२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

हिन्दु शास्त्र र नेपाली कानुनमा न्यायाधीशको आचरण

समयमा न्याय नगर्नु पनि अन्याय गर्नु हो भनिन्छ तर मनुका अनुसार राम्रोसँग प्रमाण र तथ्यहरूको जाँचबुझ नगरीकन र उचित प्रक्रिया (पूर्वपक्ष, उत्तरपक्ष, क्रिया र निर्णय) आदि पूरा नगरीकन फैसला सुनाउनु वा गर्नु पनि आचार संहिताको विरुद्ध मानिएको छ ।

Nada
डा. सीताराम खतिवडा
२०८३ साउन १८ गते १२:४३
Shares
हिन्दु शास्त्र र नेपाली कानुनमा न्यायाधीशको आचरण

नेपालको कानुनी प्रणाली हिन्दुधर्ममा आधारित रहेको पाइन्छ । हिन्दु विधिशास्त्रमा रहेका नियम कानुनहरू नै नेपाली कानुनका प्राचीन दस्तावेजहरू हुन् । सामाजिक विकास परम्परामा तत्‌ तत् समयमा चलनचल्तीमा रहेका धर्मग्रन्थ, संस्कार, संस्कृति, सामाजिक मूल्यमान्यता सद्विवेकका आधारमा त्यस बेलाको न्यायप्रणाली निर्देशित रहेको देखिन्छ। नेपालको न्याय प्रणाली कमन लको आधारमा हाल प्रचलित रहेको भएता पनि यो खासगरी प्राचीन हिन्दु ग्रन्थहरू र त्यसमा पनि खासगरी वेदमा आधारित रहेको देखिन्छ। यो प्रणालीको विकास ईशापूर्व ४००० देखि १००० को बीचमा विकास भएको पाइन्छ। यसले श्रुति, स्मृति लगायतका अन्य धर्मग्रन्थका आधारमा न्याय प्रणालीलाई निर्देशित गरेको पाइन्छ ।

ncell

यी प्राचीन धार्मिक ग्रन्थमा न्याय सम्पादन गर्दा अपनाउनु पर्ने खास नियम, सिद्धान्तहरूका बारेमा पर्याप्त मात्रामा उल्लेख भएको पाइन्छ। यी ग्रन्थहरुले न्यायाधिकारी, साक्षी, प्रमाण आदिका विषयमा बताएका छन् । यसै सन्दर्भमा स्वच्छ, निष्पक्ष, पारदर्शी र भेदभावरहित रूपमा न्याय सम्पादन गर्नका लागि न्यायाधिकारी वा न्यायाधीश योग्य हुनुपर्छ, न्यायाधीश योग्य भएमा नै उचित न्याय हुन सक्छ भन्दै न्यायाधिकारीको योग्यताका बारेमा पनि व्यवस्था भएको पाइन्छ। यसरी न्यायाधीशको आचार संहिताका विषयमा उल्लेख भएका मुख्य धर्मशास्त्र वा ग्रन्थहरूमा मनुस्मृति, याज्ञवल्क्यस्मृति पराशर स्मृति, नारदस्मृति, शुक्रस्मृति आदि पर्दछन् । यी मध्ये पनि मनुस्मृति र याज्ञवल्क्यस्मृतिमा न्यायव्यवस्था अन्तर्गत न्यायाधीश वा ( न्यायाधिकारी) का लागि एक उच्च नैतिक आचार संहिताको निर्धारण गरिएको पाइन्छ। प्राचीन हिन्दु न्यायशास्त्रमा न्यायाधीशलाई कानुनको जानकार मात्र नमानेर सत्य र धर्मको रक्षकका रूपमा पनि वर्णन गरिएको पाइन्छ।

नेपालको कानुनी इतिहासको विकासक्रम प्राचीनकालमा हिन्दु धर्मशास्त्रहरू मनुस्मृति र याज्ञवल्क्यस्मृतिबाट प्रभावित रहेको छ । मनुस्मृतिपछि याज्ञवल्क्यस्मृतिको दोस्रो भाग व्यवहाराध्यायमा कानुनी प्रणाली, न्यायाधीशको योग्यता र आचरण सम्बन्धी व्यवस्थाको विशेष वर्णन भएको पाइन्छ । प्राचीन‌कालमा न्यायको मुख्य श्रोत धर्मशास्त्रहरू थिए भने वर्तमान समयमा यो लिखित संविधान, ऐन र अन्तराष्ट्रिय सिद्धान्तहरूमा आधारित छ । आधुनिक नेपाली कानुनको विकास किरांतकाल, लिच्छवीकाल, मल्ल काल, राम शाह, आधुनिककाल हुँदै विकसित भएको पाइन्छ । वि.सं. १९१० को मुलुकी ऐन जारी भएपछि यसको शुरुवात भएको पाइन्छ । त्यसपछि विभिन्न चरणहरू पार गर्दै नेपालको आधुनिक कानुनी प्रणाली हालको अवस्थामा आइपुगेको छ । विभिन्न कानुनी दस्तावेजहरूमा न्यायाधीशको आचार संहिताका बारेमा उल्लेख गरिएको भएता पनि नेपालको संविधानको धारा

मा न्यायाधीशको नियुक्ति र योग्यताका विषयमा व्यवस्था भएको पाइन्छ । त्यसैगरी न्यायाधीशको आचार संहिता, २०७४मा पनि न्यायाधीशको आचारसंहिताका विषयमा यथेष्ट मात्रामा व्यवस्था गरेको छ । यो आचार संहिता न्याय परिषद् ऐन, २०७४ को दफा ३३ (घ) बमोजिम न्याय परिषद्‌द्वारा जारी गरिएको हो । यो आचार संहिताले अन्तर्राष्ट्रियस्तरको बैंगलोर सिद्धान्तलाई समेत आत्मसात गरेको छ । यसरी न्यायाधीशको आचारसंहिताका बारेमा विभिन्न कानुनहरू निर्माण भएको पाइन्छ ।

लोभान्मोहाद्भयान्मैत्र्यात् क्रोधात्तथैव च । अज्ञानाद्बालभावाच्च साक्ष्यं वितथमुच्यते ।(मनु. अ.८,श्लो.११८ । अर्थात् यस्तो गवाही वा न्यायलाई झुटो मानिन्छ, जुन लालच, मोह-ममता, डर, मित्रता, काम, क्रोध, अज्ञान अथवा बालकपनमा दिइएको हुन्छ ।

पूर्वीय हिन्दु शास्त्रमा वर्णन गरिएको न्यायाधिकारी वा न्यायाधीशको आचरण वा कर्तव्यलाई मनुस्मृति र याज्ञवल्क्यस्मृतिका आधारमा निम्नलिखित बुंदाहरूमा समेट्न सकिन्छ -

मनुस्मृतिका अनुसार न्यायाधीशको आचारसंहिता

योग्यता र नैतिक चरित्र विद्वता

मनुका अनुसार न्यायाधीशलाई चारै वेद, धर्मशास्त्रहरू र देशको सामाजिक-आर्थिक परम्पराहरुको (व्यवहार) पूर्ण ज्ञान हुनु आवश्यक हुन्छ।

