२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

चिनियाँ ‘गुप्तचर’सँगको अफेयरले हटाइए एनभिडियाको सिइओ

Nada
२०८३ कार्तिक २७ गते १४:५३
Shares
चिनियाँ ‘गुप्तचर’सँगको अफेयरले हटाइए एनभिडियाको सिइओ

काठमाडौं : संसार बदल्ने प्रविधि निर्माण गरिरहेको मानिस कुनै दिन निजी विवादले अप्ठ्यारोमा पर्ने सायदै सोचेको हुन्छ । तर, कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी दौडमा अगाडि रहेको कम्पनी एनभिडियाका प्रमुख जेन्सेन हुआङको जीवनमा यस्तै भएको छ ।

तीन दशकभन्दा लामो समयदेखि आफ्नै कम्पनीको नेतृत्व गर्दै आएका ६३ वर्षीय हुआङले नोभेम्बर १२ मा प्रमुख कार्यकारी अधिकृत (सिइओ), अध्यक्ष र सञ्चालक समिति सदस्यसमेतको पदबाट राजीनामा दिए । कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकार गरेको छ । प्रमुख वित्तीय अधिकारी कोलेट क्रेसलाई अन्तरिम सिइओको जिम्मेवारी दिइएको छ ।

हुआङको बहिर्गमनको पृष्ठभूमिमा दुई महिलासँगको सम्बन्ध र त्यससँग जोडिएको अमेरिकी राष्ट्रिय सुरक्षा चासो छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी चिनियाँ गुप्तचर भएको आशंका गरिएकी एक व्यवसायीसँग निकट सम्बन्धमा थिए । त्यस्तै, आफ्नै कम्पनीकी वरिष्ठ अधिकारीसँग पनि उनको अफेयर रहेको खुलासा भएको थियो ।

तर, यो विवाद एकै दिनमा सुरु भएको होइन । यसका केही दृश्य दुई वर्षअघिदेखि सार्वजनिक हुन थालेका थिए ।

हुआङको विवादित सम्बन्धमा जोडिएकी महिला हुन्, एलिस हुआङ । उनी चिनियाँ नागरिक हुन् । जेन्सेन हुआङसँग उनको कुनै पारिवारिक सम्बन्ध छैन । एलिस सिंगापुरमा मुख्यालय रहेको एआई पूर्वाधार कम्पनी मेगास्पिड इन्टरनेसनलकी पूर्वकार्यकारी हुन् । यो कम्पनी एनभिडियाको ठूलो ग्राहकसमेत थियो ।

अमेरिकी समाचार संस्था सीबीएस न्युजले प्रकाशित गरेको घटनाक्रमअनुसार सन् २०२४ जुन ७ मा ताइवानको राजधानी ताइपेईमा आयोजित कम्प्युटेक प्रविधि प्रदर्शनीका क्रममा जेन्सेन र एलिस सँगै देखिएका थिए । त्यसबेला उनीहरू अन्य प्रविधि व्यवसायीसँगै एउटा बारमा रहेको तस्बिर सार्वजनिक भएको थियो ।

त्यसको झन्डै एक वर्षपछि, सन् २०२५ मे २२ मा ताइपेईको एउटा रेस्टुरेन्टमा आयोजित रात्रिभोजमा पनि उनीहरू सँगै देखिए । उक्त भेटको भिडियो सार्वजनिक भएपछि उनीहरूको निकटताबारे थप चर्चा हुन थाल्यो ।

सुरुमा यो एउटा व्यवसायी र कम्पनीकी कार्यकारीबीचको सामान्य सम्बन्धजस्तो देखिन्थ्यो । तर, पछि अमेरिकी गुप्तचर निकायसँग सम्बन्धित एउटा संवेदनशील विवरण सार्वजनिक भयो ।

द न्युयोर्क टाइम्सले नोभेम्बर ८ मा प्रकाशित गरेको रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायले एलिसलाई चीनको गुप्तचर संयन्त्रसँग जोडिएको व्यक्तिका रूपमा शंका गरेको थियो । उनी बेइजिङलाई सूचना उपलब्ध गराउने काममा संलग्न रहेको अमेरिकी अधिकारीहरूको आशंका थियो ।

