
जीवनमा केही अनुभव यस्ता हुन्छन्, जसले वर्षौंको अध्ययन, चिकित्सकीय अनुभव र जीवनप्रतिको दृष्टिकोणलाई नै नयाँ अर्थ दिन्छन् । मेरो लागि त्यस्तै अनुभव थियो असार ३ देखि असार १४ सम्मको सानिमाको अन्तिम जीवनयात्रा । ती बाह्र दिनले मलाई एउटा चिकित्सकका रूपमा मात्र होइन, एउटा परिवारका सदस्यका रूपमा पनि धेरै कुरा सिकाए । रोग, उपचार, आशा, निराशा, आस्था र मृत्युबारे मैले पुस्तकहरूमा पढेका धेरै कुरा ती केही दिनमै नयाँ ढंगले बुझ्न थालेँ ।
मेरी सानिमा सीता शर्मा सामान्य ज्वरो, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्यासहित अस्पताल आउनुभएको थियो । परिवारको अपेक्षा साधारण थियो । केही परीक्षण होला, औषधि सुरु होला र केही दिनमै घर फर्कनुहोला भन्ने सबैलाई लागेको थियो । तर, प्रारम्भिक परीक्षणले परिस्थिति त्यति सामान्य नभएको स्पष्ट देखाइदिए । छातीको एक्स–रेमा दुवै फोक्सोमा व्यापक संक्रमण देखियो । अक्सिजनको मात्रा घट्दै थियो । श्वासप्रश्वासको अवस्था तीव्र गतिमा बिग्रिरहेको थियो । केही घण्टामै उहाँलाई सघन उपचार कक्षमा सार्ने निर्णय गरियो । त्यसपछि घटनाक्रम यति छिटो अघि बढ्यो कि परिवारले अवस्था बुझ्न नपाउँदै उहाँ भेन्टिलेटरमा पुगिसक्नुभएको थियो ।
त्यसपछि सुरु भयो उपचारको एउटा कठिन यात्रा ।
शक्तिशाली एन्टिबायोटिक, कृत्रिम श्वासप्रश्वास, स्टेरोइड, तरल पदार्थको सूक्ष्म व्यवस्थापन, मुटु तथा अन्य अंगहरूको निरन्तर निगरानी, आवश्यक सबै सघन उपचार सुरु गरियो । आधुनिक चिकित्सासँग उपलब्ध लगभग सबै साधन प्रयोग गरिए । म आफैं चिकित्सक भएकाले उपचारको हरेक चरणलाई नजिकबाट नियाल्ने अवसर पनि पाएँ । हरेक बिहान प्रयोगशालाका प्रतिवेदन हेर्थें । संक्रमणका सूचक कता जाँदै छन् ? अक्सिजनको आवश्यकता बढ्दै छ कि घट्दै ? भेन्टिलेटरका मापदण्ड परिवर्तन गर्न मिल्ने अवस्था आएको छ कि छैन ? एक्स–रेमा फोक्सोको अवस्था कस्तो देखिएको छ ? यी प्रश्न नै मेरो दैनिक चिन्ताको विषय बने ।
उपचारका क्रममा केही परीक्षणले आशाको झिल्को देखाए । छातीको एक्स–रेमा फोक्सोका छाया केही कम हुँदै गएको जस्तो देखिन्थ्यो । भेन्टिलेटरका केही मापदण्डहरू पनि पहिलेभन्दा अनुकूल हुँदै गएका थिए । तर, गम्भीर बिरामीको उपचार केवल एक्स–रे वा मनिटरका अंकहरूले मात्र मूल्यांकन गर्न सकिँदैन ।