यदा स्वयं न कुर्यात्तु नृपतिः कार्यदर्शनम् ।
तदा नियुज्ज्याद्विद्वांसं ब्राह्मणं कार्यदर्शने ॥ मनु.अ.८,श्लो.९ ।

अर्थात् यदि राजाले कुनै विषयमा स्वयंले विचार गर्न सक्तैन वा १८ प्रकारका कार्यमध्ये कुनै विषयमा ज्ञान छैन भने कुनै विद्वान् ब्राह्मणलाई कार्य गर्न नियुक्त गर्नुपर्छ । यसको मतलव न्यायाधीश सम्बन्धित विषयको विज्ञ हुनुपर्छ भन्ने हो । गौतमधर्मसूत्रमा पनि भनिएको छ-

राजा प्रांविवाको ब्राह्मणो वा शास्त्रवित् । (गौतमधर्मसूत्रम्, अ.४,सूत्र २६ ।

अर्थात् राजा स्वयं नै न्यायकर्ता( सोधेपछि विचार गरेर न्याय गर्नेवाला) बनोस् वा कुनै शास्त्रज्ञ ब्राह्मणलाई न्यायकर्ता बनाओस् ।

उच्च कुल र स्वच्छ चरित्र

न्यायकर्ताको आचरण समाजमा आदर्श हुनुपर्दछ । न्यायकर्तामाथि कुनै पनि किसिमको नैतिक वा वित्तीय दाग लागेको हुनु हुँदैन । मनुका अनुसार राजा नै न्यायाधिकारी हुन्थे। राजाको अनुपस्थितिमा उच्च कुलीन बाह्मणले न्याय सम्पादन गर्दथे।

धर्मासनमधिष्ठाय संवीताङ्ग समाहितः।
प्रणम्य लोकपालेभ्यः कार्यदर्शनमाचरेत् ॥मनु०.८,श्लो.२३ ।

अर्थात् राजाले धर्मासनमा बसेर आफ्नो शरीरलाई

ढाकेर तथा सावधानीपूर्वक लोकपालहरूलाई प्रणाम गरेर विवाद‌ह‌रूको सुनुवाई शुरु गर्नुपर्दछ । यसको आशय के हो भने न्यायाधीकारी उच्च कुलिन र स्वच्छ चरित्रको हुनुपर्दछ । साथै धर्मासनको आशय न्याय गर्ने समयमा जुन आसन वा कुर्सीको उपयोग गरिन्छ त्यससँग सम्बन्धित छ । शरीरलाई आवृत्त गर्नु वा ढाक्नुसँग सम्बन्धित छ । अर्थात् न्यायाधीशले न्याय सम्पादन गर्दा विशेष किसिमको पहिरन लगाउनु पर्दछ भन्ने हो ।

क्रोध, लोभ र व्यसनबाट राढा रहनु

मनुस्मृतिका अनुसार न्यायाधीश क्रोध, लोभ, काम (वासना), शिकार, जुवा र मदिरापान जस्ता सबै प्रकारका व्यसनहरूबाट पूर्ण रुपले टाढा रहनु‌ पर्दछ। जस्तो कि-

लोभान्मोहाद्भयान्मैत्र्यात् क्रोधात्तथैव च ।
अज्ञानाद्बालभावाच्च साक्ष्यं वितथमुच्यते ।(मनु. अ.८,श्लो.११८ ।

अर्थात् यस्तो गवाही वा न्यायलाई झुटो मानिन्छ, जुन लालच, मोह-ममता, डर, मित्रता, काम, क्रोध, अज्ञान अथवा बालकपनमा दिइएको हुन्छ ।

निष्पक्षता र तटस्थता

रागद्वेषको परित्याग

न्यायाधिकारी कुनै पनि वाद (केस) को सुनुवाई गर्ने समयमा आफ्नो व्यक्तिगत प्रेम, मित्रता, शत्रुता वा कुनै पनि प्रकारको पूर्वाग्रहबाट मुक्त हुनुपर्दछ ।

दश काम समुत्थानि तथाष्टौ क्रोधजानि च ।
व्यसनानि दुरन्तानि प्रयत्नेन विवर्जयेत् ।(मनु. अ.७,श्लो.४५ ।

अर्थात् कामवासनाबाट उत्पन्न हुने दश तथा क्रोधबाट उत्पन्न हुने आठ, यसप्रकार कुल अठार दुर्जेय विषयहरू माथि विजय प्राप्त गर्न तथा तिनीहरूबाट मुक्त रहने प्रयत्न राजाले गरिरहनु पर्दछ ।

त्यसैगरी-
पैशुन्यं साहसं मोहं ईर्ष्याsसूयार्थ दूषणम् ।
वाग्दण्डजं च पारुष्यं क्रोधजोsपिगणोsष्टक: । मनु.अ.७,श्लो.४८ ।

अर्थात् आठ व्यसन जो क्रोधबाट उत्पन्न हुन्छन् । ती हुन्- १ चुक्लि लगाउनु, २ साहस, ३ द्रोह, ४ ईर्ष्या गर्नु, ५ अरुमाथि दोष देख्ने बानी, ६ अर्काको धन हरण गर्नु, ७ गाली गर्नु, ८ अरुलाई नराम्रो व्यवहार गर्नु । यस्ता किसिमका व्यसनहरूबाट पनि न्यायाधीश अलग रहनु पर्दछ ।

समान व्यवहार

राजा वा न्यायाधीशका लागि धनी, गरीब, उच्च वर्ण वा निम्न वर्णका सबै व्यक्तिहरुका साथ कुनै पनि किसिमको भेदभाव विना साक्षी र प्रमाणहरूका आधारमा न्याय गर्नु पर्ने व्यवस्था रहेको छ ।

यत्र धर्मोह्यधर्मेण सत्यं यत्राsनृतेन च ।
हन्यते प्रेक्षमाणानां हतास्तत्र सभासद: । (मनु. अ.८, श्लो.१४)

अर्थात् यस्तो सभामा जहां सभासद्हरूको सामुन्नेमा नै अनृत( झुटो)ले सत्यलाई तथा अधर्मले धर्मलाई दबाउंछ भने त्यस सभाका सभासदहरू त्यस पापका कारण छिट्टै नाश भएर जान्छन् । त्यसकारण न्यायधीशले समानतापूर्वक सत्यको साथ दिनुपर्दछ ।

कर्तव्यको पालना

राजा वा न्यायाधीशले न्याय सम्पादन गर्ने समयमा आफ्नो कर्तव्यको पालना उचित ढंगले गर्नुपर्दछ । ठुलो-सानो, धनी-गरीब, जात, धर्म, वर्ण, लिंग, उमेर आदिका आधारमा भेदभाव नगरीकन न्याय गर्नु नै आफ्नो न्यायिक धर्म हो भन्ने जानेर फैसला गर्नुपर्दछ ।

जातिजानपदान्धर्मान्श्रेणीधर्मांश्च धर्मवित् ।
समीक्ष्य कुलधर्मांश्च स्वधर्मं प्रतिपादयेत् ।(मनु. अ.८,श्लो.४१)

अर्थात् धर्मज्ञ राजाले जाति धर्म,जनपद धर्म, श्रेणी धर्म(व्यापारी आदिको नियत धर्म) तथा कुल धर्महरूलाई राम्रोसंग जानेर आफ्नो न्यायिक धर्मलाई पूरा गर्नुपर्दछ ।