अमेरिकी अधिकारीहरूले एलिस र हुआङबीचको सम्बन्धलाई सम्भावित विदेशी गुप्तचर गतिविधिको जोखिमका रूपमा हेरेका थिए । अमेरिकी प्रशासनका उच्च अधिकारीहरूबीच यसबारे गोप्य सूचना आदानप्रदान हुनथाल्यो । सीबीएस न्युजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत यस सम्बन्धबारे जानकारी गराइएको थियो । विदेशमन्त्री मार्को रुबियोले पनि यसलाई सम्भावित प्रतिगुप्तचर जोखिमका रूपमा उठाएका थिए ।

तर, एलिस चिनियाँ गुप्तचर भएको आरोप सार्वजनिक रूपमा प्रमाणित भएको छैन । उनले हुआङबाट गोप्य सूचना लिएको वा चीनलाई उपलब्ध गराएको पनि पुष्टि भएको छैन । चीनले समेत उनीमाथि लगाइएको आरोप अस्वीकार गरेको छ । हुआङले पनि आफूलाई एलिसको कथित गुप्तचर सम्बन्धबारे जानकारी नभएको बताएका थिए । ट्रम्पले सार्वजनिक रूपमा हुआङको बचाउ गर्दै उनलाई इमानदार व्यक्ति भनेका थिए ।

एलिससँगको सम्बन्धलाई अमेरिकी अधिकारीहरूले किन यति संवेदनशील रूपमा लिए भन्ने बुझ्न मेगास्पिड र एनभिडियाबीचको कारोबार हेर्नुपर्छ ।

मेगास्पिडले एनभिडियाबाट ठूलो परिमाणमा एआई चिप खरिद गरेको थियो । टेकक्रन्चका अनुसार पछिल्ला दुई वर्षमा उक्त कम्पनीले करिब ४ अर्ब ८० करोड डलर बराबरका एनभिडिया चिप खरिद गरेको थियो ।

अमेरिकाले चीनलाई अत्याधुनिक एआई चिप उपलब्ध हुन नदिन निर्यात नियन्त्रणका कडा व्यवस्था लागू गर्दै आएको छ । त्यसैले सिंगापुरस्थित कम्पनीले खरिद गरेका चिप अन्ततः कहाँ पुगे भन्ने विषय अमेरिकी अधिकारीहरूको चासोमा परेको थियो ।

अमेरिका र सिंगापुर दुवै देशमा मेगास्पिडको कारोबारमाथि अनुसन्धान भएको विवरण सार्वजनिक भएको छ । अमेरिकी अधिकारीहरूले कम्पनीले निर्यात नियन्त्रणसम्बन्धी नियम उल्लंघन गरेर चिप चीनसम्म पुर्‍याएको हुन सक्ने आशंका गरेका थिए ।

यसरी एउटा व्यक्तिगत सम्बन्ध कम्पनीको व्यापारिक कारोबार र अमेरिका–चीन प्रविधि प्रतिस्पर्धासँग जोडिन पुग्यो ।

एलिससँगको सम्बन्धको चर्चा सेलाउन नपाउँदै हुआङको निजी जीवनबारे अर्को पनि खुलासा भयो ।

नोभेम्बर ११ मा द न्युयोर्क टाइम्सले एनभिडियाकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको अफेयर चलिरहेको रिपोर्ट प्रकाशित गर्‍यो । पावेल कम्पनीको स्वास्थ्य प्रविधिसम्बन्धी व्यवसायको नेतृत्व गर्थिन् । उनी हुआङलाई प्रत्यक्ष रिपोर्ट गर्ने अधिकारी थिइन् ।

न्युयोर्क टाइम्सले एनभिडियामा काम गरेका पाँच पूर्वकर्मचारीलाई उद्धृत गर्दै उनीहरूबीच सम्बन्ध रहेको जनाएको थियो । यसअघि सार्वजनिक नभएको यो विवरणले हुआङमाथिको दबाब थप बढायो ।

समाचारअनुसार सन् २०२६ को मार्चमा कम्पनीको एउटा सम्मेलनका क्रममा उनीहरू होटलमा निकट देखिएको भिडियोसमेत रहेको दाबी गरिएको थियो ।

नोभेम्बर १२ मा रोयटर्सले अर्को कर्मचारीसँग पनि हुआङको निकट सम्बन्ध रहेको दाबी सार्वजनिक गर्‍यो । दुई स्रोतलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टमा ती कर्मचारीको नाम खुलाइएको थिएन् । यसरी एलिससँगको सम्बन्धबाट सुरु भएको विवाद आफ्नै कम्पनीभित्रका कर्मचारीसँग जोडिएका थप दाबीसम्म पुग्यो ।

