२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

संकट : शासन कि विश्वव्यवस्था ?

Nada
भूपेन्द्र थापा ‘माधव’
२०८३ भदौ ३० गते ०६:००
Shares
संकट : शासन कि विश्वव्यवस्था ?

नेपालको वर्तमान संकटलाई केवल सरकारको अक्षमता, राजनीतिक दलहरूको कमजोरी वा प्रशासनिक अव्यवस्थाको परिणाम भनेर बुझ्नु अधुरो हुन्छ । तर यसको सम्पूर्ण दोष विश्वराजनीति, विश्व अर्थव्यवस्था वा बाह्य शक्तिलाई थोपरेर उम्कनु पनि त्यत्तिकै गलत हुन्छ । वास्तविकता यी दुईको बीचमा छ– नेपालको आन्तरिक शासन–संस्कार र बदलिँदो विश्वव्यवस्था बीचको असन्तुलनमा । 

आज नेपाल एउटा यस्तो मोडमा उभिएको छ, जहाँ राजनीतिक परिवर्तनको गति सामाजिक अपेक्षाभन्दा छिटो छ, तर राज्यको संस्थागत क्षमता त्यही गतिमा रूपान्तरण हुन सकेको छैन । पुरानो राजनीतिक पुस्ताप्रति बढेको वितृष्णा, नयाँ पुस्ताको बेचैनी, रोजगारीको अभाव, भ्रष्टाचारप्रतिको आक्रोश, सामाजिक सञ्जालबाट निर्मित राजनीतिक चेतना र परिवर्तनको तीव्र आकांक्षाले नेपालको राजनीतिक परिदृश्यलाई नै बदलिदिएको छ । यही पृष्ठभूमिमा नयाँ पुस्ताबाट आएका प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारप्रति असाधारण अपेक्षा निर्माण भएको छ । यो केवल एउटा नयाँ सरकारको आगमन होइन, पुरानो राजनीतिक संस्कारप्रतिको जनअस्वीकृतिको अभिव्यक्ति पनि हो । तर प्रश्न अब सरकार कसरी बन्यो भन्ने होइन, सरकारले राज्य कसरी बदल्छ भन्ने हो ।

विश्व बैंकको नेपाल विकास अद्यावधिकले पनि नेपालको अर्थतन्त्रमा संरचनागत कमजोरी, कमजोर निजी क्षेत्र, सीमित रोजगारी सिर्जना र वैदेशिक रोजगारीमाथिको उच्च निर्भरता कायम रहेको देखाएको छ । २०२५ को युवा आन्दोलनपछि भएको आर्थिक क्षति समेत करिब कुल गार्हस्थ उत्पादनको १.३ प्रतिशत बराबर अनुमान गरिएको छ । यसले एउटा गम्भीर प्रश्न जन्माउँछ— नेपालमा सरकार परिवर्तन भइरहेको छ, तर नागरिकको जीवन किन अपेक्षित गतिमा परिवर्तन भइरहेको छैन ?

परिवर्तनको राजनीति र राज्यको चरित्र

नेपालले पछिल्ला दशकमा शासन व्यवस्था धेरैपटक बदल्यो । राजतन्त्रबाट गणतन्त्र, एकात्मकबाट संघीय संरचना, द्वन्द्वबाट शान्ति, संविधान निर्माणदेखि नयाँ दलहरूको उदयसम्म नेपाली समाजले ठुल्ठुला राजनीतिक रूपान्तरण देख्यो । तर राजनीतिक परिवर्तन र सामाजिक–आर्थिक रूपान्तरण एउटै कुरा होइनन् । व्यवस्था बदलिन सक्छ, संविधान बदलिन सक्छ, निर्वाचनबाट नयाँ दल आउन सक्छ र प्रधानमन्त्रीको अनुहार पनि बदलिन सक्छ । तर राज्यको निर्णय गर्ने संस्कार, प्रशासनको कार्यशैली, सार्वजनिक स्रोतको वितरण, भ्रष्टाचारको संरचना, राजनीतिक संरक्षण र नागरिकप्रतिको जवाफदेहिताको संस्कृति नबदलिएसम्म नागरिकले परिवर्तनको अनुभूति गर्न सक्दैन ।