धर्मेण व्यवहारेण छलेनाचरितेन च ।
प्रयुक्तं साधयेदर्थं पंचमेन बलेन च । (मनु.अ.८,श्लो.४९)

अर्थात् राजाले पहिले धर्म अनुसार अर्थात् सीधा तरिकाले, कोही अरूबाट लिइने धनबाट, छलबाट, मानहानि र लोकनिन्दाको डर देखाएर तथा यी चारवटै साधनहरू असफल भएमा बल प्रयोगद्वारा ऋणिबाट साहु वा महाजन(ऋण दिनेवाला) लाई धनराशि फर्काउनु पर्दछ ।

अधर्मदण्डनं लोके यशोघ्नं कीर्तिनाशनम् ।
अस्वर्ग्यं परत्रापि तस्मात्तत्परिवर्जयेत् ।
अदण्ड्यान्दण्डयन् राजा दण्ड्यांश्चैवाप्यदण्डयन् ।
अयशो महदाप्नोति नरकं चैव गच्छति ।(मनु.अ.८,श्लो.१२७-२८)

अर्थात् दण्ड दिंदा अधर्म गर्नाले(अन्यायपूर्ण दण्ड दिनाले) यस लोकमा अपयश मिल्दछ साथै मृत्युपछि पनि अपकीर्ति मिल्छ र नरक प्राप्त हुन्छ । त्यसकारण अन्यायपूर्वक कसैलाई दण्डित गर्नु हुँदैन ।१२७

जो व्यक्ति त्यस्ता व्यक्तिहरूलाई दण्ड दिन्छन् जसलाई दण्ड दिनु हुंदैन तथा जसलाई दण्ड दिनु उचित छ, तिनीहरूलाई दण्ड दिंदैनन् भने त्यस्ता न्यायकर्तालाई यस संसारमा धेरै अपयश मिल्दछ र मरेपछि पनि नरक जान्छन् ।१२८

त्यसकारण न्यायकर्ताले-
अनेन विधिना राजा मिथोविवदतां नृणाम् ।
साक्षिप्रत्ययसिद्धानि कार्याणि समता नयेत् (मनु.अ.८,श्लो.१७७) ।

अर्थात् राजा वा न्यायकर्ताले के गर्नु पर्छ भने प्रजाहरूको पारस्परिक विवादहरूलाई गवाह(साक्षी)हरू, दस्तावेजहरू र अन्य प्रमाणहरूका अनुसार न्यायपूर्वक निप्ट्याउनु पर्दछ ।

न्यायिक प्रक्रिया र साक्ष्य

सत्यको खोजी

मनुस्मृ‌तिमा भनिएको छ कि जसरी एउटा शिकारीले रगतको निशानी (चिह्न) बाट हरिणको खोजी गर्दछ, त्यसैगरी न्यायाधीशले पनि बाहिरी चेष्टा, गवाह (साक्षी) र सबुत (प्रमाण)हरूबाट सत्यमा पुग्नु पर्दछ।

यथा नयत्यसृक्पातैर्मृगस्य मृगयु: पदम् ।
नयेत्तथाsनुमानेन धर्मस्य नृपति: पदम् । ( मनु. अ.८, श्लो.४४ ।

अर्थात् जसरी शिकारीले घाईते हरिणको शरीरबाट बगेको रगतका छिटालाई देखेर त्यसको अनुसरण गर्दै लुकेर बसेको हरिणको खोजी गर्दछ, त्यसैगरी राजा वा न्यायाधीशले पनि विवाद सम्बन्धी तथ्यहरू विभिन्न सूत्रहरूद्वारा सही जानकारी पाउंने प्रयत्न गर्नुपर्दछ । त्यसैगरी-

बाह्यैर्विभावयेल्लिंगैर्भावमन्तर्गतं न‌णाम् ।
स्वरवर्णेंगिंताकारैश्चक्षुषा चेष्टितेन च ।
आकारैरिंगितैर्गत्या चेष्टया भाषितेन च ।
नेत्रवक्त्रविकारैश्च गृह्यन्तेsन्तर्गतं मन: ।( मनु. अ.८, श्लो.२५,२६ ।

अर्थात् विवादहरूको समाधान गर्ने समयमा राजाले अपराधीहरूको बाहिरी चिह्नहरू- स्वर, मुखको रंग, आंखाको हाउभाउ तलमाथि हेर्नु ( पसीना आउंनु, हडबडाउनु, त्रसित हुनु) आदिबाट तिनीहरूको मनोदशा वा भावनालाई जान्ने प्रयत्न गर्नुपर्दछ ।२५ त्यसैगरी व्यक्तिको मुखमद्रा, अंगहरू कांप्ने क्रिया, विभिन्न चेष्टाहरू, बोलिमा भिन्नता, आंखा तथा अनुहारमा आएका विकारहरूद्वारा तिनीहरूका मनको भाव पत्तो लाग्दछ । भनाइको आशय के हो भने न्याय दिने व्यक्तिले वादी र प्रतिवादीको यी क्रियाहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ ।

समयमा न्याय नगर्नु पनि अन्याय गर्नु हो भनिन्छ तर मनुका अनुसार राम्रोसँग प्रमाण र तथ्यहरूको जाँचबुझ नगरीकन र उचित प्रक्रिया (पूर्वपक्ष, उत्तरपक्ष, क्रिया र निर्णय) आदि पूरा नगरीकन फैसला सुनाउनु वा गर्नु पनि आचार संहिताको विरुद्ध मानिएको छ ।

लिखित साक्ष्यको प्राथमिकता

मनुस्मृतिको तुलनामा याज्ञवल्क्यस्मृतिमा अधिक व्यावहारिक परिवर्तन गरिएको छ। याज्ञवल्क्यस्मृतिमा गवाह (साक्षी) को मौखिक बयानभन्दा माथि रहेर लिखित दस्तावेजहरू र अनुबन्धहरूलाई बढी महत्त्व दिइएको पाइन्छ।

बलाद्दत्तं बलाद्भुक्तं बलाद्यच्चापि लेखितम् ।
सर्वान्बलकृतानर्थानकृतान्मनुरब्रवीत् । ( मनु. अ.८ श्लो.१६८ ।

अर्थात् मनुको स्पष्ट आदेश यो छ कि बल प्रयोगद्वारा लेखाइएको वा गराइएको कार्य अथवा भोगिएको वस्तुलाई अप्रामाणिक मान्नु पर्दछ( अर्थात् बल देखाएर भोगिएको अथवा लिइएको

वस्तु, धन, स्त्री आदिमा उसको स्वामी वा मालिकको नै अधिकार हुन्छ ।

सत्यमर्थं च सम्पश्येदात्मानमथ साक्षिण: ।
देशरूपं च कालं च व्यवहारविधौ स्थित: ।( मनु. अ.८, श्लो.४५ ।

अर्थात् विवादको निर्णय गर्नका लागि उद्यत राजाले अथवा उसका प्रतिनिधिले सत्यले युक्त व्यवहारलाई, आफूलाई( आफूले कुनै पक्षपात त गरिरहेको छोइन), वा साक्षीहरूको देश, काल तथा रूपलाई हेरेर निर्णय गर्नुपर्दछ । पुनश्च-

