
१. विषय प्रवेश
राज्यको पुनर्संरचना गर्ने क्रममा २०७३ फागुन २२ गते नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका साविक ओखरपौवा, चाउथे, ककनी र चतुराले गाविसका सम्पूर्ण वडाहरू तथा साविक मदानपुर गाविसका वडा नं. ७ र ८ र साविक थानसिङ गाविसका वडा नं. ८ र ९ लाई समेटी आठ वडामा विभाजन गरेर ककनी गाउँपालिकाको स्थापना गरिएको हो । कुल क्षेत्रफल करिब ८७.९७ वर्ग किलोमिटर भएको यस गाउँपालिकाको प्रशासनिक केन्द्र (सदरमुकाम) साविक ककनी गाविसको रानीपौवामा रहेको छ । यस गाउँपालिकाको पूर्वमा काठमाडौं उपत्यका तथा शिवपुरी गाउँपालिका, पश्चिममा बेलकोट नगरपालिका, उत्तरमा लिखु गाउँपालिका र दक्षिणमा धुनीबेंसी नगरपालिका रहेका छन् । काठमाडौं उपत्यकासँग नजिक रहेको यस गाउँपालिकाको भू-बनोट मुख्यतः ढल्केको भू-आकृति रहेको छ भने केही खोलाक्षेत्र आसपासका भूभाग समथर फाँटका रूपमा रहेका छन् ।
भौगोलिक उचाइ र विविध भू-आकृतिका कारण ककनी गाउँपालिकामा उष्ण मनसुनीदेखि चिसो समशीतोष्णसम्मका हावापानी पाइन्छ । हावापानी तथा भू-आकृतिको विविधताले गर्दा यहाँ जैविक विविधता र पारिस्थितिक प्रणालीमा समेत विविधता रहेको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक सामाजिक संरचना एवं ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले ककनी गाउँपालिका समृद्ध रहेको छ ।
यी प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विशेषताका कारण ककनी गाउँपालिकाले नुवाकोट जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य तथा पर्यटन नगरीका रूपमा विकास हुने प्रचुर सम्भावना बोकेको छ । यहाँ रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा साहसिक पर्यटनसँग सम्बन्धित स्थलहरूको पहिचान, संरक्षण, प्रवर्द्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । यसबाट स्थानीय कृषि तथा पर्यटन व्यवसायको विकास हुनुका साथै रोजगारी तथा आयआर्जनका अवसरहरू सिर्जना हुने र स्थानीय आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।
पर्यटन विकासका दृष्टिले प्रचुर तथा प्रशस्त सम्भावना बोकेको ककनी गाउँपालिकाभित्र रहेका विभिन्न पर्यटकीय स्थल तथा सम्पदाहरूको संक्षिप्त विवरण देहायबमोजिम प्रस्तुत गरिएको छ ।
२. ककनी डाँडा (हाइट)
ककनी डाँडा (हाइट) काठमाडौँ उपत्यकाबाट करिब २५ किलोमिटर उत्तरपश्चिममा अवस्थित रहेको छ । समुद्र सतहबाट करिब २,०३० मिटरभन्दा बढी उचाइमा रहेको ककनी हाइटमा चिसो समशीतोष्ण हावापानी पाइन्छ । यहाँको मौसम सामान्यतः चिसो हुनुका साथै समय–समयमा परिवर्तन भइरहने भएकाले ककनी डाँडा प्राकृतिक सौन्दर्य र अनुकूल हावापानीका दृष्टिले समेत आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यस क्षेत्रमा विभिन्न प्रसिद्ध स्थल तथा सम्पदाहरू रहेका छन् जसलाई देहाय अनुसार संक्षेपमा उल्लेख गरिएको छ ।
क. पिकनिक स्पोर्ट
ककनी हाइटमा थुप्रै संख्यमा पिकनिक स्पोर्टहरू छन् जहाँ काठमाडौं उपत्यकाबाट वनभोज तथा मनोरञ्जनका लागि ठूलो संख्यामा मानिसहरू आउने गर्दछन् । यहाँ आउने पर्यटक तथा आगन्तुकहरूले ककनीको प्राकृतिक अनुपम सौन्दर्य, मनोरम दृश्य तथा चिसो हावापानीबाट भरपूर मनोरञ्जन लिनुका साथै यहाँका धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाहरूको अध्ययन तथा अवलोकनसमेत गर्ने गर्दछन् । काठमाडौं उपत्यकाको व्यस्त तथा प्रदूषित वातावरणबाट केही समयका लागि बाहिर निस्किएर ककनी हाइट पुग्दा शान्त, स्वच्छ र मनोरम प्राकृतिक वातावरणका कारण स्वर्गीय अनुभूति हुने भएकाले यस स्थानमा पारिवारिक तथा संस्थागत रूपमा वनभोज आयोजना गर्न आउनेहरूको संख्या उल्लेख्य रहेको छ । यसरी ककनी हाइट प्राकृतिक सौन्दर्य, मनोरञ्जन, अध्ययन तथा अवलोकनका दृष्टिले काठमाडौं उपत्यका लगायतका मानिसहरूको लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
ख. ककनी भ्यू टावर
बागमती प्रदेशद्वारा निर्माण सम्पन्न गरी ककनी गाउँपालिकालाई हस्तान्तरण गरिएको ककनी भ्यू टावर हाल सञ्चालनमा रहेको छ । यस भ्यू टावरबाट उत्तरतर्फ लाङटाङ, गणेश, मनास्लु तथा अन्नपूर्ण हिमश्रृंखलाका मनोरम दृश्यहरू नजिकबाट अवलोकन गर्न सकिन्छ । साथै, यस टावरबाट नुवाकोट जिल्ला र रसुवा जिल्लाका अधिकांश भू-भागको दृश्यावलोकन गर्नुका साथै त्रिशूली र लिखु खोलाका सुन्दर फाँटहरू तथा केही माथिल्लो क्षेत्रमा रहेका महाभारत पर्वतशृंखलाहरूको सहज रूपमा अवलोकन गर्न सकिन्छ । त्यस्तै, पूर्व तथा दक्षिणतर्फबाट काठमाडौं उपत्यकाका अधिकांश भू-भागको मनोरम दृश्य सहज रूपमा नियाल्न सकिने भएकाले ककनी भ्यू टावर प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, भौगोलिक विविधताको अवलोकनका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
ग. बसन्ती दरबार
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाका भाइ कर्नेल रणवीरसिंह थापाले वि.सं. १८८८ मा तत्कालीन सरकारबाट लालमोहर प्राप्त गरी ककनी पौवा गुठीको नाममा जग्गासहित बसन्ती दरबार निर्माण गराएका थिए । राणा शासन सुरु हुनुअघि काजी गगनसिंह (भण्डारी) खवासले यस दरबारलाई आफ्नी प्रेमिका मिठु नामकी गाउँकी सुन्दरी बसन्तीको नामबाट ‘बसन्ती दरबार’ नामकरण गरी गृष्मकालीन विश्रामस्थलका रूपमा प्रयोग गर्ने गरेको इतिहासमा उल्लेख पाइन्छ ।

