
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ र ६ को सिमानामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने २ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा एक जना जिप चालक र एक किशोरी रहेका छन् ।
त्रिवेणी गाउँपालिकाको रुघाँ निवासी चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका ६ की १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।
दुर्घटनामा परेर घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत सुर्खेत लैजाने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टर आउँदै गरेको जनाएको छ ।
डिएसपी पौडेलेका अनुसार अन्य घाइतेहरुको अवस्था मध्यम रहेको छ । उनीहरुलाई उपचारका लागि सानीभेरी गाउँपालिका अस्पतालमा ल्याइएको छ ।
सानीभेरी गाउँपालिका वडा नम्बर ६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु १ च ६०२९ नम्बरको जिप डाङडुगेमा दुर्घटना भएको हो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।