बहुत्वं परिगृह्णीयात्साक्षिद्वैधे नराधिप: ।
समेषुतुगुणोत्कृष्टान् गुणिद्वैधे द्विजोत्तमान् ।।( मनु. अ.८,श्लो.७३ ।

अर्थात् आपसमा विरोधी साक्षिहरूमा अधिक संख्यावालालाई नै राजाले प्रमाण मान्नु पर्दछ । यदि परस्पर विरोधी साक्षीसमान संख्यामा छन् भने गुणीहरूको संख्याको अनुपातलाई तथा अनुपात पनि बराबर भएमा उच्च ब्राह्मणहरू वा विद्वान्हरूलाई साक्षी प्रमाण मान्नुपर्दछ ।

छिटो निर्णयमा रोक 

समयमा न्याय नगर्नु पनि अन्याय गर्नु हो भनिन्छ तर मनुका अनुसार राम्रोसँग प्रमाण र तथ्यहरूको जाँचबुझ नगरीकन र उचित प्रक्रिया (पूर्वपक्ष, उत्तरपक्ष, क्रिया र निर्णय) आदि पूरा नगरीकन फैसला सुनाउनु वा गर्नु पनि आचार संहिताको विरुद्ध मानिएको छ ।

दश लक्षणानि धर्मस्य ये विप्रा: समधीयते ।
अधीत्य चानुवर्तन्ते ते यान्ति परमां गतिम् ।(मनु. अ.६, श्लो.९२ ।

अर्थात् जो ब्राह्मण दश लक्षणहरू भएको धर्मको ज्ञान प्राप्त गरेर तिनीहरूको पालन गर्दछ, त्यसले परमगति प्राप्त गर्दछ । भनाइको मतलव के हो भने न्यायधीशले हतार नगरीकन सम्पूर्ण न्यायिक विधि र प्रक्रिया पुर्याएर धैर्यतापूर्वक निर्णय गर्नुपर्दछ ।

भ्रष्टाचार र न्यायको उल्लंघन

रिश्वत (घुस) खान प्रतिबन्ध

यदि कुनै न्यायाधीशले कुनै पक्षबाट गुप्तधन (घुस) लिन्छ वा जानीबुझिकन गलत फैसला गर्दछ भने त्यसलाई ठूलो सजायको भागेदार वा पात्र मानिएको छ ।

ये कार्यिकेभ्योsर्थमेव गृह्णीयु: पापचेतस: ।
तेषां सर्वस्वमादाय राजा कुर्यात्प्रवासनम् ।(मनु. अ.७, श्लो.१२४ ।

अर्थात् प्रजाको कुनै कार्य गरिदिए वापत त्यसको बदलामा घुस(रिश्वत) लिने अपवित्र बुद्धि भएका अधिकारीहरूको सारा सम्पत्ति खोसेर तिनीहरूलाई देश निकाला गरिदिनुपर्छ । त्यसैगरी-

उत्कोचकाश्चोपधिका पंचका: कितवास्तथा ।
मंगलादेशवृत्ताश्च भद्राश्चेक्षणिकै: सह ।
असम्यक्कारिणश्चैव महामात्राश्चिकात्सका: ।
शिल्पोपचारयुक्ताश्च निपुणा: पण्ययोषित: ।( मनु.अ.९, श्लो.२५७-५८ ।

अर्थात् राजा वा न्यायाधिकारीले गुप्तचरहरूका माध्यमबाट प्रकट चोरहरूको बारेमा जानकारी राख्नुपर्दछ । ती प्रकट चोरहरू यस प्रकारका छन्- रिश्वतखोर( घुस खाने) , बलपूर्वक धन हडप्नेवाला, धोकेबाज, जुवाडी, राजाको नाम लिएर विभिन्न प्रलोभन देखाएर धन लुट्नेवाला, भद्र( उत्तम) उपाय अपनाएर लुट्नेवाला, ज्योतिषको नाममा धोका दिनेवाला, उच्च कर्मचारी, चिकित्सक, धूर्तव्यक्ति तथा वेश्याहरू । यस्ता प्रत्यक्ष रूपले प्रजाहरूलाई ठग्नेवाला र आर्य वा सज्जनको भेष धारण गरेर घुम्ने अनार्य ( ढोंगी) हरूको सूचना पनि राजासंग हुनुपर्दछ ।

पापको भागीदार

मनुस्मृतिमा एउटा प्रसिद्ध सिद्धान्त यो छ कि यदि सभामा कुनै गलत न्याय हुन्छ भने त्यस अन्यायको पापको एक चौथाई भाग झुटो गवाही दिनेलाई, एक चौथाई पाप गर्नेलाई, एक चौथाई राजालाई र एक चौथाई पाप त्यस न्यायाधीशलाई लाग्दछ, जो चुपचाप बस्तछ वा गलत न्याय गर्दछ । यसलाई मनुले यस प्रकार उल्लेख गरेका छन् -

पादोsधर्मस्य कर्तारं पादः साक्षिणमृच्छति ।
पादः सभासदः सर्वान् पादो राजानमृच्छति ॥ मनु.अ.८, श्लो.१८ ।

यसबाट के बुझिन्छ भने राजाले न्यायको व्यवस्था यस्तो किसिमले गर्नुपर्छ कि अधर्म वा अन्याय हुनै नसकोस् ।

याज्ञवल्क्यस्मृतिमा वर्णित न्यायाधीशको आचारसंहिता

मनुस्मृ‌ति पछि याज्ञवल्क्यस्मृतिमा हिन्दु शास्त्रीय कानुनका विषयमा व्यापक विमर्श भएको पाइन्छ। याज्ञवल्क्यस्मृतिको दोस्रो अध्याय जसलाई व्यवहाराध्याय पनि भनिन्छ । यसमा न्यायाधीश वा प्राङ्‌विवाक र न्यायिक सदस्यहरू (सभ्य) हरुका लागि एक उच्च र स्पष्ट आचार संहिताको व्यवस्था भएको पाइन्छ । यस स्मृतिका अनुसार न्यायाधीश कस्तो हुनुपर्छ, उसले कस्तो प्रकारले न्याय सम्पादन गर्नुपर्छ, र पक्षपात गरेको अवस्थामा कस्तो किसिमको दण्ड पाउँछ भन्ने विषयमा व्याख्या गरेको छ । याज्ञवल्क्यस्मृतिका अनुसार न्यायाधीश र न्यायिक सभाका सदस्यहरूको योग्यता वा आचारसंहिता निम्न प्रकारको रहेको छ-

क्रोध र लोभबाट मुक्ति

यस स्मृतिका अनुसार न्यायाधीश वा सभासदहरू चारै वेदको मर्मलाई बुझ्ने, वेदज्ञ, धर्मशास्त्रहरूका ज्ञाता, सधै साँचो बोल्ने र अझ महत्त्वपूर्ण रुपमा भन्नुपर्दा क्रोध तथा लोभबाट रहित हुनु पर्दछ। यस कुरालाई याज्ञवल्क्यले यसरी प्रस्तुत गरेका छन् -

श्रुताध्ययनसम्पन्ना धर्मज्ञाः सत्यवादिनः।
राज्ञा सभासदः कार्या रिपौ मित्रे च ये समाः ।।( याज्ञवल्क्यस्मृति,अ.२, श्लो.२ ) ।