रानी राज्यलक्ष्मीका विश्वासपात्र काजी गगनसिंहको वि.सं. १९०३ भदौ ३१ गते राति करिब १० बजे यसै दरबारको माथिल्लो तल्लास्थित पूजाकोठामा पूजा गरिरहेका अवस्थामा हत्या गरिएको थियो । उनको हत्याको अनुसन्धानका क्रममा घटेको घटनाक्रमले अन्ततः कोतपर्वको रूप लिएको इतिहासमा उल्लेख छ । काजी गगनसिंहले केही समय प्रयोग गरेको यो दरबार कोतपर्वपछि राणाहरूको नियन्त्रणमा पुगेको थियो ।
बसन्तीको प्रेमकथा तथा कोतपर्वलाई आधार बनाएर साहित्यकार डायमन शमशेर राणाले ‘बसन्ती’ उपन्यास लेखेका थिए, जसलाई पछि चलचित्रका रूपमा समेत प्रस्तुत गरी जीवन्तता दिइएको छ । यसरी ककनी हाइटमा अवस्थित बसन्ती दरबार आज पनि बसन्ती र काजी गगनसिंहको प्रेमकथासँगै कोतपर्वजस्तो नेपालको इतिहासकै बीभत्स घटनाको साक्षीका रूपमा आफ्नो ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेर उभिएको छ ।
घ. थाइ मेमोरियल पार्क,
ककनीस्थित थाइ मेमोरियल पार्क सन् १९९२ जुलाई ३१ मा भएको थाइ एयरवेयज इन्टरनेसनल फ्लाइट टिजी३११ विमान दुर्घटनामा ज्यान गुमाएका ११३ जनाको स्मृतिमा निर्माण गरिएको स्मारकस्थल हो । दुर्घटनापछि मृतकहरूको सम्झना तथा सम्मानस्वरूप स्थापना गरिएको यस पार्कलाई भावनात्मक स्मारकस्थलका साथै शान्त र मनोरम स्थलका रूपमा लिइन्छ ।

