
कपिलवस्तु : सामाजिक सञ्जालमार्फत इस्लाम धर्म तथा मुस्लिम समुदायको धार्मिक भावनामा आघात पुर्याउने र घृणा फैलाउने प्रकृतिका सामग्री सार्वजनिक भएको भन्दै उलमा फाउन्डेसन नेपाल, कपिलवस्तु शाखाले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।
फाउन्डेसनका जिल्ला अध्यक्ष सद्दाम हुसैन मन्सुरीको नेतृत्वको प्रतिनिधिमण्डलले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई भेटी घटनाबारे छानबिन तथा आवश्यक कानुनी कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमा ‘प्रेम योगी’ नामको अकाउन्टबाट इस्लाम धर्म, मुस्लिम समुदाय तथा धार्मिक भावनाविरुद्ध आपत्तिजनक र घृणा फैलाउने प्रकृतिका विभिन्न सामग्री पोस्ट गरिएको उल्लेख छ ।
फाउन्डेसनका अध्यक्ष मन्सुरीले धार्मिक आस्थालाई लक्षित गरी सार्वजनिक गरिने यस्ता सामग्रीले सम्बन्धित समुदायको भावनामा चोट पुर्याउनुका साथै सामाजिक सद्भावमा समेत असर पार्न सक्ने बताए। उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिएमा प्रचलित कानुनअनुसार कारबाही गर्न प्रशासनसँग आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले विषयलाई गम्भीरतापूर्वक लिएको बताउँदै आवश्यक छानबिन गरी कानुनी प्रक्रियाअनुसार अघि बढ्ने आश्वासन दिएका छन् ।
फाउन्डेसनले सामाजिक सञ्जालको प्रयोग गर्दा धार्मिक तथा सामुदायिक संवेदनशीलतालाई ध्यान दिन र आपसी सद्भाव कायम राख्नसमेत सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।