अर्थात् राजाले यस्ता व्यक्तिहरूलाई सभासद ( न्यायाधीश / न्यायिक सदस्य) नियुक्त गर्नुपर्दछ जो वेदको र धर्मशास्त्र‌हरूको विद्वान् होस्, धर्म जान्नेवाला होस्, सत्य बोल्ने र शत्रु तथा मित्र दुवैमा समान दृष्टि राख्ने निष्पक्ष होस् ।

बिना पूर्वाग्रही र युक्तिसंगत न्यायको निर्देशक न्यायाधीशले कहिल्यै पनि कसैको प्रभावमा आएर वा बिना सोचविचार गरेर निर्णय गर्नुहुन्न-

अपश्यता कार्यवशाद् व्यवहारान्नृपेण तु ।
सभ्यैः सह नियोक्तव्यो ब्राह्मणः सर्वधर्मवित् । (याज्ञ. अ.२, श्लो.३) ।
केवलं शास्त्रम् आश्रित्य न कर्तव्यो विनिर्णय: ।
युक्तिहीने विचारे तु धर्महानिः प्रजायते । (वृहस्पतिस्मृतिः)

अर्थात् यदि राजाले स्वयं मुद्दाहरू हेर्न भ्याएनन् भने उनले सबै धर्मलाई जान्ने विद्वान् ब्राह्मण (प्राङ्‌विवाक/न्यायाधीश) लाई सभ्यहरूका साथ न्याय सम्पादनका निमित्त नियुक्त गर्नुपर्दछ। किनभने बिना सोचविचार वा युक्ति वा तर्करहित विचारले धर्मलाई हानी गर्दछ ।

पक्षपात वा अनुचित न्याय गरेमा न्यायाधीशका लागि दण्डको विधान

याज्ञवल्क्यस्मृतिमा भ्रष्टाचार वा पक्षपात गर्ने न्यायाधीशहरूका लागि कडा वित्तीय दण्डको प्रावधान राखिएको छ-

रागद्वेषभयाल्लोभाद् यः सभ्योऽन्यथा ब्रूयात् ।
स दण्ड्‌यः पृथक् पृथक् राज्ञा द्विसहस्रं दमं तथा ।। (याज्ञ. २,४ ।

अर्थात् यदि कुनै सभासद वा न्यायाधीश राग (आसक्ति), द्वेष (शत्रुता), भय वा लोभ (घुस) का वशमा परेर शास्त्र वा सत्यको विरुद्ध गलत निर्णय गर्दछ भने राजाद्वारा उसलाई छुट्टाछुट्टै दुई दुई हजार पण (त्यस समयको मुद्रा) को ठूलो दण्ड दिनु पर्दछ ।

निष्पक्षता र समानता

मनुस्मृतिमा जस्तै याज्ञवल्क्यस्मृतिमा पनि न्यायाधीश निष्पक्ष हुनुपर्ने कुरा उल्लेख गरिएको छ र सबै वर्ग, जात, धर्म, वर्ण, मुद्दा आदिमा समानताको सिद्धान्त न्यायाधीशले अबलम्वन गर्नुपर्ने कुरा वर्णन गरिएको छ।

धर्मशास्त्रानुसारेण क्रोधलोभविवर्जितः ।
सभ्यै: सहिता: पश्येद् व्यवहाराननुक्रमात् । (याज्ञ.२.१)
अर्थात् राजा वा मुख्य न्यायाधीशले आफ्नो व्यक्तिगत

क्रोध, लोभ, मोह र पक्ष‌पातलाई पूर्ण रुपमा त्यागेर धर्मशास्त्रको नियमहरू अनुसार नै सभासद अर्थात् विद्वान् न्यायविद्हरुका साथमा मिलेर विवाद (मुद्दा) हरूको क्रमानुसार जाँच गर्नुपर्दछ र पूर्ण निष्पक्षताका साथ आफ्नो निर्णय सुनाउनु पर्दछ ।

अदालतको भित्र र बाहिर न्यायाधीशको आचरण यस्तो हुनुपर्दछ कि जसबाट जनतालाई न्यायपालिकाको निष्पक्षतामा विश्वास कायम रहोस् किनभने न्यायिक काम कारवाहीको उपयुक्त सम्पादनका लागि निष्पक्षता अत्यावश्यक हुन्छ र न्यायिक निर्णयमा मात्र नभएर निर्णयपूर्वका समस्त न्यायिक प्रक्रियामा पनि निष्पक्ष‌ता कायम गरिनुपर्छ ।

प्रमाणमा आधारित न्याय

न्यायाधीशले विना पूर्वाग्रह सबै पक्षको सुनुवाई गरेर प्रमाण र तथ्यका आधारमा न्याय सम्पादन गर्नु पनि न्यायाधीशको आचार संहितामा समेटिएको छ ।

प्रमाणं लिखितं भुक्तिः साक्षिणश्चेति कीर्तितम् । एषामन्यतमाभावे दिव्यान्यतममुच्यते ।। याज्ञ.,व्यवहारध्याय-श्लोक-२२ ।

अर्थात् न्यायालयीय न्याय प्रक्रियामा कुनै पनि कुराको सिद्धिका लागि तीन प्रकारका मानुषी प्रमाण (मानवीय साक्ष्य) बताइएको छ -

१. लिखित- लिखित दस्तावेज, पत्र वा ताम्रपत्र ।
२. भुक्ति- कुनै सम्पत्ति या भूमिमा वास्तविक अधिकार वा उपभोग ।
३. साक्षी- साक्षीहरूको बयान ।

यिनीहरूको अभावमा न्यायको निर्णयका लागि दिव्य- प्रमाणको सहायता लिइन्छ ।

व्यवस्थित प्रक्रियाको पालना

न्याय सम्पादन एउटा व्यवस्थित प्रक्रिया भएकाले यसलाई विधि र नियममा आधारित भई सम्पन्न गर्नुपर्छ। त्यसका लागि तोकिएका सम्पूर्ण प्रकियाका बारेमा न्यायाधीश जानकार हुनुपर्दछ र तत्‌ तत् विधि र प्रक्रियाका आधारमा न्याय सम्पादन गर्नु पनि न्यायाधीशको आचरणमा पर्दछ ।

न्याय सम्पादन गर्ने समयमा राजा वा न्यायाधीश कस्तो हुनु पर्दछ भन्ने विषयमा व्यवहाराध्यायको पहिलो श्लोकमा नै यसरी उल्लेख गरिएको छ-

व्यवहारान्नृपः पश्येद् विद्वद्भिर्ब्राह्मणैः सह ।
धर्मशास्त्रानु‌सारेण कोधलोभविवर्जितः ॥ याज्ञ०न्याव. १)

अर्थात् राजाले विद्वान् ब्राह्मणहरू (कानुनका विशेषज्ञहरु) का साथमा मिलेर क्रोध र लोभलाई पूर्ण रूपमा त्यागेर धर्मशास्त्रका नियमअनुसार मुद्दाहरू(व्यवहार) लाई न्यायपूर्वक सम्पादन गर्नुपर्दछ ।

याज्ञवल्क्य स्मृतिका अनुसार न्यायालयमा कुनै पनि मुद्दा मामिला वा विवादहरु सुल्झाउने प्रक्रिया चार चरणहरु (पादहरु) मा पूरा हुन्छ । जसलाई चतुष्पाद व्यवहार भनिएको छ।