यस पार्कमा दुर्घटनामा परी दिवंगत भएका व्यक्तिहरूको सम्झना र सम्मानमा निर्माण गरिएका स्मारक संरचनासहित मृतकहरूको नाम उल्लेख गरिएको स्मारक भाग, हरियालीयुक्त रुखबिरुवा, फूलबारी, पानीका धारा तथा स-साना पोखरीलगायतका संरचनाहरू रहेका छन् । ककनीको प्राकृतिक सौन्दर्य, हरियाली तथा हिमाली दृश्यावलोकन गर्न सकिने भएकाले यो स्थान प्राकृतिक रूपमा अनुपम हुनुका साथै गहिरो भावनात्मक संवेदना बोकेको महत्वपूर्ण स्मारक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ ।
ङ. स्ट्रबेरी स्ट्याच्यु, र स्ट्रबेरी खेती
ककनी लामो समयदेखि स्ट्रबेरी खेतीका लागि प्रसिद्ध क्षेत्रका रूपमा परिचित छ । ककनीको कृषि तथा पर्यटन पहिचानलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै स्ट्रबेरी खेतीको पहिचान र स्थानीय कृषि पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्ट्रबेरी स्ट्याच्यु निर्माण गरिएको हो । यसले ककनीको कृषि उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीयस्तरमा कृषि पर्यटनको विकासमा समेत योगदान पुर्याएको छ । ककनीमा स्ट्रबेरी खेतीको सुरुवात वि.सं. २०४८ सालतिर जापानी संस्था जाइती नेपाल को पहलमा भएको देखिन्छ । उक्त संस्थाले दुई जातका स्ट्रबेरी परीक्षणका रूपमा लगाई अनुसन्धान सुरु गरेकोमा जापानी जात ‘न्योहो’ ककनीको हावापानीमा निकै सफल भएको पाइन्छ भने हाल हिमबेरी फार्मबाट “टोचिओटोम” जातका स्ट्रबेरीको उत्पादन झनै राम्रोसँग गरिएको पाइन्छ । ककनीको उचाइ, चिसो हावापानी, उपयुक्त तापक्रम तथा बिहानदेखि बेलुकासम्म पर्याप्त पारिलो घाम लाग्ने भएकाले यहाँको हावापानी स्ट्रबेरी खेतीका लागि अनुकूल रहेको छ । फलस्वरूप स्ट्रबेरीको उत्पादन राम्रो हुन थालेपछि वि.सं. २०६० सालतिरदेखि स्थानीय कृषकहरूले यसलाई प्रमुख नगदे बालीका रूपमा व्यावसायिक रूपमा खेती गर्न थालेको पाइन्छ ।

हाल स्ट्रबेरी खेती ककनी गाउँपालिका वडा नं. २ र ५ का स्थानीय कृषकहरूको आय-आर्जनको महत्वपूर्ण स्रोत बन्न पुगेको छ । स्ट्रबेरीको उत्पादनसँगै यसको अवलोकन, प्रत्यक्ष खेती अनुभव तथा स्थानीय उत्पादनको उपभोगका लागि पर्यटकहरू ककनी आउने क्रम बढ्दै गएको छ । ककनीमा वार्षिक रूपमा करिब एक हजार टनभन्दा बढी स्ट्रबेरी उत्पादन हुने र यसबाट यस क्षेत्रका कृषकहरूले करिब २५ करोड ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको देखिन्छ । यसरी स्ट्रबेरी खेतीले स्थानीय कृषकहरूको आर्थिक अवस्था सुधार गर्नुका साथै ककनीको कृषि पर्यटन, स्थानीय पहिचान र पर्यटकीय आकर्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
च. ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र
नुवाकोटको ककनीमा अवस्थित ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र नेपाल तथा विश्वभरका स्काउटहरूलाई जोड्ने, तालिम प्रदान गर्ने तथा प्रकृति र वातावरण संरक्षणसम्बन्धी अभ्यासलाई प्रवर्द्धन गर्ने प्रमुख साहसिक तथा सिकाइ केन्द्रका रूपमा स्थापित भएको छ । केन्द्रले स्काउटहरूमा नेतृत्व, अनुशासन, आत्मनिर्भरता, सहकार्य तथा व्यावहारिक जीवनोपयोगी सीपको विकास गर्ने उद्देश्यले विभिन्न तालिम तथा गतिविधिहरू सञ्चालन गर्दै आएको छ । साथै, क्याम्पिङ, हाइकिङ, साहसिक गतिविधि तथा एडभेन्चर ट्रेलजस्ता कार्यक्रममार्फत स्काउटहरूको शारीरिक तथा मानसिक क्षमता अभिवृद्धि गर्ने कार्यसमेत हुँदै आएको छ ।

केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्काउटहरूबीच सम्पर्क र सहकार्य स्थापित गरी अन्तर्राष्ट्रिय मित्रता, सांस्कृतिक आदानप्रदान तथा आपसी सहकार्यलाई प्रवर्द्धन गर्दै आएको छ । स्काउट सेन्र अफ एक्सिलेन्स फर नेचर, इन्भाइरोमेन्ट एन्ड सस्टेनेबिलिटीको सदस्यसमेत रहेको यस केन्द्रले वातावरणमैत्री जीवनशैली तथा प्रकृति संरक्षणसम्बन्धी अभ्यासलाई विशेष प्राथमिकता दिएको छ । यसका साथै, विभिन्न संस्था, विद्यालय तथा अन्य समूहका लागि प्रशिक्षण, कार्यशाला तथा सेमिनार सञ्चालन गर्नुका साथै व्यक्तित्व तथा नेतृत्व विकासका लागि समूहमा काम गर्ने, समस्या समाधान गर्ने, जिम्मेवारी बहन गर्ने तथा नेतृत्व क्षमता विकास गर्ने व्यावहारिक अवसर प्रदान गर्दै आएको छ । शान्त र प्राकृतिक वातावरण, हिमाली दृश्य, खुला क्षेत्र तथा प्राकृतिक स्रोतको उपयोगमार्फत मनोरञ्जनसँगै अनुभवात्मक र प्रकृतिमा आधारित सिकाइको अवसरसमेत केन्द्रले उपलब्ध गराउँदै आएको छ ।
हाल फिनल्यान्ड-नेपाल पार्टनरसिप प्रोजेक्ट मार्फत स्काउट्स, पिस एन्ड सेक्युरिटीका क्षेत्रमा समेत विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसअन्तर्गत जलवायु परिवर्तन तथा वातावरण संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, लैङ्गिक समानता तथा महिला सशक्तीकरण, लागूऔषध दुरुपयोग रोकथाम तथा उपचार, जातीय भेदभाव तथा छुवाछुत अन्त्य, बालविवाह न्यूनीकरण, युवा सशक्तीकरण तथा नागरिक सहभागिता, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा समावेशीकरण लगायतका क्षेत्रमा नेपाल स्काउटले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसरी, केन्द्रले साहसिक पर्यटन, प्रकृतिमा आधारित सिकाइ, नेतृत्व तथा व्यक्तित्व विकास, वातावरण संरक्षण र सामाजिक रूपान्तरणलाई एकीकृत गर्दै ककनीको पर्यटन तथा शैक्षिक महत्त्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
छ. पर्वतारोहण र साहसिक पर्यटनसँग सम्बन्धित महत्वपूर्ण तालिम केन्द्र तथा उद्यानहरू
ककनी हाइटमा पर्वतारोहण तथा साहसिक पर्यटनसँग सम्बन्धित महत्वपूर्ण तालिम केन्द्र तथा उद्यानहरू स्थापना गरिएका छन् । विशेषगरी, नेपाल पर्वतारोहण संघ (एनएमए) को पहलमा पर्वतारोहण तथा पर्वतीय पर्यटनको प्रवर्द्धन र विकासका लागि विभिन्न पूर्वाधारहरू निर्माण गरिएका छन् ।

यसअन्तर्गत स्पोर्ट्स क्लाइम्बिङ ट्रेनिङ स्कूल, वाल क्लाइम्बिङ सेन्टर तथा अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यान स्थापना गरिएका छन्, जसले ककनीलाई पर्वतारोहण तथा साहसिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न योगदान पुर्याएका छन् ।
ज. रक क्लाइम्बिङ
ककनी गाउँपालिका ककनी हाइट नजिकै रक क्लाइम्बिङको परीक्षण गरी यसको सुरुवात गरिएको छ । प्राकृतिक रूपमा रहेका ठुला तथा भिराला चट्टानहरू यस क्षेत्रको प्रमुख विशेषता भएकाले रक क्लाइम्बिङलाई व्यवस्थित तथा व्यावसायिक रूपमा सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको देखिन्छ ।

रक क्लाइम्बिङ नेपालमा पनि लोकप्रिय हुँदै गएको एक रोमाञ्चक तथा साहसिक खेल हो, जसले हिमाल आरोहणको पूर्वतयारी, शारीरिक तन्दुरुस्ती तथा साहसिक अनुभवका लागि पर्यटक तथा साहसिक खेलप्रेमीहरूलाई आकर्षित गर्ने गर्दछ । यस क्षेत्रको प्राकृतिक भौगोलिक बनोट र उपलब्ध चट्टानहरूको उपयोग गर्दै रक क्लाइम्बिङलाई थप व्यवस्थित र व्यावसायिक रूपमा विकास गर्न सके ककनीको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ ।
झ. ककनी एड्भेन्चर क्याम्प
निजी क्षेत्रबाट सञ्चालित ककनी एड्भेन्चर क्याम्पले ककनीमा आउने पर्यटक तथा प्रशिक्षार्थीहरूका लागि विभिन्न साहसिक गतिविधिमा सहभागी हुने अवसरसँगै आवासको समेत उचित व्यवस्था गरेको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलसँगै रहेको यस क्याम्पले प्रकृतिसँग नजिक रहेर बस्न चाहने पर्यटकहरूका लागि टेन्टमा बस्ने सुविधा उपलब्ध गराउँदै आएको छ, जसले ककनीको साहसिक तथा प्रकृति–आधारित पर्यटनलाई थप आकर्षक बनाएको छ ।
२. फुङफुङ झरना र क्यानोनिङ
ककनी गाउँपालिकाको वडा नं. ४, धन्सारमा अवस्थित फुङफुङ झरना प्राकृतिक सौन्दर्यका साथै साहसिक पर्यटनको दृष्टिले समेत महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहेको छ । करिब १८५ मिटर (६०० फिटभन्दा बढी) उचाइ रहेको यस झरनाको नजिकै तलतिर करिब १४५ मिटर उचाइको अर्को झरना समेत अवस्थित छ । यी झरनासम्म सहज रूपमा पुग्नका लागि ककनी गाउँपालिकाले पदमार्ग निर्माण गरी पर्यटकको पहुँचलाई सरल बनाएको छ ।

