
हरितालिका तिज नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान बोकेको एक अत्यन्त महत्त्वपूर्ण पर्व हो । विशेषगरी हिन्दु नेपाली महिलाहरूले श्रद्धा, आस्था, उमंग र उत्साहका साथ मनाउने तिज पछिल्लो समय धार्मिक सीमामा मात्र सीमित छैन । यसले महिलाहरूबीचको आत्मीयता, सामाजिक सम्बन्ध, सांस्कृतिक निरन्तरता र आफ्ना अनुभव तथा भावना अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसरसमेत प्रदान गर्दै आएको छ । समयसँगै तिज मनाउने शैलीमा परिवर्तन आए पनि यसको सांस्कृतिक आत्मा अझै नेपाली समाजमा जीवन्त छ ।
तिजको धार्मिक पृष्ठभूमि भगवान् शिव र माता पार्वतीसँग जोडिएको छ । पौराणिक मान्यताअनुसार पार्वतीले शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको प्रसंगसँग तिजको सम्बन्ध जोडिन्छ । त्यसैले विवाहित महिलाले श्रीमान्को दीर्घायु र पारिवारिक सुखको कामना गर्ने तथा अविवाहितले असल जीवनसाथीको कामना गर्ने परम्परा रहँदै आएको छ । यद्यपि आजको पुस्ताले तिजलाई केवल वैवाहिक जीवनसँग मात्र नजोडी महिला एकता, आत्मसम्मान र स्वतन्त्र अभिव्यक्तिको पर्वका रूपमा समेत बुझ्न थालेको छ ।
सांस्कृतिक महत्त्व र बदलिँदो समाज
तिजका लोकगीत, नृत्य, पहिरन, पूजा र दर खाने परम्पराले पुस्तौंदेखि नेपाली समाजलाई जोड्दै आएका छन् । माइत जाने, दिदीबहिनी तथा साथीभाइसँग भेटघाट गर्ने र सामूहिक रूपमा गाउँदै नाच्ने परम्पराले यसलाई विशेष बनाएको छ । विगतमा महिलाले आफ्ना दुःख, पीडा, माइतीको सम्झना र सामाजिक विभेदका कुरा प्रत्यक्ष व्यक्त गर्न कठिन हुँदा तीजका लोकगीत अभिव्यक्तिको मुख्य माध्यम बनेका थिए । यस अर्थमा तीज मनोरञ्जनको पर्व मात्र नभई सामाजिक संवादको सशक्त माध्यमसमेत थियो ।
दर खाने परम्पराको आफ्नै सामाजिक अर्थ छ । व्रतको अघिल्लो दिन परिवार तथा आफन्तबीच बसेर मिठा परिकार खाने र शुभकामना साटासाट गर्नाले आपसी सम्बन्ध नजिक बनाउँछ । तर आधुनिक समयमा यो संस्कृतिमा बदलाव आएको छ । घर–परिवारमा सीमित रहने दर अहिले होटल, पार्टी प्यालेस र विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सरेको छ । यसले सामाजिक सहभागिता बढाए पनि अत्यधिक खर्च, देखासिकी र प्रतिस्पर्धात्मक होडबाजी बढाउनु चिन्ताको विषय हो । पर्वको सुन्दरता खर्चको प्रदर्शनमा होइन, आत्मीयता र संस्कृतिको संरक्षणमा हुनुपर्छ ।
आज महिलाहरू शिक्षा, रोजगार, राजनीति र नेतृत्वका विभिन्न क्षेत्रमा अघि बढेका छन् । त्यसैले आधुनिक तिजका गीत र कार्यक्रमहरूले पनि महिला अधिकार, समानता, हिंसाविरुद्धको आवाज र आत्मनिर्भरतालाई विषय बनाउन थालेका छन् । यसले तिजलाई परम्परा संरक्षणसँगै सामाजिक चेतना अभिवृद्धिको माध्यम बनाएको छ ।
प्रविधिको प्रभाव र मौलिकता
डिजिटल प्रविधि र सामाजिक सञ्जालले तीज मनाउने शैलीलाई निकै परिवर्तन गरिदिएका छन् । फेसबुक, टिकटक, युट्युबजस्ता माध्यमबाट तिजका गीत, नृत्य र शुभकामना संसारभर फैलिरहेका छन् । विदेशमा रहेका नेपाली महिलाले पनि आफ्नै समुदायमा तिज मनाएर संस्कृति जोगाइरहेका छन् । यसले भौगोलिक दूरीले संस्कृति रोक्न सक्दैन भन्ने देखाएको छ । प्रविधिको सही प्रयोगले हाम्रा परम्परा नयाँ पुस्तासम्म पुर्याउन सकिन्छ ।
तर सामाजिक सञ्जालमा देखिने तडकभडक र अनावश्यक प्रतिस्पर्धाले तिजको मौलिकतालाई ओझेलमा पार्ने जोखिम पनि छ । आधुनिकता स्वीकार गर्दा संस्कृतिको मूल स्वरूप र सामाजिक मूल्यलाई बिर्सनु हुँदैन । संस्कृति स्थिर हुँदैन, समयसँगै परिवर्तन हुन्छ । आजको पुस्ताले आफ्नै ढंगले तिज मनाउनु स्वाभाविक हो, तर परिवर्तनका नाममा मौलिक लोकगीत र सामाजिक मूल्य हराउनु उचित होइन ।
हामीले तिजलाई खर्च र प्रदर्शनको होइन, सांस्कृतिक गौरव, पारिवारिक आत्मीयता, महिला एकता र सामाजिक चेतनाको पर्व बनाउन आवश्यक छ । हरितालिका तिज नेपाली समाजको साझा सांस्कृतिक सम्पदा हो । यसमा धर्म, संस्कृति, मनोरञ्जन र सामाजिक चेतनाको सम्भावना रहेको छ । समयअनुसार स्वरूप बदलिए पनि यसको मौलिकता, सद्भाव र सांस्कृतिक मूल्य जोगाउनु हाम्रो दायित्व हो । देखासिकी र विकृतिलाई त्यागेर समानता र आत्मीयतालाई प्राथमिकता दिन सके तिज अझ अर्थपूर्ण बन्नेछ ।