प्रथम पाद- भाषा पाद (पूर्वपक्ष वा वाद पत्र)

जब कुनै पीडित व्यक्ति आफ्नो शिकायत वा जाहेरी लिएर आउँछ भने त्यसको कुरालाई लेख्नु पर्दछ ।

स्मृत्युक्तोsनेन मार्गेण धर्षितः परैः।
आवेदयति चेद्राज्ञे व्यवहारपदं हि तत् ।। याज्ञ.,व्यवहार., श्लो.५ ।

अर्थात् जब कुनै व्यक्ति शास्त्रहरूद्वारा बताइएको बाटोबाट अलग भएर अरुद्वारा सताइन्छ र राजासँग शिकायत वा निवेदन गर्दछ भने त्यसैलाई व्यवहार (मुद्दा) को शुरुवात भएको मानिन्छ । वादीको कुरालाई तिथि, वर्ष र विवरणका साथ लेखेर राखिन्छ।

द्वितीय पाद-उत्तरपाद (प्रतिपक्ष को जवाफ)

वादी (निवेदनकर्ता) को सामुन्ने प्रतिवादी (आरोपी) को पक्ष लेख्नु-
श्रुतार्थस्योत्तरं लेख्यं पूरआवेदकसंमुखम् । याज्ञ.,व्यव·श्लो.६ ।

अर्थात् वादीका दावीहरूलाई सुनिसकेपछि आरोपी (प्रतिवादी)लाई आफ्नो बचाउमा जे जे भन्नुछ, त्यसलाई वादीको सामुन्ने स्पष्ट रूपमा लेखिनु पर्दछ ।

तृतीय पाद - क्रिया पाद (प्रमाण वा साक्ष्य प्रस्तुत गर्नु) आफ्नो दावीहरूलाई सिद्ध गर्नका लागि सबुत (प्रमाण) हरू पेश गर्नु-

ततो ऽर्थी लेखयेत्सद्यः प्रतिज्ञातार्थसाधनम् । याज्ञ.,व्यव.,श्लो.७ ।

अर्थात् उत्तर दर्ता भैसकेपछि वादीले तुरुन्त आफ्नो दावीलाई सिद्ध गर्नेवाला साधनहरू(साक्षी, दस्तावेज वा सबुत / प्रमाण) न्यायालयको सामुन्ने प्रस्तुत गर्नुपर्दछ।

चतुर्थ पाद - निर्णय वा सिद्धिपाद (फैसला) प्रमाणहरुका आधारमा न्यायको अन्तिम स्थिति वा फैसला-

तत्सिद्धौ सिद्धिमाप्नोति विपरीतमतोऽन्यथा ।
चतुष्पाद्व्यवहारोऽयं विवादेषूपदर्शितः।। याज्ञ.,व्यव. श्लो.८ ।

अर्थात् यदि वादीले आफ्नो साधनहरू (सबुत वा प्रमाणहरू) लाई सिद्ध गरिदिन्छ, भने उसलाई विजय (सिद्धि) प्राप्त हुन्छ, अन्यथा विपरीत परिणाम (हार) मिल्दछ । मुद्दाहरु छिनोफानो गर्नका लागि यही चार चरणवाला (चतुष्पाद) न्याय प्रक्रिया याज्ञवल्क्य स्मृतिमा अपनाइएको पाइन्छ ।

आर्थिक आचरण र सदाचार

न्यायाधिकारीले न्याय गर्दा सबै पक्षलाई भेदभाव र पूर्वाग्रहरहित रुपमा गर्नुपर्दछ भन्ने मान्यता रहेको छ। आर्थिक रुपमा पारदर्शी हुनुपर्छ। कसैसँग अनुचित किसिमको लेनदेन (घुस) लिएर फैसला गर्नु हुदैन। न्यायाधीश आर्थिक रुपमा मात्र नभएर व्यावहारिक रुपमा पनि सदाचारी र कर्तव्यनिष्ठ हुनु पर्दछ। समाजको आदर्श व्यक्ति भएकाले अफिसियल रूपमा मात्र नभएर दैनिक जीवन यापनका कतिपय सामाजिक जीवनमा पनि न्यायाधीश सदाचारी हुनुपर्दछ भन्ने मान्यता रहेको पाइन्छ।

अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियनिग्रहः।
दाने दमो दया शान्तिः सर्वेषां धर्मसाधनम् ॥( याज्ञ. १. १२२)

अर्थात् अहिंसा, सत्य, अस्तेय (चोरी नगर्नु वा अनुचित किसिमले धन नलिनु) ,शौच (मन र व्यवहारको पवित्रता), इन्द्रियनिग्रह (इन्द्रियहरु‌लाई वशमा राख्नु), दान, दम (संयम) दया र शान्ति-यी सबै मनुष्यका धर्मका मुख्य साधन हुन् ।

याज्ञवल्क्य स्मृतिमा आर्थिक र सामाजिक आचरणलाई सही दिशा दिनका लागि धर्मको स्रोतमा सदाचारलाई सर्वोच्च स्थान दिइएको पाइन्छ -

श्रुतिः स्मृतिः सदाचारः स्वस्य च प्रियमात्मनः।
सम्यक्सङ्‌कल्पजः कामो धर्ममूलमिदं स्मृतम् ॥ (याज्ञ.१.७)

अर्थात् वेद (श्रुति), स्मृतिहरू, सत्पुरुषहरूको सदाचार (श्रेष्ठ आचरण), आफ्नो अन्तःकरणको प्रसन्नता र उत्तम सङ्‌कल्पबाट उत्पन्न भएको इच्छा-यी सबै धर्मका मूल आधार हुन् । व्यक्तिले कुनै पनि आर्थिक व्यवहार गर्ने समयमा सदाचार र आफ्नो आत्माको आवाजलाई ध्यानमा राख्नु पर्दछ ।

आधुनिक नेपाली कानुनमा न्यायाधीशको आचारसंहिता न्यायाधीश आचारसंहिता न्यायाधीशहरूको व्यवहार, निष्पक्षता र न्यायिक स्वतन्त्रता‌लाई कायम राख्नका लागि बनाइएको नैतिक नियमहरु‌को संग्रह हो । अन्तर्राष्ट्रिय स्तरमा यसलाई मुख्य रुपले बैंगलोर प्रिन्सिपल आफ ज्यूडिशियल कन्डक्टका रूपमा लिइन्छ । नेपालमा यसलाई मुख्य रुपमा न्यायाधीश आचारसंहिता २०६५ का रुपमा लागू गरिएको छ। यस आचार संहिताका अनुसार एउटा न्यायाधीशले निम्नलिखित मुख्य सिद्धान्त र नियमहरुको पालना गर्नु अनिवार्य छ-

