
पर्सा : पर्साको पकहामैनपुर गाउँपालिका–२ कटिबलुवामा रहेको ऐतिहासिक श्रीराधा कृष्ण मन्दिरको वर्तमान अवस्था अत्यन्तै जर्जर बनेको स्थानीयहरूले बताएका छन् । करोडौं मूल्य बराबरको सम्पत्ति तथा ठुलो क्षेत्रफलको जग्गा भए पनि मठको संरक्षण र व्यवस्थापन प्रभावकारी हुन नसकेको गुनासो बढ्दै गएको छ ।
स्थानीय विवरणअनुसार मठ–मन्दिरसँग करिब ६५ देखि ७५ बिघा खेतीयोग्य जग्गा रहेको छ । उक्त जग्गाबाट वार्षिक रूपमा ठुलो परिमाणमा धान उत्पादन हुने भए पनि त्यसको उचित संरक्षण र व्यवस्थापन नहुँदा मठको भौतिक अवस्था भने दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।
स्थानीयहरूका अनुसार मठको संरक्षणका लागि न त प्रभावकारी समिति सक्रिय छ, न त नियमित रूपमा जिम्मेवार गुठी संरचना नै सक्रिय रूपमा काम गरिरहेको देखिन्छ । लामो समयदेखि व्यवस्थापन कमजोर हुँदा मठ–मन्दिरको संरचना जीर्ण अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
हाल मठमा पुजापाठको जिम्मेवारी मनिष पाण्डेले निर्वाह गरिरहेका छन् । मठको खेतीयोग्य जमिनबाट उत्पादन हुने धानमध्ये केही हिस्सा पुजारीको दैनिक आवश्यकताका लागि तथा मठको सामान्य खर्च व्यवस्थापनका लागि प्रयोग हुने र बाँकी धान गुठी संस्थान पर्सा कार्यालयमा बुझाइने गरिएको बताइएको छ ।
स्थानीयहरूले अघिल्लो व्यवस्थापन समितिको कार्यकालदेखि नै मठको अवस्था कमजोर बन्दै गएको दाबी गरेका छन् । करिब आठ वर्षदेखि प्रभावकारी समिति गठन नभएको कारण संरचनागत संरक्षण र सम्पत्ति व्यवस्थापन प्रभावित भएको उनीहरूको भनाइ छ ।
यसैबीच, मठको सम्पत्तिसँग सम्बन्धित केही विवादसमेत उठ्दै आएको छ । स्थानीयका अनुसार पहिलेका एक पुजारीले मठका केही जग्गा आफ्नो नाममा दर्ता गरेको विषयमा कानुनी प्रक्रिया अघि बढेको छ । सो विषयमा करिब १५ वर्षदेखि अदालतमा मुद्दा विचाराधीन रहेको बताइएको छ ।
स्थानीय शिक्षक चन्देश चौहानका अनुसार मधेश विश्वविद्यालय स्थापनाको चर्चा हुँदा यस क्षेत्रका स्थानीयहरूले मठको जग्गा शैक्षिक प्रयोजनका लागि उपलब्ध गराउने सकारात्मक सोच देखाएका थिए । तर राजनीतिक असहमतिका कारण योजना अघि नबढ्दा अहिले उक्त जग्गा अनियन्त्रित रूपमा प्रयोग हुँदै आएको आरोप छ ।
त्यस्तै, स्थानीय संस्था प्रतिनिधि उमेश बैठाका अनुसार मठसँग जोडिएको ठूलो पोखरी पनि संरक्षण अभावमा जीर्ण बनेको छ । मठको जग्गा विभिन्न गाउँपालिकाहरूको सीमासम्म फैलिएको भए पनि समन्वयात्मक संरक्षण नहुँदा समस्या झनै जटिल बनेको उनको भनाइ छ ।
स्थानीयहरूले करोडौँ मूल्यको सम्पत्ति भए पनि मठ–मन्दिरको वर्तमान अवस्था दयनीय बनेको भन्दै तत्काल संरक्षण, व्यवस्थापन समिति गठन र सम्पत्ति व्यवस्थापनमा सरकारी तथा सरोकारवाला निकायको ध्यान आवश्यक रहेको माग गरेका छन् ।
हाल मठ परिसरमा प्रहरी चौकी समेत रहेको र विभिन्न स्थानीय तहको सीमा क्षेत्रमा जग्गा फैलिएको भए पनि दीर्घकालीन संरक्षण रणनीति नहुँदा ऐतिहासिक तथा धार्मिक सम्पदा संकटमा परेको स्थानीयहरूको निष्कर्ष छ ।