फुङफुङ झरना विशेषगरी क्यानोनिङ जस्तो साहसिक खेलका लागि उपयुक्त गन्तव्य मानिन्छ । डोरीको सहायताले झरनाको बहावसँगै तल झर्ने यस साहसिक गतिविधिको प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र ककनी गाउँपालिकाको सहकार्यमा आवश्यक तालिम सञ्चालन गरी क्यानोनिङको व्यावसायिक रुपमा सञ्चालन गरिएको छ ।

काठमाडौंबाट करिब २५ किलोमिटर दूरीमा रहेको रानीपौवा, ककनीबाट केही तलतर्फ पिच सडक हुँदै झरनासम्म पुग्न सकिन्छ । सहज पहुँच, प्राकृतिक सौन्दर्य तथा साहसिक पर्यटनको सम्भावनाका कारण वर्षायाममा विशेषगरी सार्वजनिक बिदाका दिन फुङफुङ झरनामा युगल जोडिहरू लगायतका हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्दछन् ।
३. लौके झरना
ककनी गाउँपालिका-५ र नुवाकोटको शिवपुरी गाउँपालिका-८ को सिमानामा लौके झरना अवस्थित छ । करिब १५० फिट अग्लो स्थानबाट झर्ने यस झरनाको नामाकरण स्थानीयवासीका अनुसार लौकाजस्तै भएकाले यसको नाम ‘लौके झरना’ रहन गएको हो । काठमाडौंदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको यस झरनासम्म करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ ।

विशेषगरी वर्षायाममा झरनाको मनमोहक दृश्य अवलोकन गर्न, झरनासँग रमाउन तथा मनोरञ्जन लिन आन्तरिक पर्यटक, विशेषतः युवा-युवतीहरूको उल्लेख्य आगमन हुने गरेको छ । झरना अवलोकनका लागि आउने आन्तरिक पर्यटकको चहलपहल बढेसँगै स्थानीय उत्पादनको बिक्री-वितरणमा वृद्धि हुनुका साथै व्यापार-व्यवसायसमेत विस्तार हुँदै गएको छ । यसरी लौके झरना पर्यटनको आकर्षणको केन्द्र मात्र नभई स्थानीय समुदायको आयआर्जन र आर्थिक गतिविधिको महत्वपूर्ण स्रोतका रूपमा समेत विकसित हुँदै गएको छ ।
४. गर्वासी हिल टप पार्क
गर्वासी हिल टप पार्क ककनी गाउँपालिका-४, हिलेखर्कमा अवस्थित एक उदीयमान पर्यटकीय गन्तव्यस्थल हो । समुद्री सतहदेखि करिब २,०३० मिटर (६,६६० फिट) को उचाइमा रहेको यस क्षेत्रको मौसम छिनछिनमा कुहिरो लाग्ने, पानी पर्ने, घाम लाग्ने तथा पलपलमा बदली भइरहने विशेषतायुक्त छ । खुला उच्च डाँडामा अवस्थित यस पार्कबाट उत्तरतर्फका हिमशृङ्खलाहरू तथा नुवाकोट र रसुवा जिल्लाका अधिकांश भू-भागको मनोरम दृश्य र पूर्वतर्फ काठमाडौं उपत्यका सहजै अवलोकन गर्न सकिन्छ ।

हिमशृङ्खला तथा उच्च महाभारत पर्वतहरूको दृश्यावलोकन, प्राकृतिक सौन्दर्य, शान्त वातावरण र पारिवारिक पिकनिकका लागि समेत यो पार्क आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गर्वासी डाँडा पार्कको प्रवर्द्धन तथा सौन्दर्य अभिवृद्धिका लागि ककनी गाउँपालिकाले विभिन्न पूर्वाधार तथा वातावरणीय विकासका कार्यहरू गर्दै आएको छ । यस क्रममा पदमार्ग तथा विश्रामस्थल (चौतारी) निर्माण, चिया रोपण, गार्डेनिङ तथा विभिन्न प्रजातिका बिरुवा रोपणलगायतका कार्यहरू सञ्चालन गरिएका छन् । यस्ता प्रयासले पार्कको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाउनुका साथै यस क्षेत्रलाई प्रकृति, दृश्यावलोकन, मनोरञ्जन तथा पारिवारिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ ।
५. घुमाउने पार्क
घुमाउने डाँडा पार्क ककनी गाउँपालिका वडा नं. ३ को गैरीखर्क क्षेत्रमा अवस्थित एक मनोरम पर्यटकीय स्थल हो । उच्च थुम्कोमा रहेको यस पार्कबाट वरपरका ग्रामीण क्षेत्रको दृश्यावलोकन गर्दै प्राकृतिक सौन्दर्य, शान्त तथा एकान्त वातावरणमा मनोरञ्जन लिन सकिन्छ ।