न्यायिक स्वतन्त्रता

न्यायाधीशले कुनै पनि बाहिरी दबाब, राजनीतिक हस्तक्षेप वा व्यक्तिगत सम्बन्धहरुबाट मुक्त भएर स्वतन्त्र रूपबाट निर्णय लिनु पर्दछ । किनभने कानुनको शासन र स्वच्छ सुनुवाईको आधारभूत प्रत्याभूति नै न्यायिक स्वतन्त्रताको पूर्व शर्त हो । त्यसकारण न्यायाधीशले सधैं व्यक्तिगत एवं संस्थागत रुपमा न्यायपालिकाको स्वतन्त्रता सुदृढ गर्न क्रियाशील रहनु पर्दछ । न्यायाधीश आचार संहितामा यस‌लाई विभिन्न दफा उपदफाहरूमा व्यवस्थित गरिएको पाइन्छ। जस्तै-

न्यायाधीशले न्यायिक कार्य गर्दा आफूसमक्ष प्रस्तुत हुन आएका तथ्यको निरुपण र कानुनको सही प्रयोग गरी स्वतन्त्रतापूर्वक गर्नुपर्दछ । निज‌‌ले कुनै पनि क्षेत्रबाट कुनै पनि कारणले प्रत्यक्ष वा परोक्ष रुपमा आउने प्रभाव, दबाब, भनसुन, धम्की, आग्रह आदिबाट प्रेरित वा प्रभावित नभई न्यायिक कार्य गर्नु पर्दछ । (दफा-३.१)

निष्पक्षता

अदालतको भित्र र बाहिर न्यायाधीशको आचरण यस्तो हुनुपर्दछ कि जसबाट जनतालाई न्यायपालिकाको निष्पक्षतामा विश्वास कायम रहोस् किनभने न्यायिक काम कारवाहीको उपयुक्त सम्पादनका लागि निष्पक्षता अत्यावश्यक हुन्छ र न्यायिक निर्णयमा मात्र नभएर निर्णयपूर्वका समस्त न्यायिक प्रक्रियामा पनि निष्पक्ष‌ता कायम गरिनुपर्छ । जस्तै-

अदालतभित्र र बाहिर न्यायाधीशले गर्ने व्यवहार निष्पक्ष हुनुपर्दछ, जसबाट मुद्दाका पक्ष, कानुन व्यावसायी र सर्वसाधारणको न्यायाधीश र न्यायपालिकाप्रतिको विश्वास अभिवृद्धि हुनसकोस् ।( दफा-४.२)

सदाचार र निष्ठा

न्यायाधीश आफ्नो नीजि र सार्वजनिक जीवनमा उच्च नैतिक मानकहरू र इमान्दारीको प्रदर्शन गर्ने हुनुपर्दछ । न्यायाधीश‌ले गर्ने सबै कार्यहरू सदाचारपूर्ण हुनु र देखिनु समेत पर्दछ । किनभने न्यायिक कार्यको समुचित सम्पादनका लागि न्यायप्रतिको निष्ठा र त्यसको पालना अत्यावश्यक हुन्छ । जस्तै- न्यायाधीशका हरेक क्रियाकलाप सदाचारपूर्ण हुनुपर्दछ । सदाचार विपरीतका कार्य वा सदाचार विपरीत देखिने कुनै पनि कार्य गर्नबाट न्यायाधीश अलग रहनुपर्दछ । (दफा -६.१)

न्यायाधीशको आचरण र व्यवहार न्यायपालिकाप्रति जनताको आस्था र विश्वास बढाउने किसिमको उच्च नैतिकता उन्मुख हुनुपर्दछ। "न्याय गरेर मात्र हुंदैन न्याय गरेको देखिनु पनि पर्दछ भन्ने मान्यताबाट प्रेरितभई न्यायाधीशले आफ्नो कार्यसम्पादन गर्नुपर्दछ। (दफा. ५.२) ।

शिष्टता र शालीनता

न्यायाधीशले त्यस्तो कुनै पनि प्रकारको व्यवहारबाट बच्नु पर्दछ जुन व्यवहारले उसको पदीय गरिमालाई आंच पुर्याउँछ वा जसबाट हितहरूको टकराव (Conflict of Intrest) उत्पन्न हुन्छ । जस्तै- न्यायिक काम कारवाहीमा आवश्यक पर्ने मिहिनेत, लगनशीलता तथा सक्षमता अभिवृद्धिसँग मेल नखाने कुनै आचरण वा व्यवहार न्यायाधीशले गर्नु हुँदैन (दफा-८.७) ।

समानता

बिना कुनै भेदभाव (जस्तो कि जाति, धर्म, लिंग, वर्ग) आदि सबै पक्षहरूका साथ अदालतमा समान व्यवहार गर्नुपर्दछ । किनभने न्यायिक कार्यको समुचित सम्पादनको सिलसिलामा अदालतमा सबैप्रति समान व्यवहार सुनिश्चित गरिनु आवश्यक हुन्छ । जस्तै- न्यायाधीशले सामाजिक विविधता र भिन्नताहरु बुझ्ने र त्यसबाट सुसूचित हुन सचेष्ट रहनु पर्दछ। खासगरी जातजाति, वर्ण, लिङ्ग धर्म, अपांगता, उमेर वैवाहिक स्थिति, राष्ट्रियता, सामाजिक तथा आर्थिक अवस्था वा अन्य त्यस्तै अप्रासङ्गिक आधारहरुको कारणबाट पैदा हुने सम्भावित असमान स्थितिप्रति सचेष्ट रहनु पर्दछ । (दफा ७.१)

क्षमता र लगनशीलता

उचित न्याय सम्पादन गर्न न्यायाधीश सक्षम हुनुपर्दछ र त्यसका लागि लगनशीलताको अत्यन्त आवश्यकता पर्दछ । किनभने सक्षमता तथा लगनशीलता कुशल न्यायिक कार्यसम्पादनका पूर्वशर्त हुन् । जस्तै- न्यायाधीशले न्यायिक कार्यको कुशल सम्पादनका लागि आवश्यक पर्ने ज्ञान, सीप र व्यक्तिगत गुणहरू कायम राख्न तथा अभिवृद्धि गर्न उपयुक्त कदमहरु चाल्नु पर्दछ। त्यसका लागि न्यायिक नेतृत्व अन्तर्गत उपलब्ध हुने तालिम तथा अन्य सुविधाहरूबाट न्यायाधीशले फाइ‌दा लिनुपर्दछ । (दफा- ८.३)।

यसका अतिरिक्त अन्य व्यावहारिक नियमहरू पनि न्यायाधीशका लागि आचरण योग्य मानिएका छन्-

राजनीतिक तटस्थता

न्यायाधीश कुनै पनि राजनीतिक दलको वा राजनीतिक क्रियाकलापमा संलग्न नभएर तटस्थ हुनुपर्दछ ।

उपहार लिनु हुँदैन

न्यायाधीश वा तिनका परिवारका अन्य सदस्यले कुनै पनि प्रकारका उपहार, आतिथ्य वा लाभ स्वीकार गर्नु हुंदैन जसले न्यायिक प्रक्रियामा प्रभावित गर्न सक्छन् ।

आफूलाई अलग राख्नुपर्ने

यदि कुनै मुद्धामा न्यायाधीशको कुनै व्याक्तिगत, पारिवारिक वा आर्थिक हित जोडिएको छ भने त्यस्तो मुद्धाको सुनुवाईबाट आफूलाई अलग गर्नुपर्दछ।

सार्वजनिक वक्त‌व्यमा संयमता

विचाराधीन मुद्दाहरुमा न्यायाधीशहरूले सार्वजनिक रुपमा त्यस्तो कुनै पनि किसिमको टिप्पणी गर्नुहुँदैन, जसले मुद्दाको फैसलालाई प्रभावित पार्न सक्छ ।