उहाँको चेतनास्तरमा कुनै उल्लेखनीय सुधार आएन । उच्च ज्वरो नियन्त्रणमा आएन । संक्रमणका सूचक पनि सन्तोषजनक रूपमा घटेनन् । हामी सुधारको दिशातर्फ अघि बढिरहेका थियौं कि रोगले केवल अर्को रूप लिइरहेको थियो भन्ने प्रश्नको स्पष्ट उत्तर कसैसँग थिएन । चिकित्सा विज्ञानमा यस्तो अवस्था असामान्य होइन । आइसियूभित्र उपचार चलिरहेको थियो । आइसियूबाहिर अर्को संघर्ष चलिरहेको थियो ।
बिरामीका आफ्नै छोरा, मेरो भाइ डा. प्रदीप, आफैं चिकित्सक हुनुहुन्थ्यो । यसैले उहाँको अवस्था अरूभन्दा फरक थियो । एकातिर उहाँले चिकित्सकका रूपमा रोगको गम्भीरता, उपचारको सीमा र सम्भावनाहरू बुझ्नुभएको थियो । अर्कोतिर उहाँ आफ्नी आमाका छोरा पनि हुनुहुन्थ्यो । विज्ञानले जे देखाइरहेको थियो, मनले त्यसलाई स्विकार्न सकेको थिएन । प्रत्येक विकल्पसँग आशा पनि जोडिएको थियो, अपराधबोध पनि ।
यसबीच परिवारभित्र पटकपटक छलफल भयो । उपचारमा संलग्न चिकित्सकसँग सम्भावनाबारे लामो कुराकानी भयो । हामीले उपलब्ध विकल्प, रोगको प्रकृति, उपचारको सीमा र भविष्यको सम्भावनालाई धेरैपटक तौलियौं । अन्ततः एउटा निर्णय गरियो, उहाँलाई घर ल्याउने । घर फर्किएपछि वातावरण पूर्णतः फरक थियो । आइसियूको यान्त्रिक आवाज थिएन । मनिटरको लगातार बजिरहने संकेत थिएन । वैष्णव परम्पराअनुसार श्रीमद्भागवत् श्रवण भयो । दशदान सम्पन्न गरियो । तुलसी, चरणामृत र हरिनामका बीचमा उहाँलाई बिदाइ गर्ने तयारी भयो । उपचारको भाषा बिस्तारै प्रार्थनाको भाषामा रूपान्तरण हुँदै गयो । असार १४ गते राति करिब ९ बजेतिर उहाँले आफ्ना प्रियजनहरूको उपस्थितिमा अन्तिम श्वास लिनुभयो । उहाँको जीवनयात्रा त्यहीँ समाप्त भयो ।
यदि कुनै दिन उहाँले स्वस्थ रहँदै भन्नुभएको भए, ‘यदि म यस्तो अवस्थामा पुगेँ भने, मेरो उपचारबारे यही मेरो इच्छा हो’, भने सायद हाम्रो निर्णय अनुमानमा आधारित हुने थिएन । त्यो उहाँकै इच्छाको सम्मान हुने थियो । त्यही अनुभवले मलाई एउटा नयाँ प्रश्नतर्फ डोहोर्यायो ।
के हामी नेपालमा मानिसहरूलाई आफ्नो जीवनको अन्तिम अध्याय आफैं लेख्ने अवसर दिइरहेका छौं ? यदि त्यसको उत्तर ‘छैन’ हो भने, आधुनिक चिकित्साको एउटा अत्यन्त महत्वपूर्ण अध्याय हामीले अझै लेख्न बाँकी छ ।
के हो अन्तिम इच्छा–पत्र ?
संसारभरका चिकित्सक, नर्स, बिरामी र परिवारहरूले दशकौंदेखि यही प्रश्नसँग संघर्ष गरिरहेका रहेछन् । जब कुनै गम्भीर बिरामी आफ्नो निर्णय आफैं गर्न सक्ने अवस्थामा रहँदैन, त्यसपछि उपचारको दिशा कसले तय गर्ने ? परिवारले ? चिकित्सकले ? वा बिरामीले स्वस्थ हुँदा व्यक्त गरेका आफ्नै इच्छा र मूल्यहरूले ?