यस क्षेत्रको प्रमुख आकर्षण पहाडी भू-परिवेश, मनोरम प्राकृतिक वातावरण तथा मौलिक ग्रामीण परिवेश रहेको छ । ककनीको अन्य पर्यटकीय क्षेत्रभन्दा केही फरक विशेषता बोकेको यस स्थललाई स्थानीयस्तरमा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको छ ।
६. रेम्बो ट्राउट
रेम्बो ट्राउट मूलतः ककनी–रानीपौवा आसपासका क्षेत्रमा चिसो, स्वच्छ तथा निरन्तर बगिरहने पानीमा व्यावसायिक रूपमा पालन गरिँदै आएको छ । रेम्बो ट्राउट पालनका लागि ककनीको करिब १,७००–१,८०० मिटर आसपासको उचाइ, प्राकृतिक मुहान तथा वर्षभरि उपलब्ध रहने चिसो पानीका स्रोतहरूले अनुकूल वातावरण सिर्जना गरेका छन् । ककनीको रेम्बो ट्राउट व्यवसायको इतिहास हेर्दा जापानको सहयोग महत्वपूर्ण रहेको पाइन्छ । सन् १९८८ तिर जापानबाट रेम्बो ट्राउटका अण्डा ल्याई ललितपुरस्थित गोदावरी मत्स्य अनुसन्धान केन्द्रमा भुरा उत्पादन तथा हुर्काउने कार्य सुरु गरिएको थियो । तत्पश्चात् त्रिशूली मत्स्य अनुसन्धान केन्द्रलाई रेम्बो ट्राउट पालनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक सहयोग प्राप्त भएको थियो । उक्त केन्द्रले ककनी क्षेत्रका स्थानीय बासिन्दालाई रेम्बो ट्राउट पालनसम्बन्धी प्राविधिक ज्ञान, सीप तथा प्रोत्साहन प्रदान गर्दै पालन व्यवसाय विस्तारमा समेत सहयोग पुर्याएको थियो ।

यसै क्रममा ककनीका स्थानीय पूर्णबहादुर लामाले सन् १९९८ मा रानीपौवा क्षेत्रमा निजी रूपमा रेम्बो ट्राउट पालन सुरु गरेका थिए । हाल ककनीमा उत्पादित रेम्बो ट्राउटको माग निरन्तर बढ्दै गएको छ । यहाँ उत्पादित ट्राउट माछा ककनी गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेस्टुरेन्टहरूका साथै काठमाडौं उपत्यकाकामा समेत बिक्री-वितरण हुँदै आएको छ । ट्राउट व्यवसायको विस्तारसँगै ककनीमा रेस्टुरेन्ट सञ्चालन गर्ने ‘फार्म-टु-टेबल’ अवधारणाको समेत विकास भएको छ । पर्यटकहरूले ट्राउट फार्ममै माछा अवलोकन गर्न, ताजा माछा खरिद गर्न तथा आफ्नै रोजाइअनुसार पकाएर खान सक्ने सुविधा प्राप्त गर्न थालेपछि ट्राउट फार्म तथा माछाका रेस्टुरेन्टहरू पर्यटकका आकर्षणका महत्वपूर्ण केन्द्रका रूपमा विकास भएका छन् ।
यसरी रेम्बो ट्राउट व्यवसायले ककनीमा कृषि उत्पादन, स्थानीय रोजगारी, होटल तथा रेस्टुरेन्ट व्यवसाय र पर्यटन क्षेत्रलाई एकआपसमा जोड्ने महत्वपूर्ण आधार तयार गरेको छ । विशेषगरी स्थानीय उत्पादनको अवलोकन, ताजा खाद्यवस्तुको उपभोग तथा कृषि फार्ममा आधारित मनोरञ्जनात्मक गतिविधिका माध्यमबाट रेम्बो ट्राउट पालनले ककनीको कृषि पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
७. ककनीको मुला
ककनी गाउँपालिकामा उत्पादित मुला यहाँको चिसो हावापानी र भौगोलिक उचाइका कारण अन्य क्षेत्रको मुलाको तुलनामा रसिलो, कुरकुरे, स्वादिलो र राम्रो आकारको हुने गर्छ । यसको विशिष्ट स्वाद र गुणस्तरका कारण ककनीको मुला काठमाडौं उपत्यकाका प्रमुख सहरदेखि पोखरासम्मका बजारमा समेत लोकप्रिय छ । फलस्वरूप, यी बजारहरूमा ककनीमा उत्पादित मुलाले ‘ककनीको मुला’ नामबाट विशेष पहिचान तथा प्रसिद्धि हासिल गरेको देखिन्छ । ककनी गाउँपालिकाका सबै भेगमा मूलाको खेती गर्न सकिने भएकोले मूला खेती कृषकहरूको आय आर्जनको मुख्य खेती भएको छ ।
८. सांस्कृतिक सम्पदा
ककनी गाउँपालिका विविध जातजाति, भाषा, धर्म, संस्कार, परम्परा तथा मौलिक जीवनशैलीले सम्पन्न बहुसांस्कृतिक क्षेत्र हो । यहाँ तामाङ, नेवार, ब्राह्मण, क्षेत्री, गुरुङ, राई, मगर, घले, दमाई, कामी, सार्की लगायत विभिन्न समुदायको बसोबास रहेको छ । विशेषगरी तामाङ समुदायको मौलिक भाषा, भेषभूषा, ल्होसार, सेलो गीत-नृत्य, डम्फु तथा टुङ्नाजस्ता सांस्कृतिक पक्षले ककनीको मौलिक पहिचानलाई विशिष्ट बनाएका छन् ।
त्यसैगरी, ब्राह्मण तथा क्षेत्री समुदायका दशैं, तिहार, तीज, जनैपूर्णिमा, शिवरात्री लगायतका धार्मिक तथा सांस्कृतिक पर्व तथा नेवार, गुरुङ, मगर, राई, घलेलगायत समुदायका मौलिक भाषा, भेषभूषा, खानपान, गीत–संगीत र नृत्यले ककनीको सांस्कृतिक विविधतालाई थप समृद्ध बनाएका छन् । विभिन्न समुदायका चाडपर्व, जात्रा, धार्मिक अनुष्ठान, परम्परागत संस्कार, लोकगीत-नृत्य, स्थानीय खानपान तथा परम्परागत सीप र ज्ञान ककनीका महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेका छन् ।
ककनीको सांस्कृतिक विविधता यहाँका प्राकृतिक तथा पर्यटकीय सम्पदासँग जोडिन सक्ने महत्वपूर्ण आधारका रूपमा रहेको छ । स्थानीय संस्कृति, परम्परागत जीवनशैली, कला, भेषभूषा, खानपान तथा चाडपर्वलाई पर्यटकीय गतिविधिसँग जोड्दै पर्यटकहरूले प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न सक्ने वातावरण सिर्जना गर्न सकेमा सांस्कृतिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय संस्कृति तथा परम्पराको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।
९. गर्वासी मन्दिर
ककनी गाउँपालिका वडा नं. ४, गर्वास तथा हिलेखर्कमा अवस्थित गर्वासी मन्दिर स्थानीय धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्रमुख धार्मिक स्थल हो । स्थानीय रूपमा “गरुवासी महादेव मन्दिर” का नामले समेत परिचित यस मन्दिरमा नियमित रूपमा पुजारी बस्ने र दैनिक पूजा-आराधना हुने गर्दछ । प्रत्येक वर्ष धान्यपूर्णिमाको अघिल्लो रातदेखि विशेष पूजा तथा धार्मिक मेला आयोजना हुने गर्दछ ।

रातभर सञ्चालन हुने उक्त धार्मिक कार्यक्रममा नुवाकोटका विभिन्न स्थानका साथै आसपासका क्षेत्रबाट विशेषगरी हिन्दू धर्मावलम्बीहरूको उल्लेख्य रुपमा सहभागिता हुने गरेको छ । यसरी गर्वासी मन्दिरले स्थानीय धार्मिक आस्था, संस्कृति तथा परम्पराको संरक्षणसँगै धार्मिक पर्यटन विकासको सम्भावना बढाएको छ ।
१०. गुम्बा तथा चैत्यहरू
ककनी गाउँपालिका क्षेत्रभित्र विभिन्न गुम्बा तथा चैत्यहरू रहेका छन् । पधेली गुम्बा, ककनी गुम्बा, छ्योर्तेन गुम्बा, निङ्मा टासी छयोलिङ गुम्बा, लामा टोल गुम्बा तथा बरबन्दी चैत्य गुम्बा लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूले यस क्षेत्रको बौद्ध धार्मिक एवं सांस्कृतिक पहिचानलाई समृद्ध बनाएका छन् ।

यी गुम्बा तथा चैत्यहरूमा बुद्ध तथा बोधिसत्त्वको पूजा, लामा/गुरुबाट धार्मिक अनुष्ठान, मन्त्र तथा पाठ, मृतकको सम्झनामा गरिने पूजा, ल्होसार तथा अन्य बौद्ध पर्वको उत्सव, सामुदायिक भेला, धार्मिक शिक्षा, चैत्य तथा मणिमा पूजा एवं प्रार्थना लगायतका धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । यस्ता गतिविधिहरूले विशेषतः तामाङ जाति तथा अन्य बौद्ध समुदायको धार्मिक आस्था, परम्परा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
११. महालक्ष्मी मन्दिर
ककनी गाउँपालिका वडा नं. १, बलामी गाउँमा अवस्थित महालक्ष्मी मन्दिर स्थानीय बलामी समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको छ । करिब २१०० घरधुरीमा फैलिएको बलामी समुदायले महालक्ष्मी रथयात्रा तथा श्री महालक्ष्मी जात्रालाई ‘कोइलापुन्ही’ नामले श्रद्धापूर्वक पूजा-आराधना गर्ने प्रमुख धार्मिक केन्द्र हो । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन लाग्ने यस जात्रामा अघिल्लो दिनदेखि नै साना बालबालिकादेखि वृद्धवृद्धासम्मले पानीसमेत नखाई निराहार व्रत बस्ने परम्परा रहेको छ । जात्राका अवसरमा प्रत्येक घरबाट एउटा-एउटा बोका बलि चढाउने चलनसमेत रहिआएको छ । स्थानीय जनविश्वासअनुसार, महालक्ष्मी आफ्नो घरबाट माइतीतर्फ आउँदा बाटोमा एउटा दियो अर्थात् टुकीबत्ती देखिने कथा जोडिएको छ । जुन कथा अनुसार माइतीघर जानेक्रममा महलक्ष्मीलाई माइती घर नपुग्दासम्म उक्त दियोले बाटो देखाई सहारा दिएको थियो । त्यसैगरी महालक्ष्मीको रथ जात्राको एक दिनअघि ल्याउने र एक दिनपछि उक्त रथ फर्काउने परम्परा रहेको छ । यस मन्दिरप्रति स्थानीय समुदायको गहिरो आस्था रहनुका साथै यहाँ पुस्तौँदेखि धार्मिक तथा सांस्कृतिक परम्पराहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएका छन् ।

