
काठमाडौं : भोटेकोशीमा आएको बाढीले विद्यालयका भौतिक संरचना ध्वस्त बनाएपछि बालबालिकाको नियमित पठनपाठन मात्र प्रभावित भएको छैन, उनीहरूको सिकाइ निरन्तरता, मानसिक अवस्था र सामाजिक व्यवहारमा समेत असर देखिन थालेको छ । विद्यालयबाट विस्थापित भएर अस्थायी आश्रयस्थलमा बस्न बाध्य बालबालिका पढाइ, खेलकुद र मनोरञ्जनबाट टाढिँदै जाँदा उनीहरूको शैक्षिक तथा मनोसामाजिक विकासमा चुनौती थपिएको राष्ट्रिय बालअधिकार परिषद्ले गरेको ‘रसुवा बाढीप्रभावित बालबालिकाको अवस्था तथा आवश्यकतासम्बन्धी द्रुत लेखाजोखा प्रतिवेदन २०८३’ले जनाएको छ ।
प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटमा बाढीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि बालबालिकाको नियमित सिकाइ प्रक्रिया प्रभावित भएको पाइएको छ । ‘बाढीबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि कतिपय विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन’ प्रतिवेदनमा भनिएको छ ।
धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालय बाढीबाट पूर्ण रूपमा प्रभावित भएको छ । विद्यालयमा करिब ७५ जना विद्यार्थी अध्ययनरत रहेको र विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ । त्यस्तै बाढीले नजिकैका राइजिङ मिलेनियम तथा अन्य विद्यालयमा समेत क्षति पुगेको छ । बाढीका कारण विद्यालयका कक्षाकोठामा बालुवा र हिलो माटो थुप्रिएको छ । कतिपय कक्षाकोठामा माटो भरिएकाले तत्काल सफा गरेर पठनपाठन सञ्चालन गर्न कठिन भएको छ । विद्यालयका भवन क्षतिग्रस्त भएपछि विद्यार्थीहरू नियमित कक्षामा सहभागी हुन पाएका छैनन् ।
प्रतिवेदनका अनुसार, नुवाकोटमा पाँच र रसुवामा चारवटा बाढी प्रभावित स्थानका १२ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । विद्यालयका भवन तथा अन्य संरचना नष्ट भएपछि विद्यार्थीको नियमित सिकाइमा अवरोध पुगेको छ । अस्थायी आवासमा रहेका बालबालिका नियमित विद्यालय, शिक्षक, साथी तथा सिकाइ वातावरणबाट टाढा रहनुपर्ने अवस्था सिर्जना भएको छ । दिनभर अस्थायी आश्रयस्थलमा बस्नुपर्ने र खेलकुद, मनोरञ्जन तथा सिकाइका गतिविधि सीमित हुँदा बालबालिकामा निराशा, तनाव, टोलाउने तथा व्यवहारमा परिवर्तन देखिन थालेको अध्ययनले देखाएको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्ले अस्थायी आश्रयस्थल तथा होल्डिङ सेन्टरमा स्थलगत रूपमा अध्ययन गरेको अनुुसार, बालबालिकाका लागि दिनचर्या व्यवस्थापन, खेलकुद, मनोरञ्जन, सिकाइ तथा मनोसामाजिक सहयोगका लागि पर्याप्त सामग्री र गतिविधि नभएको पाइएको छ । बाढीका कारण घर, विद्यालय र नियमित सामाजिक वातावरणबाट विस्थापित भएका बालबालिकालाई सुरक्षित आवाससँगै शिक्षा र मनोसामाजिक सहयोग उपलब्ध गराउन नसके उनीहरूको सिकाइ निरन्तरता र समग्र विकासमा दीर्घकालीन असर पर्न सक्ने चिन्ता देखिएको छ ।
अस्थायी सिकाई केन्द्रमार्फत पठनपाठन सुचारु
शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव शंकर अधिकारीले बाढी प्रभावित क्षेत्रका विद्यालय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरेर पठनपाठन सुचारु गरिएको बताउँछन् ।
‘विपद्को सुरुमा २५ वटा विद्यालयमा आश्रय स्थल बनाइएकोमा हाल त्यो संख्या घटेर १८ मा झरेको छ,’ उनले भने, ‘ विपद् व्यवस्थापन समितिले नै आश्रय स्थलका रूपमा प्रयोग गरिएका विद्यालयहरूलाई ३० दिनभित्र खाली गराएर कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।’ सामान्य क्षति भएका विद्यालयहरूमा पनि वैकल्पिक व्यवस्था गरी पठनपाठन सुरु भइसकेको छ । सबै भन्दा वढि प्रभावित भएको रसुवाको उत्तरगया गाउँपालिकामा विद्यालय सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाइँदै गरेको उनले बताए ।
विद्यार्थीको संख्या कम भएका विद्यालयहरूमा एकतर्फी भवनमा आश्रय स्थल र अर्कातर्फ नियमित कक्षा सञ्चालन गरिएको उनले बताए । ‘पूर्ण रूपमा क्षति भएका विद्यालयहरूको हकमा टेन्ट टाँगेर अस्थायी सिकाई केन्द्र स्थापना गरी पढाउने योजना बनाइएको छ,’ उनले भने ।
विपद्का कारण मानसिक आघात (ट्रामा) मा परेका विद्यार्थीहरूलाई सिधै नियमित कक्षामा राखेर पढाउनुअघि उनीहरूलाई मानसिक रूपमा तयार पार्ने कामहरू भइरहेको उपसचिव अधिकारीले बताए । बाढीका कारण स्थलगत अध्यन गर्दा करिब २० हजार विद्यार्थी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएको छन् । उनका अनुसार भौतिक क्षतितर्फ एक क्याम्पस र एक सिटिइभिटी अन्तर्गतको शिक्षालयसहित कुल १८ वटा शैक्षिक संस्थामा भौतिक क्षति पुगेको छ ।