यही प्रश्नको उत्तर खोज्ने प्रयासस्वरूप धेरै देशहरूमा एउटा अवधारणाको विकास भयो, जसलाई ‘एड्भान्स केयर प्लानिङ’ भनिन्छ । यसलाई नेपालीमा ‘अग्रिम जीवन–निर्णय योजना’ भन्न रुचाउँछु । यसको अर्थ मृत्युको तयारी गर्नु होइन । यसको अर्थ भविष्यमा कुनै दिन आफू बोल्न वा निर्णय गर्न नसक्ने अवस्थामा पुगेमा आफ्नो आवाज त्यस दिनका लागि पनि सुरक्षित राख्नु हो ।
एड्भान्स केयर प्लानिङ कुनै एउटा कागज भरेर पूरा हुने प्रक्रिया होइन । यसको सुरुवात एउटा इमानदार संवादबाट हुन्छ । त्यो संवाद चिकित्सक र बिरामीबीच हुन सक्छ । पति र पत्नीबीच हुन सक्छ । बुबाआमा र छोराछोरीबीच हुन सक्छ । संवादको केन्द्रमा एउटै प्रश्न हुन्छ, ‘यदि भविष्यमा तपाईं आफैं आफ्नो उपचारबारे निर्णय गर्न नसक्ने अवस्थामा पुग्नुभयो भने, तपाईंको इच्छा के हुनेछ ?’ यही प्रश्नले पछि परिवारलाई अनुमानको आधारमा होइन, बिरामीको आफ्नै चाहनाको आधारमा निर्णय गर्न सहयोग गर्छ ।
यस्तो संवादपछि तयार हुन सक्ने महत्वपूर्ण दस्ताबेजमध्ये एउटा हो ‘एड्भान्स डाइरेक्टिभ’ अर्थात् अग्रिम स्वास्थ्य निर्देशन । यसमा व्यक्तिले भविष्यमा आफू निर्णय गर्न नसक्ने अवस्थामा पुगेमा उपचारसम्बन्धी आफ्ना प्राथमिकता स्पष्ट रूपमा उल्लेख गर्न सक्छ । यसले चिकित्सकलाई आदेश दिनेभन्दा पनि बिरामीको मूल्य र प्राथमिकता बुझ्न मार्गदर्शन गर्छ ।
एड्भान्स डाइरेक्टिभको एउटा महत्वपूर्ण भाग हो– ‘लिभिङ विल’ । यसलाई ‘अन्तिम इच्छा–पत्र’ भन्न सकिन्छ । यसको उद्देश्य जीवनको अन्तिम चरणमा आफ्नो उपचार आफ्नै मूल्य र विश्वासअनुसार अघि बढोस् भन्ने सुनिश्चित गर्नु हो । कसैले अन्तिम क्षणसम्म सबै सम्भावित उपचार चाहन सक्छ । कसैले उपचारभन्दा पीडामुक्त र शान्त जीवनलाई प्राथमिकता दिन सक्छ । दुवै निर्णय समान रूपमा सम्मानयोग्य हुन् । चिकित्सा नैतिकताको दृष्टिले महत्वपूर्ण कुरा कुन निर्णय रोजियो भन्ने होइन, त्यो निर्णय बिरामीको आफ्नै हो भन्ने हो ।
अर्को महत्वपूर्ण अवधारणा हो– हेल्थ केयर प्रोक्सी अर्थात् स्वास्थ्य निर्णय प्रतिनिधि । यसको अर्थ, यदि म बोल्न सक्दिनँ भने मेरो तर्फबाट कसले बोल्ने ? हाम्रो समाजमा प्रायः यो जिम्मेवारी स्वतः जेठो छोरा वा नजिकको आफन्तले लिन्छ । तर, सबै परिवारको संरचना एउटै हुँदैन । कहिलेकाहीँ बिरामीको विश्वास अर्को सन्तानमा हुन्छ, जीवनसाथीमा हुन्छ, वा कुनै अन्य विश्वासिलो व्यक्तिमा हुन्छ । त्यसैले स्वस्थ अवस्थामै आफ्नो प्रतिनिधि तोक्नु भविष्यका धेरै विवाद रोक्ने सरल उपाय हो । त्यसपछि परिवारले आफ्नै अनुमानअनुसार होइन, बिरामीले छानेको प्रतिनिधिमार्फत उसकै इच्छा कार्यान्वयन गर्छ ।
यही सन्दर्भमा धेरै चर्चा हुने अर्को शब्द हो डिएनआर । कतिपयले यसलाई उपचार बन्द गर्नु हो भन्ने बुझ्छन् । वास्तवमा त्यसो होइन । यसको अर्थ हो, यदि बिरामीको मुटु वा श्वासप्रश्वास पूर्ण रूपमा बन्द भयो भने पुनर्जीवनका आक्रामक प्रयास नगर्ने । त्यसबाहेक बिरामीलाई आवश्यक अन्य सबै उपचार, जस्तै अक्सिजन, संक्रमणको उपचार, दुखाइ कम गर्ने औषधि, मानसिक तथा आध्यात्मिक सहयोग, सबै निरन्तर जारी रहन्छन् । यो विशेष परिस्थितिमा गरिने एउटा चिकित्सकीय निर्णय हो ।
विश्वका धेरै देशहरूले यही कारणले एड्भान्स केयर प्लानिङलाई आधुनिक स्वास्थ्य सेवाको अभिन्न अंग बनाएका छन् । अस्पतालहरूमा अब केवल रोगको उपचारबारे मात्र छलफल हुँदैन । उपचारको उद्देश्यबारे पनि खुला संवाद गरिन्छ । कतिपय बिरामीका लागि जीवन केही समय लम्ब्याउनु सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ । कतिपयका लागि घर फर्कन पाउनु हुन्छ । कतिपयका लागि आफ्ना प्रियजनसँग समय बिताउनु हुन्छ । कतिपयका लागि पीडामुक्त रहनु हुन्छ । चिकित्सकको भूमिका आफ्नो इच्छा थोपर्नु होइन, बिरामीको मूल्य र प्राथमिकतालाई बुझेर उपचारलाई त्यसअनुसार अघि बढाउनु हो ।
गरिमामय अन्तिम यात्रातर्फ
सानिमाको उपचार सकियो । एउटा परिवारको कथा त्यहीँ टुंगियो । तर, मेरो मनमा एउटा नयाँ प्रश्न सुरु भयो । के हाम्रो स्वास्थ्य प्रणाली यस्ता निर्णयका लागि तयार छ ? अझ स्पष्ट रूपमा भन्नुपर्दा, के नेपालको समाज तयार छ ? मलाई लाग्छ, अब यो प्रश्न उठाउने समय आइसकेको छ ।
नेपाल तीव्र सामाजिक परिवर्तनको चरणमा छ । केही दशकअघिसम्म एउटै घरमा तीन पुस्ता सँगै बस्ने परम्परा सामान्य थियो । आज त्यो सामाजिक संरचना बिस्तारै बदलिँदै गएको छ । लाखौं नेपाली रोजगारी, अध्ययन वा स्थायी बसोबासका लागि विदेशमा छन् । गाउँमा बुबाआमा मात्र छन् । सहरमा वृद्ध दम्पती मात्र छन् । अस्पतालमा बिरामी अचेत छन् । छोराछोरीसँगको छलफल भिडियो कलमार्फत भइरहेको छ ।
यस्तो अवस्थामा सबैभन्दा धेरै सुनिने वाक्य हो, ‘डाक्टर साब, तपाईंलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस् ।’
पहिलो दृष्टिमा यो चिकित्सकमाथिको विश्वास जस्तो लाग्छ । तर गहिरिएर हेर्दा यसले अर्को यथार्थ देखाउँछ । परिवारलाई बिरामीको वास्तविक इच्छा थाहा छैन । उहाँ अन्तिम समय घरमै बिताउन चाहनुहुन्थ्यो कि अस्पतालमै ? उहाँ उपचारको प्रत्येक सम्भावित उपाय अन्तिमसम्म जारी राख्न चाहनुहुन्थ्यो कि गरिमापूर्ण बिदाइलाई प्राथमिकता दिनुहुन्थ्यो ? उहाँका लागि जीवनको अवधि महत्वपूर्ण थियो कि जीवनको गुणस्तर ? यी प्रश्नहरूको उत्तर कसैसँग हुँदैन । किनकि हामीले स्वस्थ अवस्थामै यस्ता संवाद गर्ने संस्कार विकास गरेका छैनौं ।
अर्कोतर्फ नेपालको रोगको स्वरूप पनि परिवर्तन हुँदै गएको छ । संक्रामक रोगहरूको नियन्त्रणसँगै मानिसको औसत आयु बढिरहेको छ । तर दीर्घरोगहरू पनि बढिरहेका छन् । यी रोगको एउटा साझा विशेषता छ । उपचार प्रायः महिनौं वा वर्षौंसम्म चल्छ । कतिपय अवस्थामा रोग पूर्ण रूपमा निको हुँदैन । उपचारको उद्देश्य रोग निको पार्नेभन्दा पनि जीवनको गुणस्तर जोगाउने हुन्छ । यही अवस्थामा एड्भान्स केयर प्लानिङको आवश्यकता झन् स्पष्ट हुन्छ । यसले मृत्युको निर्णय गर्दैन । यसले उपचारको उद्देश्य स्पष्ट गर्छ ।
