उपस्थित हुँदा पनि मोदीले आँखा जुधाउन नखोज्ने गरेको उनको अनुभव छ ।

कहिलेकाहीँ स्वास्थ्यबारे छोटो सोधपुछ भने भएको उनले स्वीकारेकी छन् ।तर उनको असन्तुष्टि व्यक्तिगत व्यवहारमा मात्र सीमित छैन । मोदी र आफ्नो भारतप्रतिको दृष्टिकोण नै फरक रहेको उनले लेखेकी छन् ।सोनियाका अनुसार मोदीको भारतको अवधारणा राष्ट्रिय स्वयंसेवक संघ अर्थात् आरएसएसको विचारधारा र उनको आफ्नै राजनीतिक पृष्ठभूमिबाट निर्माण भएको छ । आफू भने धर्मनिरपेक्ष, बहुलवादी र विविधतायुक्त भारतको पक्षमा रहेको उनको तर्क छ ।

उनले मोदी सरकारमाथि विपक्षी दललाई कमजोर बनाउने, राज्य सरकारहरूलाई अस्थिर पार्ने, संसद्मा महत्वपूर्ण प्रश्नबाट पन्छिने र सञ्चारमाध्यमसँगको संवाद सीमित गर्ने आरोप लगाएकी छन् ।

सोनियाको पुस्तकको चर्चा हुनुको अर्को ठूलो कारण यसको प्रकाशन प्रक्रिया हो । सुरुमा पेन्गुइन ¥यान्डम हाउस इन्डियाले पुस्तक प्रकाशन गर्ने तयारी गरेको थियो । तर पाण्डुलिपिमा केही सम्पादन र अंश हटाउने विषयमा लेखक पक्ष र प्रकाशकबीच सहमति हुन सकेन ।
सोनियाले द गार्जियनसँगको अन्तर्वार्तामा प्रकाशक सरकारको आलोचनासम्बन्धी अंशप्रति असहज भएको बताएकी थिइन् । त्यसपछि प्रकाशनको जिम्मा हार्परकलिन्सले लियो ।

पेन्गुइनले भने बाह्य राजनीतिक दबाबका कारण पुस्तक नछाडेको र पाण्डुलिपिसम्बन्धी सामान्य सम्पादकीय प्रक्रियामा सहमति हुन नसकेको बताएको छ ।त्यसैले यो विवादलाई एक पक्षको दाबीका आधारमा मात्र बुझ्न मिल्दैन । तर पुस्तक प्रकाशनको क्रममा उठेको यस प्रश्नले भारतमा अभिव्यक्ति स्वतन्त्रता र प्रकाशकहरूको सम्पादकीय स्वतन्त्रताबारे बहस भने अवश्य जन्माएको छ ।

पुस्तकको आलोचनात्मक समीक्षा गर्नेहरूले उठाएको अर्को महत्वपूर्ण प्रश्न हो– सोनियाले के लेखिनन् ? सन् १९८४ को सिखविरोधी हिंसा, सन् १९९२ को बाबरी मस्जिद विध्वंस, बोफोर्स प्रकरण र भोपाल ग्यास दुर्घटनाजस्ता घटनाबारे पुस्तकमा चर्चा छ । तर सबै घटनामा उनको विवरण समान रूपमा विस्तृत छैन ।

बाबरी मस्जिद भत्काइएको दृश्य टेलिभिजनमा हेर्दा आफू रोएको सोनियाले उल्लेख गरेकी छन् । त्यस घटनाले भारतको धर्मनिरपेक्ष चरित्रमाथि गम्भीर चोट पु¥याएको उनको बुझाइ छ । 

बोफोर्स प्रकरणमा उनले राजीवमाथि लगाइएका भ्रष्टाचारका आरोपको खण्डन गरेकी छन् । दिल्ली उच्च अदालतले सन् २००४ मा राजीवविरुद्धका आरोप खारेज गरेको प्रसंग उल्लेख गरेकी छन् । तर विवादमा जोडिएका इटालियन व्यापारी ओटाभियो क्वात्रोचीबारे भने मौन छिन् ।

यति हुँदाहुँदै, सोनिया गान्धीको ‘द्यभयिलनष्लन’ लाई एउटै कोणबाट मूल्यांकन गर्न सकिँदैन । यसका दुई फरक संसार छन् । एउटा संसारमा प्रेम, परिवार, मातृत्व, शोक, एक्लोपन र जीवनका निजी संघर्ष छन् । अर्को संसारमा सत्ता, राजनीति, विवाद, भारतीय लोकतन्त्र र कांग्रेसको इतिहास छ ।

पहिलो संसारमा सोनिया निकै खुला र भावुक देखिन्छिन् । दोस्रो संसारमा उनी कतिपय ठाउँमा रक्षात्मक र चयनात्मक देखिन्छिन् । एउटा सामान्य इटालियन परिवारकी युवती कसरी भारतको सबैभन्दा शक्तिशाली राजनीतिक परिवारको केन्द्रमा पुगिन्, दुई महत्वपूर्ण व्यक्तिको हत्या र पारिवारिक वियोगपछि कसरी राजनीतिमा स्थापित भइन् र अन्ततः भारतीय सत्ताको निर्णायक खेलाडी बनिन् भन्ने बुझ्न यो पुस्तक महत्वपूर्ण छ ।


laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर