
हरेक वर्ष हरितालिका तीज आउँदा सामाजिक सञ्जाल राताम्य हुन्थ्यो । रातो सारी, चुरा, पोते र टीकामा सजिएका दिदीबहिनीका तस्बिर तथा भिडियोले फेसबुकका पर्खालहरू भरिन्थे । कसैका लागि तीज पारिवारिक भेटघाटको अवसर बन्थ्यो, कसैका लागि माइतीको आत्मीयता त कसैका लागि आफ्ना खुसीहरू साट्ने सुन्दर बहाना । तर, यसपालिको तीजको अनुभव भने विगतभन्दा निकै फरक र भारी महसुस भयो ।
यसपटक फेसबुक खोल्दा एकातिर तीजका रमाइला दृश्यहरू नाचिरहेका थिए भने अर्कोतिर भोटेकोशीको बाढीले निम्त्याएको विनाशकारी दृश्यले मन चसक्क पारिरहन्थ्यो । कतै सर्वस्व गुमाएर घर बगेका मानिसहरूको रोदन थियो, कतै आफन्तको खोजीमा भौँतारिएका पीडितहरू, त कतै उद्धारको पर्खाइमा टोलाइरहेका नागरिक । खुसी मनाउनुपर्ने पर्वको दिनमा पनि मन बारम्बार त्यही विपत्तितर्फ मोडिरहन्थ्यो ।
भोटेकोशीको भीषण बाढीपछि ठूलो सङ्ख्यामा नागरिकको उद्धार त गरियो, तर धेरैले ज्यान गुमाए भने अझै कैयौँ मानिसहरू सम्पर्कविहीन छन् । यस्ता दर्दनाक तथ्याङ्कहरू पढ्दा मनमा एउटै प्रश्न आउँछ– आज ती विस्थापित परिवारहरू कहाँ होलान् ? उनीहरूले के खाएका होलान् ? कहाँ सुते होलान् ? अनि, आफ्ना हराएका प्रियजन फर्केर आउने आशामा अझै कतिन्जेल बाटो कुरिरहेका होलान् ?
हामी यहाँ सुरक्षित रूपमा तीज मनाइरहेका छौँ । कोही माइतीमा रमाएका छौँ त कोही साथीभाइसँग रमाइलो गरिरहेका छौँ । तर, ठीक त्यही समयमा कुनै आमा आफ्नो सन्तान सम्झेर आफैँभित्र रोइरहेकी हुन सक्छिन् । कुनै श्रीमती आफ्नो श्रीमान्को खोजीमा भौँतारिइरहेकी हुन सक्छिन् अनि कुनै साना बालबालिका आफ्ना अभिभावकको पर्खाइमा टोलाइरहेका हुन सक्छन्। त्यसैले, यसपालिको तीजको रातो रङभित्र कताकता गहिरो पीडा र उदासी मिसिएको महसुस भयो ।
यस्तो संकटको घडीमा आफ्नो ज्यानको बाजी लगाएर उद्धारमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्वयंसेवक र सहयोगी हातहरूको प्रयासलाई सम्मान गर्नैपर्छ । जोखिम मोलेर अरूको जीवन बचाउनेहरू वास्तवमै धन्यवादका पात्र हुन् । तर, यस्तै संवेदनशील समयमा पनि सामाजिक सञ्जालमा केवल सरकारलाई गाली गर्न र आलोचनामा मात्रै समय खर्चिनेहरूको कमी देखिएन । निसन्देह, सरकारका कमजोरीहरूमाथि प्रश्न उठाउनुपर्छ, खबरदारी गर्नुपर्छ । तर, यति ठूलो प्राकृतिक विपत्तिको सम्पूर्ण दोष सरकारमाथि मात्रै थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोज्नु कतिसम्म न्यायोचित होला ? बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिलाई कसैले आफ्नो इच्छाले रोक्न सक्दैन। न त कुनै सरकारले यस्ता प्राकृतिक प्रकोपलाई शतप्रतिशत रोक्ने चमत्कार नै गर्न सक्छ । त्यसैले, रचनात्मक आलोचना गर्नुअघि हामीले परिस्थितिको गम्भीरता र जटिलतालाई पनि बुझ्न आवश्यक छ ।
विगतका सरकारहरूबाट निरन्तर निराशा मात्रै भोगेका कारण होला, आज कसैले राम्रो काम गर्दा पनि त्यसको प्रशंसा गर्न हामीलाई गाह्रो भइरहेको छ । तर, विगतको असन्तुष्टिलाई बोकेर वर्तमानमा भएका सकारात्मक प्रयासहरूलाई अनदेखा गर्नु न्यायसङ्गत हुँदैन । विपत्तिको जोखिम बढ्दा सडक बन्द गर्ने, यात्रा रोक्ने वा मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णयहरूले कहिलेकाहीँ सर्वसाधारणलाई असहज त बनाउँछ, तर संकटको बेला नागरिकको ज्यान जोगाउनु नै राज्यको पहिलो प्राथमिकता हुनुपर्छ ।
केही समयअघि अस्पतालमा समयमा उपचार नपाउँदा एक महिलाले अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपरेको घटनाले हामी सबैलाई झस्काएको थियो । घटनामा परिवार र अस्पताल प्रशासनका आफ्नै तर्क होलान्, तर मिडिया र सामाजिक सञ्जालमा कुरा उठेपछि छानबिन भयो र जिम्मेवार पक्षमाथि कारबाहीको प्रक्रिया अघि बढ्यो । पहिले–पहिले यस्ता घटनाहरू गुपचुप सामसुम हुन्थे होला, तर आज सञ्चारमाध्यमका कारण घटनाहरू तत्काल बाहिर आउँछन् र निकायहरूलाई जवाफदेही बनाउँछन् । यस्ता विषयलाई विशुद्ध राजनीतिक आरोप–प्रत्यारोपको हतियार बनाउनुको साटो प्रणाली सुधारको अवसरका रूपमा हेर्नुपर्छ ।
यसपालिको विपत्तिमा गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर पीडितहरूसँगै बसेको र उनीहरूको दुःख बुझ्न प्रयास गरेको दृश्यहरू देखिए । पीडितहरूसँगै भुइँमा बसेर खाना खाएको त्यो दृश्यले धेरैको मन छोयो । संकटमा नागरिकलाई चाहिएको यस्तै अभिभावकत्व हो । हामीलाई हेलिकप्टरबाट ओर्लिएर क्यामेराअगाडि ठूला भाषण छाड्ने अनि केही बेरमै फर्कने मन्त्री होइन, दुःखको घडीमा नागरिकको छेउमा बसेर उनीहरूको पीडा सुन्ने र मैदानमै खटिने व्यावहारिक नेतृत्व चाहिएको हो ।
यसको अर्थ सरकारका सबै कदमहरू सही छन् भन्ने कदापि होइन । जहाँ सरकार चुक्छ, त्यहाँ निर्भीक भएर प्रश्न उठाउनैपर्छ। गल्ती सुधार्न निरन्तर दबाब दिनुपर्छ । तर, जहाँ राम्रो काम हुन्छ, त्यसलाई राम्रो भन्ने संस्कारको विकास पनि हामीमा हुनुपर्छ ।
सरकार अन्ततः नागरिककै साझा संयन्त्र हो । सरकार सफल हुँदा त्यसको प्रत्यक्ष लाभ नागरिकलाई नै हुन्छ र सरकार असफल हुँदा त्यसको अन्तिम मार पनि नागरिककै टाउकोमा पर्छ । त्यसैले, संकटको यो कठिन समयमा राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर सोचौँ। जहाँ सरकारले राम्रो गर्छ, त्यहाँ साथ दिऔँ; जहाँ कमजोरी हुन्छ, त्यहाँ खबरदारी गरौँ । तर, विपत्तिमा परेका नागरिकको आँसुलाई राजनीतिको रोटी सेक्ने हतियार नबनाऔँ ।
यसपालिको तीजले हामीलाई एउटा गम्भीर पाठ सिकाएको छ– उत्सव मनाउनु हाम्रो अधिकार हो । तर छेउमै कसैको सिन्दूर पखालिएको र घर उजाडिएको छ भने उसको पीडामा मलम लगाउनु हाम्रो आधारभूत मानवीय दायित्व पनि हो । तीजको रातो रङसँगै यसपालि भोटेकोशीको सुस्केरा र पीडा पनि हाम्रो स्मृतिमा लामो समयसम्म रहिरहनेछ ।