त्यसैले आजको नेपालमा सबैभन्दा ठुलो प्रश्न सरकारको होइन, राज्यको चरित्रको हो । नयाँ पुस्ताले पुराना दललाई अस्वीकार गर्नुको पछाडि केवल राजनीतिक फेसन थिएन । त्यसको पछाडि बर्सौंदेखि जम्मा भएको निराशा थियो– रोजगारी, अवसर र राज्यबाट न्याय नपाएको निराशा । नेपालको युवा आन्दोलनले यही असन्तोषलाई राजनीतिक शक्तिमा रूपान्तरण ग¥यो । अब नयाँ सरकारको सबैभन्दा ठुलो चुनौती यही हो– उसले त्यो असन्तोषलाई शासन सुधारमा रूपान्तरण गर्न सक्छ कि सक्दैन ?

नयाँ प्रधानमन्त्री हुनु आफैंमा परिवर्तनको प्रमाण होइन । परिवर्तन त्यतिबेला देखिन्छ, जब सरकारी कार्यालयमा नागरिकले घुस नदिई काम पाउँछ, जब किसानले उत्पादनको उचित मूल्य पाउँछ, जब युवाले विदेश जानुलाई बाध्यता होइन, विकल्पका रूपमा हेर्न सक्छ । त्यसैले वालेन्द्र शाह सरकारको सफलता प्रशासनिक सुधार, आर्थिक उत्पादन, रोजगारी, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवामा हुनेछ ।

दक्षिण एसिया अहिले राजनीतिक संक्रमणको नयाँ चरणमा छ । श्रीलंकामा २०२२, बंगलादेशमा २०२४ र नेपालमा २०२५ मा युवा आन्दोलनले स्थापित सत्तालाई चुनौती दिए । नयाँ पुस्ता अब केवल शासन परिवर्तन चाहँदैन, ऊ जीवनको सम्भावना परिवर्तन चाहन्छ । उसको राजनीतिक प्रश्न अब ‘कसले शासन गर्छ ?’ भन्ने मात्र छैन, उसको प्रश्न हो,– ‘मेरो भविष्य कहाँ छ ?’ 

यसको पछाडि विश्व अर्थराजनीतिको ठुलो परिवर्तन पनि छ । आज नेपालको अर्थतन्त्र संसारसँग गहिरोसँग जोडिएको छ । वैदेशिक रोजगारी, विप्रेषण, पर्यटन, आयात र अन्तर्राष्ट्रिय बजारका उतारचढावले नेपाली जनजीवनलाई प्रत्यक्ष प्रभावित गर्छन् । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरमा मध्यपूर्वको द्वन्द्व, इन्धनको बढ्दो मूल्य र विप्रेषणमा पर्ने जोखिमलाई महत्त्वपूर्ण बाह्य चुनौतीका रूपमा औंल्याएको छ । बाह्य धक्का अपरिहार्य हुन सक्छ, त्यसको सामना गर्ने राज्यको क्षमता भने नेपालको आफ्नै जिम्मेवारी हो ।

हामीसँग जलस्रोत, कृषि भूमि, पर्यटन र युवा जनशक्ति छ, तर सम्भावनालाई परिणाममा बदल्ने राज्य क्षमता कमजोर छ । विश्व अहिले बहुध्रुवीय प्रतिस्पर्धातर्फ बढिरहेको छ । भारत र चीनको बीचमा रहेको नेपालले शक्ति रोज्ने होइन, स्पष्ट राष्ट्रिय हित र सन्तुलित कूटनीति रोज्न सक्नुपर्छ ।

सुशासन, प्रणालीगत सुधार र आगामी बाटो

सुशासन भनेको केवल भ्रष्टाचारविरोधी नारा होइन । सुशासन भनेको नीति स्थिरता, छिटो निर्णय, जवाफदेही प्रशासन, निष्पक्ष न्याय र सार्वजनिक खर्चको प्रभावकारिता हो । नेपाललाई अब व्यक्तिको शुद्धता मात्र होइन, प्रणालीको शुद्धता चाहिएको छ ।

सत्ता परिवर्तनपछि युवा र नयाँ राजनीतिक शक्तिको पनि परीक्षा सुरु भएको छ । सडकमा प्रश्न उठाउनु र शासन चलाउनु फरक कुरा हुन् । जनादेश बलियो हुँदैमा स्थिरता सुनिश्चित हुँदैन, लोकप्रिय अपेक्षा पूरा गर्न नसके नयाँ सरकारमाथि पनि असन्तोष फर्किन सक्छ ।

नेपाललाई अब अर्को राजनीतिक नाराभन्दा राष्ट्रिय पुनर्निर्माणको व्यावहारिक योजना चाहिएको छ । यसका लागि कृषिलाई निर्वाहमुखीबाट आधुनिक उत्पादनमुखी बनाउँदै जलविद्युत्लाई स्वदेशी उद्योग र रोजगारी सिर्जना गर्ने बलियो आधारका रूपमा विकास गर्नुपर्छ । सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रलाई नयाँ अर्थतन्त्रको मुख्य मेरुदण्ड बनाउँदै देशभित्र रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई अनावश्यक प्रशासनिक झन्झटबाट मुक्त गराउनु उत्तिकै आवश्यक देखिन्छ । साथै, सार्वजनिक प्रशासनलाई प्रक्रियामुखी होइन, परिणाममा आधारित बनाउनुपर्छ भने शिक्षालाई प्रमाणपत्र बाँड्ने परम्पराबाट मुक्त गरी सीप र अनुसन्धानमुखी ढाँचामा रूपान्तरण गर्नुपर्छ । वैदेशिक रोजगारी तथा त्यसबाट प्राप्त हुने विप्रेषणलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनशील लगानीमा परिचालन गर्ने, कूटनीतिलाई राष्ट्रिय आर्थिक हितसँग जोड्ने र राजनीतिक स्थिरतालाई विकासको पूर्वाधार बनाउने ठोस योजना अपनाउन सके मात्र नेपालको वास्तविक रूपान्तरण सम्भव छ ।

अन्ततः हाम्रा भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती र कमजोर उत्पादन संरचना बाहिरबाट आएका होइनन् । त्यसैले नेपालको संकट शासनको पनि हो र विश्वव्यवस्थाको पनि हो, तर समाधानको पहिलो जिम्मेवारी नेपालको आफ्नै हो । यदि नेपालले आफ्नो राज्य क्षमता बदल्न सकेन भने बाह्य परिवर्तन हरेकपटक संकट बनेर आउनेछ । तर सुशासन, उत्पादन, ऊर्जा र कूटनीतिमा नयाँ आधार निर्माण गर्न सकियो भने बदलिँदो विश्वव्यवस्था अवसर पनि बन्न सक्छ ।

आज नेपाल एउटा सरकारको परीक्षामा मात्र छैन, सिंगो पुस्ता र राज्यको चरित्रको परीक्षामा छ । इतिहासले अन्ततः यही प्रश्न सोध्नेछ– युवाले सत्ता बदलेपछि राज्य बदलियो कि फेरि केवल सत्ताको अनुहार मात्र बदलियो ? यदि उत्तर ‘अनुहार बदलियो, जीवन बदलिएन’ भयो भने नेपालले अर्को राजनीतिक विस्फोटको बीउ आफैं रोपिरहेको हुनेछ । नेपाललाई अब अर्को परिवर्तनको प्रतीक्षा होइन, भएको परिवर्तनलाई परिणाममा बदल्ने क्षमता चाहिएको छ । त्यसैले उत्तर खोज्दा औंला बाहिर होइन, पहिले आफ्नै राज्यतर्फ फर्काउनुपर्छ ।

सम्बन्धित खबर