२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

बाढीले क्षतिग्रस्त उत्तरगया धामको पुनर्निर्माणका लागि पञ्चधाम सेवा केन्द्रको अपिल

Nada
२०८३ भदौ २९ गते १८:३८
Shares
बाढीले क्षतिग्रस्त उत्तरगया धामको पुनर्निर्माणका लागि पञ्चधाम सेवा केन्द्रको अपिल

​काठमाडौं : श्री पञ्चधाम सेवा केन्द्र, नेपालले बाढीबाट क्षतिग्रस्त बनेको उत्तरगया धामको संरक्षण तथा पुनर्निर्माणका लागि संस्थागत अपिल गरेको छ ।

केन्द्रका महासचिव लक्ष्मण प्रसाद बिडारीले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीबाट प्रभावित धाम पुनर्स्थापनाका लागि राज्यका सम्बन्धित निकाय, स्थानीय तह, धार्मिक संघ–संस्था, सामाजिक अभियन्ता, व्यवसायी, प्रवासी नेपाली तथा श्रद्धालु भक्तजनहरूलाई एकजुट भएर सहयोग गर्न आग्रह गरेका छन् ।

केन्द्रले सञ्चालन गर्दै आएको पञ्चधाम अभियानअन्तर्गत गोसाइँकुण्ड, उत्तरगया, दुप्चेश्वर, बौडेश्वर र पशुपतिनाथलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटनमार्फत जोड्दै क्षेत्रीय विकास र स्थानीय आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

पछिल्लो समय त्रिशूली नदीमा आएको बाढीका कारण उत्तरगया धामसहित आसपासका संरचनामा ठुलो क्षति पुगेको छ । यसले नियमित धार्मिक गतिविधि, तीर्थयात्रा र स्थानीय जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको महासचिव बिडारीले उल्लेख गरेका छन् ।

'धामको पुनर्निर्माण केवल भौतिक संरचनाको पुनर्निर्माण मात्र नभई धार्मिक आस्था, संस्कृति र स्थानीय भविष्यको पुनःनिर्माण पनि हो,' अपिलमा भनिएको छ ।

पञ्चधामलाई एकीकृत धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्दै स्थानीय समृद्धिको आधार निर्माण गर्न सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको संस्थाले जनाएको छ ।

सम्बन्धित खबर