समयको पालना

अदालतको कारवाहीलाई समयमा शुरु गर्नुपर्छ, लम्बिएका मामिलाहरूलाई तुरुन्त निप्ट्‌याउनु पर्छ र वकीलहरू र पक्षहरूसँग शालीनतापूर्वक प्रस्तुत हुनुपर्दछ ।

विश्लेषण

आधुनिक नेपाली कानुन पनि प्राच्य हिन्दुधर्मशास्त्रहरूका आधारमा नै निर्माण भएकाले प्राच्य धर्मशास्त्रमा वर्णित कानुन र आधुनिक कानुनले गरेको व्यवस्थामा धेरै समानता देखापर्दछ । हिन्दु धर्मशास्त्रले जुन रूपमा न्यायाधिकारी वा न्यायाधीशको आचार संहिताका बारेमा उल्लेख गरेको छ त्यसैको विकसित रुपमा आधुनिक न्यायाधीश आचार संहिताहरूको तर्जुमा भएको पाइन्छ। प्राचीन ग्रन्थहरु मनुस्मृति, याज्ञवल्क्यस्मृति, गौतमधर्मसूत्र, शुक्रस्मृति, पराशरस्मृति आदि ग्रन्थहरुमा उल्लेख गरिएका न्यायाधीशका योग्यता र आचार संहिताहरु‌मा विद्वता, स्वच्छ चरित्र, व्यसनबाट टाढा रहनु, निष्पक्षता र तटस्थता, समान न्यवहार,न्यायिक प्रक्रियाको ज्ञान, भ्रष्टाचार र न्यायको अनुल्लङ्‌घनीयता, क्रोध र लोभबाट मुक्ति, विना पूर्वाग्रही, युक्तिसंगत न्यायको सम्पादन, पक्षपात रहितता, निष्पक्षता र समानता, प्रमाणमा आधारित न्याय सम्पादन गर्ने क्षमता, न्याय सम्पादनमा व्यवस्थित प्रक्रिया अपनाउने क्षमता, आर्थिक रुपमा पारदर्शी र नैतिक रुपमा सदाचार रहनु पर्ने कुराहरू समेटिएका छन् । न्यायाधीशलाई समाजको एक उच्च कुलिन मर्यादित व्यक्तिका रुपमा वर्णन गरिएको छ । प्राचीन समयमा राजा नै न्यायाधिकारी हुने र राजाको अनुपस्थितिमा राजाले तोकेको उच्च कुलीन विद्वान् ब्राह्मणले न्यायस‌म्पादनको काम गर्ने व्यवस्था रहेको दोखिन्छ ।

आधुनिक नेपाली कानुनको मुख्य श्रोत प्राच्य हिन्दु धर्मशास्त्रहरू भएका कारण ती शास्त्रहरूमा भएका व्यवस्थाहरू अधिकांश रुपमा आधुनिक कानुनमा पनि मिल्न आउँछन् । न्यायाधीशको आचरणका सम्बन्धमा पनि मनुस्मृति, याज्ञवल्क्य स्मृति आदि ग्रन्थमा उल्लेख गरिएका कुराहरूसँग आजको न्यायाधीश आचार संहिता मेल खान्छ । यसका अतिरिक्त नेपालको संविधान, विभिन्न कानुनी दस्तावेजहरू, Bangalore princip les of Judicial conduct लाई आधार मानेर नेपालमा न्यायाधीश आचारसंहिता, २०६५ संशोधन २०७४ को व्यवस्था भएको छ । यसमा कमन लको सिद्धान्तलाई आधार मानिएको छ । कानुनमा विज्ञ जुनसुकै जात, वर्ण, भाषाभाषी, लैङ्गिक समूहको व्यक्ति पनि न्यायाधीश हुन सक्ने व्यवस्था भएको छ ‌भने प्राचीन समयमा राजा वा राजाद्वारा तोकिएको विद्वान् ब्राह्मण वा सभाले न्यायसम्पादन गर्ने कार्य गर्दथ्यो । प्राचीन धर्मग्रन्थका आधारमा वर्ण, लिङ्ग अनुसारको न्याय सम्पादन गर्ने व्यवस्था थियो भने आधुनिक समयमा समानताको सिद्धान्तलाई आत्मसात गरेर न्याय सम्पादन गरिन्छ । ठूलासाना, धनी-गरीव, काला- गोरा, सबैलाई समान रूपमा न्यायिक क्षेत्रमा स्थान दिनु आधुनिक न्यायको राम्रो पक्ष रहेको छ। प्राचीन समयका कतिपय कमी कमजोरीहरूलाई हटाइएको आजको युग सुहाउँदो विभिन्न राष्ट्रिय तथा अन्तर्राट्रिय प्रावधानलाई आत्मसात गर्दै नेपालको आधुनिक न्याय प्रणाली अघि बढेको छ र न्याय क्षेत्रमा कार्यरत व्यक्तिहरुका सम्बन्धमा पनि सोही किसिमको व्यवस्था भएको पाइन्छ ।

निष्कर्ष

यी माथि उल्लेख गरिएका तथ्यहरुका आधारमा हेर्दा मनुस्मृतिमा सैद्धान्तिक, धार्मिक र दण्ड विधानमा अधिक कठोरता अपनाइएको देखिन्छ भने याज्ञवल्क्यस्मृति मनुस्मृतिको तुलनामा व्यावहारिक, तार्किक र कानुनी रुपले व्यवस्थित रहेको देखिन्छ। मनुस्मृतिले मौखिक बयान र दैनिक परीक्षाहरूमा बढी जोड दिएको छ भने याज्ञवल्क्यस्मृतिले लिखित दस्तावेज र ठोस प्रमाणहरूलाई सर्वोच्च स्थान दिएको छ । मनुका अनुसार न्यायालयको ढाँचा राजा र राजाको मुख्य धर्मसभामा केन्द्रित न्यायप्रणाली रहेको देखिन्छ ‌भने याज्ञवल्क्यका अनुसार विभिन्न स्तर (कुल, श्रेणी, गण र राजकीय न्यायालय) को श्रेणीबद्ध न्यायव्यवस्था रहेको पाइन्छ ।

संक्षेपमा प्राचीन समयको हाम्रा धर्मशास्त्रहरूमा वर्णन गरिएको न्यायाधिकारी वा न्यायाधीशको आचार संहिता आजको न्यायिक सिद्धान्तहरू जस्तो कि न्यायिक निष्पक्षता, न्यायिक स्वतन्त्रता, निष्ठा र सदाचार, शिष्टता र शालीनता, समानता, क्षमता र लगनशीलता, राजनैतिक असंलग्नता, प्राकृतिक न्याय र विना कुनै भय वा पक्षपात न्याय सम्पादन गर्नुपर्ने सिद्धान्तमा अधिकाधिक समानता रहेको देखिन्छ । आधुनिक न्याय प्रणालीले प्राच्य धर्मशास्त्रमा रहेका कतिपय कमी कमजोरीलाई हटाएर समानता र स्वतन्त्रताको आधारमा न्याय सम्पादन गर्दै आएको पाइन्छ ।

सम्बन्धित खबर