विवाद सार्वजनिक भएपछि नोभेम्बर ८ मा हुआङले एनभिडियाका कर्मचारीलाई सन्देश पठाए । त्यसमा उनले आफू पत्नीप्रति इमानदार रहन नसकेको स्वीकार गरेका थिए । उनले आफ्नो व्यवहारबाट पत्नी, छोराछोरी र सहकर्मीलाई चोट पुगेको भन्दै माफी मागे । आफ्नो गल्तीको पूर्ण जिम्मेवारी लिने उनको भनाइ थियो ।

हुआङको यो स्वीकारोक्तिले विवादलाई थप सतहमा ल्यायो । त्यसअघि उनी मिडियामा छाइरहेका सम्बन्धबारे मौन थिए । लगत्तै एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र अनुसन्धान सुरु गर्ने घोषणा गर्‍यो । कम्पनीको गोप्य सूचना चुहिएको थियो कि थिएन र कुनै विदेशी गुप्तचर गतिविधिबाट कम्पनी वा अमेरिकी राष्ट्रिय सुरक्षा प्रभावित भएको थियो कि थिएन भन्ने विषय अनुसन्धानको दायरामा राखियो ।

समितिले प्रारम्भमा हुआङको नेतृत्वप्रति विश्वास व्यक्त गरेको थियो । तर, त्यसपछि पावेलसँगको सम्बन्ध सार्वजनिक भयो । सञ्चालक समितिमाथि पनि थप दबाब बढ्यो ।

एनभिडियाको सञ्चालक समितिले हुआङलाई पदबाट हटाउने तयारी गरिरहेको खबरहरु बाहिरिन थाले । रोयटर्सले पनि सञ्चालक समितिको बैठक बसेर उनको भविष्यबारे छलफल भएको जनायो । त्यसपछि लगानीकर्तामाझ कम्पनीको नेतृत्व परिवर्तन हुने आशंका बढ्यो । फलस्वरुपः एनभिडियाको सेयर मूल्यमा पनि गिरावट देखियो ।

अन्ततः नोभेम्बर १२ मा हुआङले राजीनामा दिए । कम्पनीले अमेरिकी नियामक निकायमा बुझाएको विवरणअनुसार सञ्चालक समितिले उनको राजीनामा स्वीकार गरिसकेको छ । प्रमुख वित्तीय अधिकारी कोलेट क्रेसलाई कार्यबहाक सिइओको जिम्मेवारी दिइएको छ । सञ्चालक समितिले स्थायी उत्तराधिकारी खोज्ने प्रक्रिया अघि बढाएको छ । लामो समय कम्पनीको नेतृत्व गरेका हुआङको बहिर्गमनले एआई उद्योगमा समेत नयाँ बहस सिर्जना गरेको छ ।

हुआङको नेतृत्वमा रहेको यो त्यही कम्पनी थियो, जसले केही महिनाअघि नेपाललाई ठूलो मानवीय सहयोग गरेको थियो । गत भदौं १० मा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि नेपालमा उद्धार, राहत र पुनःस्थापनाका लागि कम्पनीले १ करोड अमेरिकी डलर अर्थात् करिब डेढ अर्ब रुपैयाँ सहयोग गरेको थियो ।

सन् १९९३ मा स्थापना भएको एनभिडियालाई हुआङले कम्प्युटर गेमका लागि ग्राफिक्स चिप बनाउने कम्पनीबाट एआई युगको सबैभन्दा मत्त्वपूर्ण प्रविधि आपूर्तिकर्तामध्ये एक बनाए । गुगल, माइक्रोसफ्ट, अमेजन र मेटाजस्ता कम्पनीका एआई प्रणाली निर्माणमा एनभिडियाका चिप प्रयोग हुन्छन् ।

उनको नेतृत्वमा कम्पनीको बजार मूल्य ५ ट्रिलियन डलरभन्दा माथि पुगेको थियो । तर, अहिले कम्पनीले नयाँ नेतृत्व खोज्नुपर्ने अवस्था आएको छ ।

हुआङको राजीनामाले एलिसमाथिको गुप्तचरीको आशंका प्रमाणित गर्दैन । न त कम्पनीको गोप्य सूचना चीन पुगेको निष्कर्ष नै यसबाट निस्कन्छ । व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षा जोखिमका विषयमा अनुसन्धान टुंगिइसकेको छैन । तर, एआईको भविष्य निर्माण गरिरहेका जेन्सेन हुआङको आफ्नै भविष्य भने नयाँ मोडमा आइपुगेको छ । 

laxmi recruitement

सम्बन्धित खबर