बलामी समुदायको आफ्नै विशिष्ट जीवनशैली, सामाजिक परम्परा, सांस्कृतिक अभ्यास तथा मौलिक पहिचान रहेको पाइन्छ । यहाँका स्थानीय बासिन्दाहरू मुख्यतः कृषि, तरकारी उत्पादन तथा स्थानीय व्यापार-व्यवसायमा संलग्न रहेका छन् । आफ्नो मौलिक संस्कृति, परम्परा तथा सामाजिक एकतालाई संरक्षण गर्दै महालक्ष्मी मन्दिरप्रति यस समुदायको अगाध आस्था रहेको पाइन्छ ।
यसरी, महालक्ष्मी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई बलामी समुदायको इतिहास, संस्कृति, परम्परा, सामाजिक एकता तथा मौलिक पहिचानसँगै अभिन्न रूपमा जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा हो । मन्दिरसँग सम्बन्धित जात्रा तथा अन्य सांस्कृतिक परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्न सकेमा यसलाई ककनी गाउँपालिकाको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको छ ।
१२. रुम्बाराजको दरबार
ककनी गाउँपालिका वडा नं. १, पदेलीभन्दा केही माथि शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने अर्घौता भन्ने स्थानमा रुम्बाराजाको दरबार थियो । स्थानीय जनश्रुतिअनुसार २४ से राज्य विस्तारका क्रममा तामाङ रुम्बा राजा देवसिंह बरुले त्यस स्थानका राजा भई शासन सञ्चालन गरेका थिए ।

उनका भाइ साङ्गे बरु तपस्वी गुरु थिए भन्ने जनविश्वास पाइन्छ । यस क्षेत्रमा तत्कालीन समयसँग सम्बन्धित विभिन्न संरचनाका भग्नावशेषहरू प्रशस्त मात्रामा भेटिने भएकाले अर्घौता ऐतिहासिक, पुरातात्विक दृष्टिले समेत महत्वपूर्ण स्थलका रूपमा रहेको देखिन्छ ।
१३. अन्तमा,
“ककनीको भावना : पर्यटक हाम्रो पाहुना” भन्ने दीर्घकालीन सोचका साथ ककनी गाउँपालिकाले पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको छ । अनुपम प्राकृतिक सौन्दर्य, बहुजातीय तथा बहुसांस्कृतिक विविधता, विशिष्ट भौगोलिक एवं सामाजिक विशेषता तथा ऐतिहासिक र पुरातात्त्विक सम्पदाले समृद्ध यस गाउँपालिकाले पर्यटन विकासका क्षेत्रमा प्रशस्त सम्भावना बोकेको छ । यी सम्भावनाहरूलाई उजागर, संरक्षण तथा प्रवर्द्धन गर्न एवम् गाउँपालिकाको समग्र पर्यटन विकासलाई मार्गदर्शन गर्ने पर्यटन विकास गुरुयोजना निर्माण तथा कार्यान्वयन गर्न आवश्यक देखिन्छ । पर्यटन पूर्वाधार तथा पर्यटकीय क्षेत्रको योजनाबद्ध र दिगो विकासका लागि संघ, प्रदेश, स्थानीय सरकार तथा निजी क्षेत्रबीच आवश्यक समन्वय, सहकार्य र साझेदारी कायम गर्दै पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने देखिन्छ । उपलब्ध प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, विकास तथा प्रवर्द्धन गर्दै ककनी गाउँपालिकालाई पर्यटन नगरीका रूपमा विकास गरी नेपालकै उत्कृष्ट, आकर्षक, दिगो तथा पर्यटकमैत्री पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।
(लेखक राई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, सिंहदरबारमा कार्यरत शाखा अधिकृत तथा ककनी गाउँपालिका नुवाकोटका पूर्वप्रमुख प्रशासकीय अधिकृत हुन् ।)