नेपालको अर्को चुनौती आर्थिक पनि हो । गम्भीर बिरामीको उपचारले धेरै परिवारलाई आर्थिक संकटमा पु¥याउँछ । अस्पतालको बिल मात्र सम्पूर्ण खर्च हुँदैन । बाहिरबाट किनिएका औषधि, यातायात, बसोबास, परिवारका सदस्यको गुमेको आम्दानी, ऋण, मानसिक तनाव, सबै जोड्दा वास्तविक आर्थिक भार धेरै ठुलो हुन्छ ।
हाम्रो समाजमा मृत्युबारे कुरा गर्न अझै पनि अपशकुन मानिन्छ । ‘यस्ता कुरा नगरौं, नराम्रो हुन्छ’ भन्ने सोच गहिरो छ । तर, मृत्युबारे कुरा गर्नु मृत्यु बोलाउनु होइन । बरु, मृत्यु अपरिहार्य सत्य हो भन्ने स्वीकार गर्दै जीवनको अन्तिम अध्याय पनि आफ्नै इच्छाअनुसार लेख्ने साहस हो ।
हाम्रो आफ्नै दर्शनले पनि यही सिकाउँछ । भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई भन्नुहुन्छ, ‘जातस्य हि ध्रुवो मृत्युः’ अर्थात्, जन्मिएको प्रत्येक प्राणीको मृत्यु निश्चित छ ।
बौद्ध दर्शनले अनित्यलाई जीवनको आधारभूत सत्य मानेको छ । इस्लामले आखिरतको तयारीलाई जीवनको एउटा महत्वपूर्ण पक्ष मानेको छ । इसाई धर्मले पनि जीवनको अन्त्यलाई विश्वास र आशाको यात्राका रूपमा हेर्छ ।
धर्म फरक हुन सक्छ । तर एउटा कुरा समान छ । हरेक मानिस आफ्नो आस्था, आफ्नो मूल्य र आफ्नो विश्वासअनुसार अन्तिम यात्रा गर्न चाहन्छ । त्यसैले एड्भान्स केयर प्लानिङ कुनै धार्मिक अवधारणाको विकल्प होइन । बरु यसले प्रत्येक व्यक्तिलाई आफ्नो धर्म र विश्वासअनुसार अन्तिम इच्छाहरू व्यक्त गर्ने अवसर दिन्छ ।
कसैले अन्तिम समय श्रीमद्भागवत् श्रवण चाहन सक्छ । कसैले बौद्ध पाठ । कसैले पादरीको प्रार्थना । कसैले इमामको उपस्थिति । चिकित्सकको भूमिका कुनै धर्म रोज्नु होइन । बिरामीको आस्थालाई सम्मान गर्नु हो । नेपालले अब एड्भान्स केयर प्लानिङलाई केवल चिकित्सकीय अभ्यासका रूपमा होइन, एउटा सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्छ । यसका लागि ठुलो कानुनी परिवर्तन आवश्यक नहुन सक्छ । पहिलो आवश्यकता संवाद हो । हामीले परिवारभित्र यस्ता कुराहरू गर्न सिक्नुपर्छ ।
हामीले अस्पतालहरूमा सरल अन्तिम इच्छा–पत्र तयार गर्नुपर्छ । हामीले बिरामीले आफ्ना तर्फबाट निर्णय गर्ने स्वास्थ्य निर्णय प्रतिनिधि तोक्न सक्ने व्यवस्था गर्नुपर्छ । हामीले चिकित्सा र नर्सिङ शिक्षामा अन्तिम जीवनसम्बन्धी संवादलाई औपचारिक रूपमा समावेश गर्नुपर्छ । र कुनै दिन, समाज तयार भएपछि, यसलाई उपयुक्त कानुनी आधार पनि दिनुपर्छ । सायद त्यो दिन धेरै टाढा छैन ।
‘अक्सिजन’बाट ।
(डा.चापागाई नेपालगन्जको भेरी अस्पतालमा कार्यरत छन् ।)